राजधानीका स्कुलमा बम विष्फोट भएकोप्रति युनिसेफको निन्दा
काठमाडौं: युनिसेफले मंगलबार काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा धेरै विद्यालयमा बम राखिएको र विस्फोट गराइएको घटनाको भत्र्सना गरेको छ।
‘सार्वजनिक वा निजी जुनसुकै भएपनि विद्यालय बालबालिकाले सुरक्षित रुपमा खुसी साथ सिक्न र हुर्कन सक्ने क्षेत्र रहनुपर्र्छ,’ युनिसेफ नेपालका प्रतिनिधी टोमो होजुमीले भने ।
युनिसेफले विज्ञप्ति सार्वजनिक गरेर विद्यालयमा बम राखिएकोप्रति भत्र्सना गरेको हो । ‘राजनीतिक कार्यकर्ताले विद्यालयलाई प्रहार गर्दा उनीहरुलाई आफू बालबालिका भएको बेलामा कसैले विद्यालय अथवा अन्य कुनै मनपर्ने ठाउँमा यस्तै गतिविधी गरिदिएको भए कस्तो महशुस हुने थियो ?’ युनिसेफले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालबालिका र उनीहरुसँग सम्वन्धित स्थानमा आतंक र हिंसा मच्चाउने व्यक्तिलाई आफू बालबालिका भइ सोच्न अनुरोध गर्दछु ।’
‘देशका सबै राजनीतिक दलले राजनीतिक अस्थिरतासहित जस्तोसुकै अवस्थामा पनि बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र राख्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । तर सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक वितिसक्दा पनि पटक पटक विद्यालय र विद्यालय जाने बालबालिका विभिन्न खालका हिंसाको तारो बनेका छन् । यो रोकिनैपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यालयमा बम विष्फोटले बालबालिकाले शिक्षा पाउने मौलिक अधिकार उल्लंघन भएको भन्दै युनिसेफले कडा शब्दमा भत्सना गरेको हो ।
‘बालबालिकाको शिक्षा पाउने मौलिक अधिकारको उल्लंघन भएकोमा युनिसेफ यसको कडा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ सबै पक्षलाई उनीहरुले बालअधिकारका अन्तर्राष्ट्रिय सन्धी र महासन्धी पालना गर्न बारम्बार गरेको प्रतिवद्धतालाई सम्मान गर्न पनि आग्रह गर्दछ ।’