पहिरोले म्याग्दीमा ३४ घरपरिवार विस्थापित, ११ घर उच्च जोखिममा

पहिरोले म्याग्दीमा ३४ घरपरिवार विस्थापित, ११ घर उच्च जोखिममा

बेनी: म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन्। शुक्रबार र शनिबार राति परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर बग्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित हुनाका साथै थप ११ घर पहिरोको उच्च जोखिममा परेका छन्।

गाउँको दुवैतिरबाट पहिरो खसेर जमिन बगेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण जोखिममा परेको वस्तीलाई रेडक्रस, पत्रकार, प्रहरी र स्थानीयवासीको सहयोगमा गाविस भवनमा सारिएको स्थानीय युवा विमल फगामीले बताए। पहिरोले बाँसबोट गाउँ जाने झोलुङ्गे पुलमा क्षति पु¥याएको छ भने वर्षा भए पुनः पहिरो जाने सम्भावना रहेको उनले जानकारी दिए।

विस्थापित परिवारलाई जिल्ला रेडक्रस शाखामार्फत कम्बल, त्रिपाल र ब्लाङ्केट उपलब्ध गराइएको छ। पहिरोको जोखिम कायमै रहेको हुँदा आवश्यक सतर्कता अपनाई पीडितलाई खाद्यान्नलगायत आधारभूत सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए। उनले पहिरोबाट थप क्षति हुन नदिन, अवरुद्ध सडक, पुल र विद्युत् सेवा सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गरिएको बताए। 

गत भदौ दोस्रो सातादेखि नै बेगखोलाको बाँसबोट र लिस्ने गाउँमा पहिरो झर्न थालेको थियो। शुक्रबार रातिको अविरल वर्षाले गाउँको जमिन चिराचिरा परेर पहिरो खस्ने खतरा बढेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ। प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले गाउँको दुवैतिरबाट पहिरो झरे पनि हालसम्म कुनै मानवीय क्षति नभएको बताए। 

यसैबीच वर्षाकै कारण शनिबार राति बेगखोलाको ठाडोखोलामा आएको बाढीले बेगखोलाका नन्दबहादुर भट्टचन र झिल्के श्रेष्ठको घरमा क्षति पुर्याएको छ। त्यस्तै कुमारी गर्बुजा र सुनमाया सिंजालीको घर बाढी कटानको उच्च जोखिममा परेको छ। बाढीले बेनी–जोमसोम सडक बगाएपछि मुस्ताङको स्याउ ढुवानी, सोह्रश्राद्धका तीर्थयात्री, पर्यटक, कर्मचारी र सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। बाढीका कारण वारपार गर्न समस्यामा परेका सर्वसाधारणलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा आवतजावत गराएको छ।

त्यसैगरी अवरुद्ध सडक खुलाउन र बाढी पन्छाउन सडक विभागको डोजर परिचालन गरिएको छ। गत भदौ १६ गते मध्यरातमा बेगखोलाको ठाडोखोलामा आएको बाढीले ११ घरसहित बेनी–जोमसोम जोड्ने सडकको बेगखोलामाथिको पक्की पुल र झोलुङ्गे पुल बगाएको थियो। उक्त बाढीका कारण अन्य तीन घर प्रभावित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.