सुर्खेतदेखि रारासम्म ‘टूर प्याकेज’
सुर्खेतः प्रदेश नम्बर ६ मा पर्यटन विकास र सम्भावनको खोजी सुरु भएको छ । भौतिक पूर्वाधारको अभावमा पर्यटन प्रवद्र्धन हुन नसकेको यो प्रदेशमा सुर्खेतदेखि मुगुको रारा तालसम्म संयुक्त टुर प्याकेज बनाउन अध्ययन थालिएको छ ।
पर्यटन व्यवसायीले सुर्खेतलाई केन्द्र बनाएर रारासम्म टुर प्याकेज बनाउनुपर्नेमा जोड दिएका छन् । पर्यटन एकमात्र सम्भावनाको उद्योग भएको भन्दै सरोकारवालाले यो प्रदेशको समृद्धिका लागि पर्यटनमा लगानी आवश्यक रहेको बताए । प्राकृतिक रूपमा नै पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय स्थल पर्याप्त भए पनि पूर्वाधारको अभावमा लाभ लिन नसकिएको उनीहरूको निष्कर्ष छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर नेपाल संस्थाले यस क्षेत्रमा पर्यटन विकासको सम्भावनाको खोजी थालेको हो । सोही क्रममा अध्ययन टोलीले बर्दियादेखि रारासम्मको यात्रा सुरु गरेको छ । यात्राबाट यस क्षेत्रमा रहेका पर्यटकीय स्थलको पहिचान गरिने र टुर प्याकेज बनाइने टोलीले जनाएको छ ।
यस क्षेत्रको पर्यटन विकास र सम्भावनाको खोजी तथा अध्ययन गर्न आएको टोली र सुर्खेतका पर्यटन व्यवसायीबीच वीरेन्द्रनगरमा भएको छलफलमा यस्तो जानकारी दिइएको हो ।
जिल्ला विकास समिति र पर्यटन विकास मञ्चको संयोजनमा भएको उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइरालाले पर्यटकको रुचि पहिचान गर्न जरुरी रहेको बताए । उनले भने, ‘पर्यटकलाई लोभ्याउन सक्नेगरी काम गरौं, उनीहरूले चाहेको सुविधा दिन सक्नेगरी हाम्रो क्षमता बढाऔं । पर्यटकको लाइन लाग्न सक्छ, आर्थिक विकासका लागि यो नै उपयुक्त माध्यम हो ।’
टोलीमा सहभागी एमाले पर्यटन विभागका प्रमुख सूर्य थापाले सुर्खेतदेखि रारासम्मको संयुक्त टुर प्याकेज बनाउन सके यो प्रदेशकै समृद्धिमा टेवा पुग्ने बताए । राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने भन्दै उनले पर्यटन व्यवसायबाटै यस क्षेत्रले आर्थिक विकासको काँचुली फेर्न सक्ने दाबी गरे ।
यस्तै पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतले पर्यटन क्षेत्रको विकासका लागि यस क्षेत्रका नागरिक नै अग्रसर हुनुपर्ने बताए । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर नेपालका अध्यक्ष यामबहादुर खड्काले बिजुली र बाटो उपलब्ध भए यो क्षेत्रको पर्यटन विकासले गति लिने बताए । उनले भने, ‘पर्यटक मनोरञ्जन गर्न आउने हुन्, उनीहरूलाई चाहिएको सुविधा दिन सक्नु पर्छ ।
भनेजस्तो भए उनीहरूले पैसा खर्च गर्न लोभ मान्दैनन्, त्यसबाट यहाँको विकास सम्भव छ ।’ पछिल्लो समय राजनीतिक दलहरूले समेत पर्यटनलाई आफ्नो मुद्दा बनाउन लागेको भन्दै उनले अब पर्यटन सबैको साझा मुद्दा बन्नुपर्नेमा जोड दिए ।
मुगुका पर्यटन व्यवसायी मोहन बमले भने, ‘हामीसँग धेरै प्राकृतिक उपहार छन् तर तिनलाई हामीले प्रचारमा ल्याउन सकेनौं । अब सबैजना जुटौं, सुर्खेतदेखि रारासम्मको पर्यटन योजना बनाऔं ।’ अर्का पर्यटन व्यवसायी भीम केसीले होमस्टे पर्यटकले खर्च गर्न सक्ने गतिलो माध्यम भएको उल्लेख गरे ।
कार्यक्रममा पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले सुर्खेतमा पर्यटन विकासका सम्भावनाबारे अवगत गराएका थिए । सुर्खेत प्रदेशको सम्भावित राजधानी भएको र यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन नै हुने भन्दै उनले सुर्खेतलगायत यस क्षेत्रकै साझा पर्यटन गुरुयोजना आवश्यक रहेको बताए ।
पर्यटन व्यवसायीले सुर्खेतलाई केन्द्र बनाएर रारासम्म टुर प्याकेज बनाउनुपर्नेमा जोड दिएका छन् ।