पुजारी धनी, देवता गरिब
पोखराः धन दौलत वा सुखसुविधाका लागि मान्छे देवीदेउता पुकार्छ । भक्ति आराधना गर्छ, र पूजापाठ पनि देवीदेउताकै गर्छ । पोखरा र सेरोफेराका बासिन्दाले मनोकांक्षा पूरा गर्न सबैभन्दा धेरै पुकार्ने र हृदयदेखि मान्ने देवी विन्ध्यवासिनी हुन् । तर यिनै देवी भने आफैलाई पूजाआज गर्ने पुजारीभन्दा धेरै गरिबी छिन् । कारण सिधा छ—देवीका नाममा भक्तजनहरुले चढाउने सबै दक्षिणा पुजारीले लिनु ।
३ सय वर्ष हाराहारी पुरानो र पुरातात्विक महत्वको विन्ध्यबासिनी मन्दिरको भेटी अहिलेसम्म पनि पुजारीकै पोल्टामा जाँदै आएको छ । पुजारीकै भनाइअनुसार १८४४ सालमा कास्कीका राजा सिद्धिनारायण शाहले महेन्द्र पाध्या पौडेललाई लालमोहर दिइ पुजारीको जिम्मेवारी पुम्पेका थिए । त्यही लालमोहरका आधारमा पाध्याका सन्तानले मन्दिरको पूजाआजा गर्दै दक्षिणा पनि आफैं लिने गरेका छन् ।
मन्दिरमा कम्तीमा पनि महिनाको ४ लाख रुपैयाँ भेटी संकलन हुन्छ । यो विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अनुमान मात्रै हो ।
‘विन्ध्यवासिनी आएका भक्तजनमध्ये यही परिसरकै राधाकृष्ण मन्दिरमा १० प्रतिशत भक्तजन जान्छन्’, समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ भन्छन्, ‘त्यहाँ त महिनाको ३० हजार जति भेटी संकलन हुन्छ र अर्काे शिव मन्दिरमा कहिले लाख कहिले डेढ लाख जम्मा हुन्छ भने विन्ध्यवासिनीमा ४ लाख रुपैयाँ जति हुनुपर्छ भन्ने अनुमान हो ।’
त्यसो त मन्दिरको दैलाछेउमा राखिएको दानपेटिकामा मात्रै पनि महिनाको १ लाख रुपैयाँ जति जम्मा हँुदै आएको उनी बताउँछन् । ‘जब कि दानपेटिकामा कमैले पैसा खसाल्छन्, धेरै त देवीकै चरणमा राख्छन्,’ अध्यक्ष गणेशले भने, ‘कतिपय भारतीय भक्तजनले त झन् सुनचाँदी जस्ता बहुमूल्य धातुसमेत मन्दिरमा भेटी चढाउँछन् ।’
तर, विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मर्मतसम्भार, पुनर्निमाण वा नयाँ निर्माणको कामका लागि धार्मिक क्षेत्र विकास समितिले दान चन्दाको भर पर्नुपरेको सचिव तीर्थ श्रेष्ठ सुनाउँछन् । भन्छन्, ‘देवी गरिब, पुजारी धनी भएपछि यस्तै हो ।’
राजाको छोरा स्वतहः राजा हुने व्यवस्था खारेज भइसक्दा पनि पुजारीका सन्तान पुजारी हुने चलन विन्ध्यवासिनीमा अझै हटेको छैन । राजगद्दीमा राजाका छोराको स्वतहः हक लागे जस्तो मन्दिर र यसको भेटीघाटीमा पुजारीका पुस्तापुस्ताले हकभोग गर्दै आएका छन् । हुनेवाला राजालाई राजपाठको शिक्षा लिनुपर्ने अनौपचारिकै नियम हुन्थ्यो । तर यहाँ पूजाआजका विधिविधानसम्म नसिकी पुजारीका सन्तानहरु पुाजी बनिरहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ बताउँछन् ।
विन्ध्यवासिनीको मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल हुन् । उनले ६ महिना पूजाआज गर्छन् । उनकै बाबुका दाजुभाइका छोराहरुबीच अर्काे ६ महिनाको अंशबन्डा छ पूजाका लागि । अर्काे ६ महिना श्रीराम, बाबुराम, माधव, कालिका, कृष्णप्रसाद पौडेलले पुजारीको काम गर्छन् ।
सचिव तीर्थका अनुसार सरकारले पशुपति विकास कोषको छुट्टै ऐन ल्याएजस्तो अरु मन्दिरका लागि पनि कानुन बनाएर भेटीघाटी नियमन गर्नुपर्ने सुझाउँछन् । भन्छन्, ‘हामी संघसंस्था ऐन अन्तर्गत दर्ता भएर चलेका छौं, सरकारबाट नियुक्त होइनौं, भेटी खोस्ने र कानुनी लडाइँमा जाने हक हामीसँग छैन ।’ मूल पुजारी रुद्र पौडेल पनि सरकारले कानुनी व्यवस्था गरे भेटी बुझाउन र आफूहरुलाई व्यवस्था हुनेअनुसार को तलबमा काम गर्न मञ्जुर रहेको सुनाउँछन् ।
पोखरा उपमहानगर पालिका विन्ध्यवासिनी मन्दिर गुठीको ५४ रोपनी जमिन छ । यसमा पनि पुजारी परिवारको भोगचलन छ । धार्मिक क्षेत्र विकास समितिले केही गर्न सक्दैन । गुठीको जमिन भाडामा पनि लगाउन नपाइने नियम हुँदा केही गर्न नसकेको सचिव तीर्थ बताउँछन् । भन्छन्, ‘त्यो जमिनमा स्कुल, क्याम्पस वा मेडिकल कलेज खोलेर गरिब नेपालीका छोराछोरी पढाउने हाम्रो योजना छ ।’ फेरिएको फेरियै गर्ने संस्कृति मन्त्रीहरुलाई विन्ध्यवासिनी जस्ता देशभरका ठूला शक्तिपीठहरुको भेटीघाटी सदुपयोगबारे बुझाउँदा बुझाउँदा हैरान भएको सचिव तीर्थले सुनाए । ‘जुन मन्त्री पनि कानुन ल्याउँछौं भन्छन्, भन्दाभन्दै चेन्ज भइसक्छन्’, उनले भने ।
कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले विन्ध्यवासिनी मन्दिर स्थापना गरेका हुन् । उनैले अहिलेका पुजारीका पुर्खालाई पुजारी नियुक्तिपत्र अर्थात लालमोहर दिएको भए पनि त्यसको आधिकारिक प्रमाण नरहेको सचिव तीर्थ बताउँछन् । ‘त्यो लालमोहर पछिपछिसम्म पनि फेरि थमौती गरिदियाँ भन्ने व्यहोरा छ भन्ने सुनिन्छ’, उनले भने, ‘थमौती गरिदियाँ भनेको नवीकरण गरेको भनेको होला, अब त वर्षाैंदेखि कसैले नवीकरण पनि गरेको छैन । तर एउटै परिवारका पुजारी छन् । आम्दानी उनैको छ ।’