एक वर्षमा साढे तीन लाख सवारीसाधन थपिए
काठमाडौंः आम्दानीमा भएको वृद्धिसँगै निजी सवारीसाधन चढ्ने ह्वात्तै बढेका छन् । यातायात व्यवस्था विभागको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो । गत आर्थिक वर्ष नेपालमा तीन लाख ४४ हजार सवारीसाधन थपिए । यो संख्या अघिल्लो वर्षको तुलनामा एक लाख चार हजार बढी हो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गएको वर्ष ६६ अर्ब ६३ करोड रुपैयाँबराबरको सवारीसाधन तथा पार्टपुर्जा भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो रकम सबा १७ अर्बले बढी हो । अघिल्लो वर्ष २०७१/७२ मा ४९ अर्ब ३८ करोड रुपैयाँबराबरको सवारीसाधन तथा पार्टपुर्जा भित्रिएको थियो ।
माथिको तथ्यांकले सवारीसाधन आयात उच्च गतिले बढिरहेको देखाउँछ । यातायात व्यवस्था विभागका अनुसार सबैभन्दा बढी बाइक तथा स्कुटर थपिएका छन् । एक वर्षमा दुई लाख ६७ हजार बाइक तथा स्कुटर भित्रिए । यो संख्या कुल सवारीको करिब ७८ प्रतिशत हुन आउँछ । नेपालमा सबैभन्दा बढी बाइक तथा मोटरसाइकल प्रयोगकर्ता छन् ।
गत वर्ष २८ हजार तीन सय कार तथा जिप विभागमा दर्ता भएका छन् । यस अवधिमा करिब १२ हजार ई-रिक्सा दर्ता भएको देखिन्छ । सार्वजनिक सवारीसाधनको रूपमा प्रयोग गरिने बस झन्डै ६ हजारको हाराहारीमा थपिएका छन् । यसले पनि नेपालमा सार्वजनिक यातायातको अवस्था देखाउँछ ।
अहिलेसम्म नेपाली सडकमा २३ लाख ३९ हजार सवारीसाधन पुगेको विभागले जनाएको छ, जसमध्ये मोटरसाइकलको संख्या १८ लाख ३५ हजार छ । कार तथा जिपको संख्या एक लाख ९२ हजार पुगेको छ भने ठूला बस ४१ हजार पुगेका छन् ।
सार्वजनिक सवारीसाधनको कष्टकर यात्राकै कारण निजी सवारीसाधनमा आकर्षण देखिएको व्यवसायी बताउँछन् । हरेक दिनजसो जाम भोग्ने राजधानीबासीका लागि बाइक तथा स्कुटर उत्तम साधन बन्दै आएको छ । पछिल्लो समय बाइकसँगै स्कुटरको आयात पनि ह्वात्तै बढेको व्यवसायीको भनाइ छ ।
सार्वजनिक सवारीसाधनको कष्टकर यात्राकै कारण निजी सवारीसाधनमा आकर्षण देखिएको व्यवसायी बताउँछन् ।
सरकारले सवारीसाधनमा दुई सय ४१ प्रतिशतसम्म भन्सार असुल्छ । विदेशमा सस्तो मूल्यमा पाइने गाडी तथा बाइक नेपाल भित्रिँदा महंगा हुन्छन् । त्यही भएर पनि नेपालीको आकर्षण बाइकमा देखिएको हो । नेपाली सडकको अवस्था पनि बाइक गुडाउन मिल्ने खालको छ ।
पछिल्लो १० वर्षको तथ्यांक हेर्दा सवारीसाधनको आयात हरेक वर्ष बढिरहेको देखिन्छ । आव २०६३/६४ मा विभिन्न मुलुकबाट ८८ हजार आठ सय सवारीसाधन भित्रिएका थिए । १० वर्षमा यो संख्या बढेर साढे तीन लाख पुगेको छ । तर, सडकको अवस्थामा भने कुनै सुधार आउन सकेको छैन । अहिले राजधानी दैनिक जाममा फसेको देखिन्छ ।
नेपालमा बैंकहरूले पनि सस्तो ब्याज दरमा अटो लोन उपलब्ध गराउँदै आएका छन् । यसले कम आम्दानी हुनेलाई पनि निजी सवारीसाधन चढ्ने मौका मिलेको छ । गत वर्ष बैंकले अटोमा १८ अर्ब ९४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । अघिल्लो वर्ष बैंकको अटोमा ऋण लगानी १४ अर्ब ३४ करोड रुपैयाँ थियो ।
बैंक तथा वित्तीय कम्पनीले सस्तो ब्याजदरमा फाइनान्सिङ गरिदिने हुँदा कम आम्दानी हुनेले पनि बाइक खरिद गरिरहेका छन् । मध्यम आम्दानी हुनेहरू बाइक छोडेर इन्ट्री लेबलका कार किनिरहेका छन् । उच्च आम्दानी हुनेहरूको रोजाइमा महंगा कार पर्न थालेका छन् । नेपाली बजारमा झन्डै चार करोडसम्मका कार भित्रिएका छन् । त्यस्तै ५० लाख रुपैयाँसम्मका बाइक नेपाली सडकमा कुदेको देखिन्छ ।