घरायसी झगडामा हराउन लागेको कृष्ण पाउरोटी
काठमाडौः पाउरोटी भन्ने बित्तिकै कृष्ण पाउरोटी सम्झिइन्थ्यो । दशकौंसम्म राजधानीको पाउरोटी बजारमा कृष्ण पाउरोटीको एकाधिकार थियो । घरायसी झगडाका कारण मुलुकको पहिलो पाउरोटी उद्योगको अस्तित्व संकटमा छ ।
कृष्णबहादुर राजकर्णीकारले ६८ वर्षअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । उत्पादन थालेको ११ वर्षपछिनै दिवंगत भए पनि उनका छोराहरूले बाबुको बिडो थाम्दै पाउरोटीको पर्यायवाचीनै कृष्ण पाउरोटीलाई बनाएका पनि हुन् । कान्छा छोरा घनश्यामका अनुसार २०३५/३६ सालसम्म काठमाडौंमा कृष्ण पाउरोटीको एकाधिकारजस्तै थियो ।
भ्यान र दर्जनौं साइकलमार्फत सहरका कुनाकाप्चाका पसलमा पाउरोटी आपूर्ति हुन्थ्यो । अहिले कमल पोखरीको पसलमा राख्नका लागि केही सय प्याकेट पाउरोटी उत्पादन हुन्छ । उबेलै दिनमा १० हजार प्याकेटभन्दा बढी पाउरोटी उत्पादन गरिन्थ्यो, अहिले तीन सय प्याकेट पनि बन्दैन ।
पाउरोटीभन्दा केकलगायतका बेकरी आइटमका कारण व्यापार जेनतेन चलेको छ । कृष्ण पाउरोटीको ट्रेडमार्क घनश्यामस“ग छ । उनका भतिजाले कृष्ण बेकरी एन्ड कन्फेक्सनरी चलाउँछन् । अर्का भतिजाले मास्टर बेकर चलाइरहेका छन् ।
कृष्णबहादुरको निधनपछि उनका छोराहरु पनि क्रमशः बिते । अंशबन्डा गरी छुट्टिने तर कृष्ण पाउरोटीको ट्रेडमार्कमा हक दाबी गर्ने विवादका कारण यसको व्यवस्थापन प्रभावित भयो । घनश्यामका अनुसार जेठो दाइको २०४०/४१ तिर निधन भयो । त्यसपछि उनका छोरासँग फाटो सुरु भयो ।
असन्तुष्टि बढ्दै गएपछि २०४६ सालमा कम्पनीको मूल्यांकन गरी एक तिहाई हिस्सा दिनु परेको थियो । ‘त्यसपछि साइलो दाइ र म मिलेर व्यापार फेरि जिरोबाट सुरु गर्नुपरेको थियो-, उनी सुनाउँछन् । चर्चित ब्रान्डको कारण व्यापार प्रभावित भएन ।
तर, साइलो दाइको २०५४ मा निधन भएपछि फेरि उनको छोरा रमेश र काका घनश्यामबीच पुनः फाटो आयो । काका भतिजको झगडाले कृष्ण पाउरोटीलाई उठ्न नसक्ने गरी थला पार्यो । उता नयाँ आएका पाउरोटीले कृष्ण पाउरोटीको बजार खोस्न थालिसकेका थिए ।
करिब १० वर्षको झगडापछि २०६४ मा काका भतिजले व्यवसाय विभाजन गरे । कृष्ण पाउरोटी प्रा.(लि)मा काका भतिजको झगडा अझै सकिएको छैन । एउटै मेसिन, एउटै प्रविधि, एउटै क्वालिटी र एउटै स्वादमा तीन जनाले पाउरोटी व्यवसाय गरिरहेको घनश्यामको भनाइ छ ।
काका भतिजको झगडाका कारण जर्मनीबाट झिकाएको मेसिन कवाडीमा बिक्री गर्नुपरेको थियो । दुवैजनाले मेसिन दाबी गरेपछि लामो समय यत्तिकै थन्कियो । ‘मेसिनमा खिया लाग्यो, जाम भयो, अनि कवाडीमा बिक्री गर्यौं-, घनश्याम सम्झिन्छन् । त्यसपछि रमेश र घनश्यामले नयाँ मेसिन किनेर पाउरोटी बनाउन थालेका हुन् । अहिले काका भतिजबीच बोलचालसमेत छैन ।
