निर्जीवन बिमाको लगानी उच्च
काठमाडौंः निर्जीवन बिमा कम्पनीले व्यवसायमा लगानी बढाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकको बचत तथा ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको मुुद्दती निक्षेप, सेयर र बिमालेखको धितोमा कर्जा तथा उत्पादनशील क्षेत्रमा बिमा कम्पनीले लगानी गरेका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा आठ अर्ब ६४ करोड रुपैयाँ रहेको बिमा कम्पनीहरूको क्षेत्रगत लगानी गएको वर्षसम्म एक सय ६० प्रतिशतले बढेको बिमा समिति सुुपरीवेक्षण तथा अनुगमन महाशाखाका निर्देशक राजुुरमण पौडेलले जानकारी दिए ।
गएको वर्ष निर्जीवन कम्पनीले लगानी वृद्धि गरी २२ अर्ब ५० करोड रुपैयाँ पुर्याएका छन् । प्रचलित बिमा ऐन तथा नियमावलीअनुुसार बिमक कम्पनीहरूको लगानीयोग्य रकम दीर्घकालीन रूपमा नेपालभित्र लगानी गर्न लगाउने नीति बमोजिम लगानी वृद्धि भएको हो ।
नीतिगत रूपमा अनिवार्य र स्वेच्छिक गरी दुई प्रकारबाट क्षेत्रगत लगानी बिमाले गर्नुपर्छ । बिमा कम्पनीले समितिको निर्देशनअनुुसार अनिवार्य क्षेत्रमा लगानी बढाएका छन् भने स्वेच्छिकमा न्यून लगानी गरेका छन् । स्वेच्छिक लगानी कम्पनीको चासो र इच्छाअनुसार गर्न सकिने भएकाले उनीहरूले फाइदा हुने क्षेत्रमा मात्र लगानी गर्दा लगानी थोरै भएको बिमा समितिको भनाइ छ ।
१८ वटा बिमा कम्पनीले गएको वर्ष अनिवार्य क्षेत्रमा १८ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेका छन् भने तीन अर्ब ५७ करोड रुपैयाँ स्वेच्छिक लगानी भएको बिमा समितिको तथ्यांक छ । कम्पनीले वाणिज्य बैंकको मद्दती निक्षेप र नागरिक लगानी कोषमा लगानी गरेको हो ।
क्षेत्रगत लगानीमा सबैभन्दा अग्रस्थानमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड छ । कम्पनीहरूले गरेको अनिवार्य तथा स्वेच्छिक लगानीका क्षेत्रमा गएको वर्ष सबैभन्दा बढी लगानी नेपाल पुनर्बिमा कम्पनीको छ । कम्पनीले गएको वर्ष पाँच अर्ब २१ करोड अनिवार्य लगानी गरेको छ भने दुई करोड १७ लाख स्वेच्छिक लगानी भएको हो । लगानीका क्षेत्रमध्ये वाणिज्य बैंकको मुद्दती निक्षेपमा यो कम्पनीको चार अर्ब ४१ करोड रुपैयाँ लगानी छ ।
सोही लगानी गर्ने दोस्रो ठूलो कम्पनीमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड छ । कम्पनीले गएको वर्ष दुई अर्ब ४४ करोड रुपैयाँ अनिवार्य क्षेत्रमा लगानी गरेको छ भने ४८ करोड स्वेच्छिक लगानी गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले दुवै क्षेत्रमा गरी एक अर्ब ६३ करोड लगानी गरेको छ ।
यसैगरी एक अर्बदेखि साढे एक अर्बसम्म अनिवार्य र स्वेच्छिक लगानी गर्ने बिमा कम्पनीमा दि ओरिएन्टल, नेसनल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छन् । उनीहरूले गएको वर्ष क्रमशः एक अर्ब ४३ करोड, एक अर्ब ४० करोड र एक अर्ब एक करोड लगानी गरेका छन् ।
लगानी गर्ने अन्य निर्जीवन कम्पनीमा नेको, एनवी, एभरेस्ट, प्रिमियर, प्रभु, सगरमाथालगायतका कम्पनी छन् । इन्फोआर्थिक वर्ष २०६८/६९ मा आठ अर्ब ६४ करोड रुपैयाँ रहेको बिमा कम्पनीहरूको क्षेत्रगत लगानी गएको वर्षसम्म एक सय ६० प्रतिशतले बढेको छ ।