मार्दी लेकमा व्यावसायिक चौंरीपालन

मार्दी लेकमा व्यावसायिक चौंरीपालन

पोखराः कास्कीको ल्वाङघलेल गाविसस्थित मार्दी हिमालको लेकमा व्यावसायिक चौंरीपालन गरिएको छ । यहाँको सिदिङका ४७ वर्षीय शिवलाल गौतमले व्यावसायिक चौंरीपालन व्यवसाय गरेका हुन् ।

म्याग्दीको खोप्राबाट चार वर्षअघि ४८ वटा याक किनेर मार्दी याक फर्म स्थापना गरी चौंरीपालन सुरु गरेको गौतमले बताए । हाल याक र चौंरीको संख्या बढेर ७८ पुगेको छ । हजुरबुबा, बुबाका पालादेखि नै यहाँको लेकमा भेडा, भैंसी पाल्दै मार्दी हिमाल क्षेत्रमा गोठ बस्दै आएको अनुभव सँगालेका गौतमले पछिल्लो समयमा चौंरीपालन व्यवसाय सुरु गरेका हुन् ।

चौंरीको दूधसँगै छुर्पी, घिउ उत्पादन गरी बिक्री गर्ने गरेको गौतमले बताए । चिज उत्पादनका लागि मेसिन किन्ने प्रक्रियामा रहेको उनले सुनाए । चौंरीको दूध, घिउ, छुर्पी, चिजमात्र होइन, मासुका लागि पनि याक बिक्री हुने गरेको गौतमले बताए ।

२८ लाखको लगानीमा गौतमले सुरु गरेको चौंरीपालन व्यवसाय फस्टाउँदै गएको छ । चार वर्षको अवधिमा अहिलेसम्म सातवटा याक र दुई चौंरी बिक्री गरी ६ लाख आम्दानी गरेको उनले सुनाए । ६० हजारदेखि ७५ हजारसम्ममा एउटा याक बिक्री हुने गरेको उनले बताए ।

चौंरीको घिउ मानाको नौ सय र छुर्पी किलोको पाँच सय रुपैयाँमा बिक्री हुन्छ ।

चौंरीको घिउ र छुर्पी बिक्री गरेर मात्र महिनामा २५ हजार आम्दानी हुने उनले सुनाए । चौंरीको घिउ मानाको नौ सय रुपैयाँ र छुर्पी किलोको पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । अरबको खाडीमा गएर दुःख गर्नुभन्दा आफ्नै हिमालको लेकमा चौंरीपालन गरौं भन्ने लागेर व्यावसायिक रूपमा चौंरी पालेको उनले सुनाए ।

चौंरी तीन हजार मिटरदेखि ४८ सय मिटरसम्मको उचाइ क्षेत्रमा चरनमा जाने गरेको गौतमले बताए । उच्च हिमाली क्षेत्रको लेकमा पालिने चौंरीको घिउ, चिज, छुर्पीको मात्र होइन, याकको मासुको समेत ठूलो माग भए पनि पुर्‍याउन नसकिएको उनले सुनाए । हिमाली क्षेत्रको जडीबुटी खाएकोले चौंरीको चिज, दूध र घिउ बढी माग भएको हो ।

यही व्यवसायबाट पाँच छोराछोरीको पढाइ र सातजनाको परिवारको दैनिकी चलेको र केही रकम बचाएको गौतमले बताए । चौंरीपालन व्यवसायमा छोराले पनि सघाएको उनले सुनाए । अरू व्यवसायमा जस्तै चौंरीपालन व्यवसायमा पनि कामदारको अभाव हुने गरेको छ । राम्रै तलब दिएर गोठालो राखे पनि कामदार लामो समय नबस्दा आफैं खटिनुपर्ने अवस्था रहेको गौतमले सुनाए ।

हिमचितुवाबाट बचाउन मुस्किल

गौतमले पछिल्लो समयमा चौंरीगाईका बाच्छाबाच्छी हिमचितुवाबाट बचाउन मुस्किल हुने गरेको बताए । खुला चरनमा छाडेर पालिने चौंरीका डेढ वर्षसम्मका बाच्छाबाच्छीलाई हिमचितुवाले खाने गरेको उनले सुनाए ।

फागुनदेखि जेठसम्म १४ वटा बाच्छाबाच्छीलाई चितुवाले खाएको उनको भनाइ छ । खुला चरनमा हुँदा चौंरीले बाच्छाबाच्छीलाई घेरेर राख्ने भएकोले हिमचितुवाले खान सक्दैन । माउ घाँस खान जंगलमा पसेपछि भने बाच्छाबाच्छी छलिने हुँदा हिमचितुवाले आक्रमण गर्ने गरेको उनले सुनाए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.