दाहाललाई भारतप्रति उत्साहित नबन्न सुझाव

दाहाललाई भारतप्रति उत्साहित नबन्न सुझाव

काठमाडौः नेकपा माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतप्रति धेरै उत्साहित नहुन सुझाव दिएका छन् । भारतको चारदिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किंदा निकै उत्साहित देखिएका प्रधानमन्त्री दाहाललाई उनको पार्टीका वरिष्ठ नेताहरूले नेपाल मामिलामा भारतीय रणनीति परिवर्तन नभएको भन्दै उत्साहित नबन्न सुझाव दिएका हुन् ।

केन्द्रीय कार्यालयको मंगलबारको बैठकमा बोल्ने नेताहरूले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा जोड दिए पनि प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा प्राविधिक त्रुटिहरू औंल्याएका थिए ।

वैदेशिक मुद्दामा भारतसँग सहकार्य गर्ने सहमतिले अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको, भारतीय परियोजनाको अनुगमन दूतावास र सरकारले गर्ने भनेर भारतीय हस्तक्षेप निम्त्याइएको र संविधान निर्माणको विषयलाई वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा भित्र्याएको आरोप नेताहरूले लगाएका थिए ।

‘भारत जुन ठाउँमा थियो, त्यही ठाउँमा छ । रणनीतिक रूपमा भारतले आफ्नो नीतिमा कुनै परिवर्तन गरेको छैन । भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको ठान्नु सत्य हुँदैन-, नेता नारायणकाजी श्रेष्ठलाई उद्धृत गर्दै एक नेताले अन्नपूर्णसँग भने, ‘संविधान निर्माणमा भारतले स्वागत गरेको छैन । तर पनि हामीले भारतसँग राम्रो सम्बन्ध बनाउन प्रयत्न गरिराख्नुपर्छ ।'

बैठकमा नेताहरू टोपबहादुर रायमाझी, अग्नि सापकोटालगायतले भारतले गर्ने व्यवहार नहेरीकन उत्साहित हुनुको अर्थ नरहेको बताएका थिए । ‘अहिले धेरै उत्साहित हुनुभन्दा व्यवहारलाई हेर्नुपर्छ । व्यवहारमा अभिव्यक्त भएमा राम्रो हुन्छ । कार्यान्वयनमा गएपछि उत्साहित भए हुन्छ तर अहिले नै उत्साहित हुनु आवश्यक छैन-, नेताहरूले प्रधानमन्त्रीलाई दिएको सुझाव उधृत गर्दै हरिबोल गजुरेलले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा पनि हामी निकै उत्साहित थियौं, परिणाम नाकाबन्दी भोग्नुपयो । त्यसैले अहिले प्रधानमन्त्री धेरै उत्साहित बन्न जरुरी छैन । भारतले जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन ।'
भारतसँग संयुक्त वक्तव्यमा जारी गर्ने क्रममा प्राविधिक शब्दमा ख्याल नगरेको भन्दै नेताहरूले प्रधानमन्त्री दाहालको आलोचना गरेका थिए । आफ्नो भारत भ्रमण सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बैठकमा आफूप्रति शंका नगर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए । ‘संयुक्त वक्तव्य राष्ट्रहितमा छ । राष्ट्रहितविरुद्धमा छैन । धेरै आशंका गरिराख्नु पर्दैन-, प्रधानमन्त्री दाहालले भनेका थिए ।

नेता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘हाम्रो पार्टीले प्रधानमन्त्रीको भारत भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । पार्टीका आन्तरिक विषयमा थप बोल्न मिल्दैन ।-

बैठकमा दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग आफ्नो कुराकानी भएको जानकारी गराएका थिए । ‘लोकमानसँग मेरो कुरा भयो । आशंकाहरू दुर भएका छन् । एमालेले जालझेल, षड्यन्त्र गर्न थालेको पाइयो । एमालेले अख्तियारमार्फत अप्ठ्यारो पार्न खोजेको बुझियो-, दाहाललाई उद्धृत गर्दै गजुरेलले भने ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क भ्रमण गर्ने कार्यक्रम स्थगित गर्नुको कारण प्रस्ट्याउँदै बैठकमा दाहालले भनेका थिए, ‘भारतबाट फर्कंदै गर्दा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने कि भन्ने मानसिकता बनाउँदै आएको थिए । यहाँ आएपछि पनि मधेसी मोर्चालगायत सबैको नेपालमै रहनु उपयुक्त हुने सुझाव आयो त्यही भएर त्यो भ्रमणलाई स्थगित गरिएको हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.