दरबारसँग राजकर्णिकार
काठमाडौंमा राजकर्णिकारको जातीय पेसा नै मिठाई पकाउने र बेच्ने हो । कृष्णबहादुरले भारतको कोलकात्तामा सीप सिकेर २००५ सालदेखि पाउरोटी बनाउन सुरु गरेका थिए । त्यसअघि नेपालमा पाउरोटी भित्रिएको थिएन । पुर्खादेखि हलुवाई, मिठाईमा संलग्न राजकर्णिकार परिवारबाट कसरी भित्रियो, अंग्रेजी रोटी (पाउरोटी) । नेपालमा पाउरोटी भित्रिनुको एउटा रोचक कथा छ ।
कृष्णबहादुरका बाजे गजराज थापाथली दरबारमा जंगबहादुरलाई मिठाई बनाएर खुवाउँथे । गजराजको निधनपछि छोरा हिरामानले वीरशमशेरको लालदरबारमा मिठाई खुवाउने जागिर पाए । हिरामानको निधनपछि छोरा कृष्णबहादुरले जागिरलाई निरन्तरता दिए । जुद्धशमशेरका पालामा राणा परिवारमा ए, बी र सी वर्गीकरण गरी सी क्लासलाई काठमाडौंबाहिर धपाउन थालेपछि लालदरबारका मालिक इन्दुशमशेर इलामको बडा हाकिम बनाएर धपाइए । कृष्णबहादुर पनि सँगसँगै इलाम पुगे ।
अहिले दैनिक केही सय प्याकेट मात्र पाउरोटी उत्पादन हुन्छ । उबेलै दिनमा १० हजार प्याकेटभन्दा बढी उत्पादन गरिन्थ्यो ।
त्यतिबेला इन्दुशमशेरले काठमाडौंबाट लगेको हिरा, जवाहरातको एउटा कन्तुर हरायो । कृष्णबहादुरले हराएको उक्त कन्तुर फेला पारेर दिएपछि इन्दुशमशेरले ५० बिघा तराईको जग्गा बक्सिस दिएको घोषणा गरे । तर, उनले जग्गा पाएनन् । त्यो जग्गा ज्वार्इं तपेन्द्रबहादुर शाहले लिइसकेको थाहा पाएपछि कृष्णबहादुर निराश भएर कोलकात्ता गए । कोलकात्तामा प्रख्यात अंग्रेजी बेकरी (पाउरोटी) कम्पनीमा दुई हप्ता पाउरोटी बनाउन सिके । पाउरोटी बनाउने सीप बोकेर फर्किएका कृष्णबहादुरले कमलपोखरीको आफ्नै घरमा पाउरोटी बनाउन सुरु गरे ।
२००५ सालमा ‘कृष्ण पाउरोटी भण्डार- नामबाट पाउरोटी उत्पादन सुरु भएको थियो । सुरुमा १५/२० वटा पाउरोटी बनाउँथे । दाउरोको परम्परागत भट्टीबाट पाउरोटी उद्योग सुरु भएको थियो । त्यतिबेला पाउरोटी फुलाउन ‘इस्ट- नभएपछि अमिलो ‘हब्स-को प्रयोग गर्थे । जडीबुटीबाट बनाइएको सेतो ‘हब्स- त्यतिबेलाका कट्टर बाहुनले पाउरोटीमा रक्सी मिलाएको हल्लासमेत फिँजाएका थिए ।
कृष्णबहादुरले पसलमै चिया नास्ताको व्यवस्था गरेका थिए । त्यतिबेला नेताहरू, सरकारी कर्मचारी चियासँग पाउरोटी खान आउँथे । पाउरोटीको बिक्री बढ्दै गईरहेको थियो । यही क्रममा कृष्ण पाउरोटीले २०१४ मा मिक्सचर भित्र्यायो । त्यसअघि म्यानुअल्ली पाउरोटी बनाइँदै आएको थियो । १०१६ सालमा कृष्णबहादुर दिवगंत भएपछि चारमध्ये तीन छोराले साझेदारीमा कृष्ण पाउरोटीलाई अगाडि बढाए । २०२०/२१ सालतिर बेलायतबाट ओभन भित्र्याएर पाउरोटी बनाउन थालियो । त्यसपछि कृष्ण पाउरोटीको गुणस्तरमा अझ सुधार आयो । त्यतिबेला राजा महेन्द्रले पनि कृष्ण पाउरोटी खान्थे ।
