‘स्थानीय निर्वाचनलाई कसैले रोक्न सक्दैन’
भक्तपुरः सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले निर्वाचनलाई अब कसैले रोकेर रोक्न नसकिने बताए ।
आयोगले गतिशीलताका साथ काम अगाडि बढाइरहेको र सबै राजनीतिक दलको प्रतिबद्धतासमेत रहेकाले अब कसैले चाहेर पनि स्थानीय तहको निर्वाचन रोक्न नसक्ने उनको दाबी थियो ।
तोकिएकै समयमा स्थानीय तहका साथै अन्य निर्वाचन नभए त्यसले संवैधानिक सङ्कट निम्त्याउने उनले बताए । संविधान कार्यान्वयनको पक्षमा देखिएको जटिलतालाई राजनीतिक सहमतिबाटै कार्यान्वयनतर्फ अग्रसर बनाउनुपर्ने उनको भनाई थियो ।
संविधान आफैँ परिवर्तनशील भएकाले नेपाल र नेपालीको आवश्यकताअनुरुप संविधानको संशोधन गरिने जानकारी दिए । ‘हरेक नेपालीलाई आफ्नो संविधान भएको महसुस गराउनेतर्फ वर्तमान सरकार लागिपरेको भन्दै संशोधनपश्चात मधेसवादी पार्टीको जायज माग सम्बोधन गरिने बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी हटाउन महत्वपूर्ण भूमिका खेलेको यनले बताए । नेपालभित्र देखिएको राजनीतिक अस्थिरतालाई सही बाटोतर्फ लान र संविधान कार्यान्वयनको पक्षलाई महत्व दिँदै अमेरिकाको भ्रमणसमेत रद्द गरेको उनले बताए ।