संविधान दिवसको अवसरमा कोरियामा कविता प्रतियोगिता
सोलः संविधान दिवसका अबसरमा दक्षिण कोरियामा कविता प्रतियोगिता गरिएको छ। नेपालको संविधान दिवसको अवसरमा कोरियास्थित नेपाली दूतावासले आइतबार सोलमा एक समारोहबीच शुभकामना तथा कविता प्रतियोगिता कार्यक्रम गरेको हो।
दूतावासको प्राङ्गणमा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिँदै कार्यबाहक राजदूत किरण शाक्यले बहुजातीय, बहुभाषिक एवं विविधतायुक्त देश नेपालमा एकता कायम गरी सामाजिक र साँस्कृतिक सहिष्णुता र सद्भावलाई सदैब अक्षुम्ण राखी नेपालको दिगो शान्ति, विकास र सम्बृद्धिको संस्थागत सुढढीकरण र सम्र्बद्धनका लागि सबै नेपालीहरु ऐक्यबद्ध भइ आपसी सहयोग र समझदारीसाथ मिलेर अघि बढ्न सबैलाई प्रेरणा देओस् भनेर शुभकामना व्यक्त गरे।
नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलनबाट उद्घाटन गरिएको कार्यक्रममा मायाको चिन्ह्र स्वरुप उपस्थित सबैलाई नेपालको राष्ट्रिय झण्डाको ब्याच प्रदान गरिएको थियो। कोरियामा रहेका व्यवसायी, विद्यार्थी, श्रमिक, साहित्यकार, पत्रकार लगायत विभिन्न संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको दोस्रो चरणमा देश प्रेम र नेपालको विकासको सेरोफेरोमा रही नेपाली कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो।
प्रतियोगितामा वाचन गरिएका कविताहरुमध्ये सर्वोकृष्ट तीन कवितालाई कप तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो। राष्ट्रिय दिवस कविता प्रतियोगिता २०७३ नामांकरण गरिएको सो प्रतियोगितामा जीवन खत्रीको माहुरी शीर्षकको कविताले प्रथम, सुरेश सिंह सम्बाहाम्फेको विशाल देश शीर्षकको कविताले द्वितीय तथा प्रमोद गौतमको रंगीन बचेराहरु शीर्षकको कविताले तृतीय पुरस्कार प्राप्त गरेका थिए। सबै सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
दूतावासले दुई साता अघिदेखि इमेलमार्फत देश प्रेम वा नेपालको विकास बिषय अन्तर्गत रहेर कविता कविता पठाउन आव्हान गरेको थियो। २२ जनाले पठाएको कवितामध्येबाट २० कवितालाई प्रतियोगी कविताका लागि छनोट गरिएको थियो।
आइतबार प्रतियोगी र अप्रतियोगी गरी ११ जनाले कविता बाचन गरेका थिए। कार्यक्रममा विवेक धिमाल, विश्वनाथ श्रेष्ठ, देवसागर, दिर्घराज जोशी, मनोजकुमार डाँगीले कविता बाचन गरे। त्यस्तै मिलन कान्छा किराती, प्रयास भट्टराई, सरोज भण्डारी र सूर्य खत्रीले पनि आफ्ना कविता सुनाएका थिए।