यही क्रममा २०२७/०२८ सालतिर कृष्णबहादुरका कान्छा छोरा घनश्याम एक वर्ष बेकरी म्यानेजमेन्ट पढ्न जर्मनी गए । त्यहाँ उनले पाउरोटी र अन्य वेकरी आइटम बनाउन सिके । जर्मनीमा रहँदा उनले पाउरोटी बनाउने आधुनिक मेसिन पनि देखेका थिए । २०२९ मा एनआईडीसीबाट १६ लाख रुपैयाँ ऋण लिएर सेमिअटोमेसन मेसिन भित्र्याएको घनश्याम सम्झन्छन् । त्यसपछि कृष्ण पाउरोटीको उत्पादन र गुणस्तरमा झनै सुधार आयो । पहिला पाउरोटीमा केन्द्रित हुने गरेकोमा पछि भेराइटी बढाउँदै लैजान थालियो । त्यतिबेला सबै पाउरोटी काठमाडौंमै खपत हुन्थ्यो ।
२०२७ सालपछि भने हिमालय पाउरोटी, यती पाउरोटीलगायत खुलेका थिए । तैपनि कृष्ण पाउरोटीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था थिएन । त्यतिबेला नै कृष्ण पाउरोटीले क्रिम दुनोट र बर्थ डे के बनाउन थालिसकेको थियो । त्यसपछि नाङ्लो बेकरी पनि सञ्चालनमा आयो । कारोबार बढेपछि २०३० सालमा ‘कृष्ण पाउरोटी प्रालि- दर्ता गरेर सञ्चालन हुन थाल्यो । २०३२/०३३ सालतिर ‘भैगो साथी खेल्दिन अब, म त जान्छु खाजा खान्छु कृष्ण पाउरोटी- भन्ने गीत निकै चर्चामा रह्यो । कतिपय ग्राहकलेले यही गीत गुनगुनाउँदै कृष्ण पाउरोटी खाएको पछिसम्म घनश्यामलाई सुनाउँथे ।
कृष्ण पाउरोटीको भविष्य
कृष्णबहादुरका माइला छोरा पहिलादेखि नै बेकरीमा संलग्न भएनन् । जेठा, साइला र कान्छा छोराले मात्र बाउको बिँडो थामेका थिए । ‘कतिपय पाउरोटीका ब्रान्ड मरेर पनि गएका छन्, कृष्ण पाउरोटी बाँचिरहेको छ, यसैमा सन्तोष मान्नुपर्ने अवस्था पैदा भयो- घनश्याम भन्छन्, ‘अब कृष्ण पाउरोटी पहिलाजस्तो चम्किने सम्भवना पनि छैन ।'
घनश्याम अहिले ७५ वर्षका भइसकेका छन् । उनका छोरा छैनन् । पाँचमध्ये दुई छोरीलाई उनले व्यापारमा आफूलाई साथ दिन बल्लतल्ल मनाएका छन् । बैंकमा जागिर खाइरहेका छोरी पुस्तैनी व्यापार बन्द हुने अवस्था भएपछि जागिर छाडेर व्यापारमा आएका हुन् ।
व्यापार सम्हाल्न थाले पनि उनीहरूले आक्रामक रूपमा व्यापार अघि बढाई पुरानो वैभव फिर्ता लिने जाँगर देखाएका छैनन् । अहिले सहरमा मात्र नभएर गाउँमा समेत पाउरोट, केक, दुनोट बनाउन थालिएको छ । कृष्ण पाउरोटीले पनि सुरुमा पाउरोटी र बम बढी बनाउँथ्यो । अहिले मुख्य केक आइटम बनाउन थालेको छ । कृष्ण पाउरोटीले विभिन्न थरीका केक, कुकिज, पेस्ट्रिज, डोनट, मफिनलगातका बेकरी परिकार बनाउँदै आएको छ ।