थाइल्यान्डमा डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु
बैंकक: थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर भएको डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
प्राचीन सहर आयुत्थाया नजिकै भएको दुर्घटनामा १३ जना मृत्यु भएको पुष्टि भएको छ भने ३३ जना घाइते भएको विभागका विपद् नियन्त्रण प्रमुख ओडाम्सक खाओनुनाले बताए। विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयासमा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा मृत्यु हुने सबै थाई नागरिक रहेकासमेत बताइएको छ।
दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदीबाहिर आएका थिए। पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको थियो। रासस/एएफपी