सम्पन्नता पर्खिरहेको देश

सम्पन्नता पर्खिरहेको देश

प्रकृति र प्रविधि जति अनुकुल भए पनि मानव मस्तिष्कबाट मात्र तिनको जतन, प्रयोग र उपलब्धि सम्भव हुन्छ । यही शाश्वत सत्य स्विकारेर मानवले मानवका लागि मानवीय आधारमा सुविधा, सभ्यता, सम्पन्नता हासिल गर्दै अघि बढेको हो । तसर्थ मानव संसाधनको अगुवाइबाट मात्र मुलुकमा विद्यमान सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न सम्भव हुन्छ ।

दर्शन, ज्ञान र विज्ञान-प्रविधि मानव मस्तिष्कबाट सिर्जना भएका आयाम हुन् । सूक्ष्मदेखि विशाल विषय, संरचना वा सिर्जना मानवबाटै सम्भव भएका हुन् । देख्नि नसक्ने कुरा देख्ना सक्ने, विश्वास नलाग्ने कुरामा विश्वाइस दिलाएर र असम्भवलाई प्राप्त गर्न सम्भव बनाएर मानव सभ्यता यो उचाइमा उक्लिएको हो ।

मानव संसाधन तीन प्रकारले संगठित हुन्छ । नेतृत्व तह, व्यवस्थापन तह र उत्पादन तह । यी तीन तहमा संगठित मानव संसाधन परिवार, समाज र कार्यस्थल गरी तीन ठाउँमा उपयोग हुन्छ ।

नेतृत्व तह सबैभन्दा उपल्लो र जिम्मेवार तह हो । सार्वभौम जनताको माया, मत र विश्वासले यो तहको विकास हुन्छ । नेतृत्व तह परिकल्पना-परिदृश्य-प्राप्तिको दर्शनबाट आलोकित भई दूरदृष्टि तय गर्न सक्षम एवं तय गरिएको दूरदृष्टिमा पुग्न सिपालु, साहसी र समर्पित हुनुपर्छ । लोकतन्त्रमा नेतृत्वको विकासक्रम राजनीतिक दलको सदस्यता प्राप्ति, जिम्मेवारी सम्पादन र जवाफदेहिता बहनबाट प्रारम्भ हुन्छ ।

दलको नेतृत्वबाट राष्ट्रको नेतृत्वमा पुग्दा उत्कर्षता हासिल हुन्छ । तसर्थ नेतृत्व तह सदैव राजनीतिक प्रक्रियाबाट विकसित हुने रूप हो । नेतृत्वले समग्र राष्ट्रिय जीवनलाई प्रभावित पार्छ । यस क्रममा ग्राउन्डमा व्यवस्थापन तह र उत्पादन तहलाई र ग्राउन्डमा राज्यका नागरिकदेखि हरेक संगठित समूह, निकाय वा संस्थालाई नेतृत्व तहले सम्हाल्नुपर्छ । सबैलाई उप्रेरित, सुसज्जित र निर्देशित गरेर राज्य सञ्चालनमा सहभागी गराउनु नेतृत्व तहको मुख्य कार्यभार हो ।

बहुलवादी समाजमा हरेक व्यक्तिको सोच, सीप र संस्कार अर्कोसँग मेल नखाने हुन्छ । मेल खाने तत्व पहिल्याएर 'टिम' निर्माण गर्दै जानुपर्छ । विभिन्न स्वाद भएका फलफूल मिलाएर फ्रुट्स सलाद बनाएजस्तै हो टिम निर्माण कार्य । यसमा कुशलता चाहिन्छ टिमलाई टास्क सम्पादनमा सफल बनाउन तालुक तहको लागि चुनौतीपूर्ण जिम्मेवारी हो । त्यसैले नेतृत्व तहबाट व्यवस्थापन तह र उत्पादन तहलाई टिम-टास्क-टाइमको संयोजन गरेर तय गरिएको दूरदृष्टिउन्मुख नतिजा निकाल्नमा केन्द्रित गर्न अत्यन्त मेहनतका साथ लागिरहनुपर्छ ।

नेतृत्व तहको सीप, साहस र सफलताको समीक्षा गर्दा राजनीतिक फाँटमा नेतृत्व तहले मुलुकलाई सम्हाल्न सक्दै नसकेको अवस्था होइन । राजनीतिक एजेन्डाको व्यवस्थापन सकारात्मक रूपबाटै भएको पाइन्छत । 'रुटिन' ढिलोचाँडो भए पनि 'रिदम' मिलेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । नेपालको संविधान, २०७२ ले राजनीतिक विषयलाई संस्थागत गरेको छ । यही दृष्टान्तले नेतृत्व तहको क्षमता प्रमाणित हुन्छ ।

आर्थिक सामाजिक फाँट (जसलाई विकास भनेर सबैको बुझाई रहेको छ) लाई नियाल्दा भने राजनीतिक नेतृत्वमा केही प्रवृत्ति विकास भएको ‍छर्लंग देखिन्छ । बहुलवादी समाजमा बहुदलीय राजनीति हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । बहुदलमा विकसित नेतृत्वका बीचमा माया, मर्यादा र महत्त्वाकांक्षा हुनु लोकतन्त्रको आदर्श पक्ष हो । राजनीतिक दलहरूबीचको अन्तरसम्बन्धबाट लोकतन्त्रका सुन्दर तथा आदर्श पक्ष सधैँ सिञ्चित, पोषित र पालित हुँदै अघि बढेको देखिन्छ ।

तिक्तता वा तिरस्कारलाई छिटै बिर्सेर मित्रता र स्वीकारलाई अँगालेका उदाहरण प्रशस्त भेटिन्छन् । यो अत्यन्त राम्रो पक्ष बनेको छ दलहरूका बीचमा । तर दलहरूका बीचमा जब सत्ताको विषय प्रवेश गर्छ, अनि विवाह र विच्छेदको शृंखला दोहोरिइरहन्छ । नेतृत्वले प्रतिज्ञा गर्छ, प्रयोग गर्छ र प्रायश्चित गर्छ । सत्ता सञ्चालनमा यही देखिएको छ । प्रक्रिया सुरु हुन्छ परिमाण आइसकेको हुँदैन तर परिवर्तन भइहाल्छ ।

त्यसैले सत्तामा भित्रिँदाको प्रतिज्ञा र बाहिरिँदाको प्रायश्चित्तका साक्षी भएका नेपाली जनता सम्पन्नताको न्यानो कहिले प्राप्त होला भनेर पर्खिरहेका छन् । नेतृत्व तहले समग्रता सम्हाल्ने हो । यो तह अस्थायी, अस्थिर र अव्यवस्थित हुँदा व्यवस्थापन तह र उत्पादन तह स्थायी, स्थिर र व्यवस्थित हुन सक्दैन । यहाँनेर अझ स्पष्ट रूपमा के बुझ्नपर्छ भने नेतृत्व तह निर्वाचन प्रक्रियाबाट सत्तामा पुगेको हुन्छ । जनताले जति अवधिका लागि 'म्यान्डेट' दिएका हुन्छन् त्यति अवधिको लागि सत्ताको नेतृत्व स्थायी र स्थिर हुनुपर्छ । यी मापदण्डलाई सत्ता साझेदारले 'बटमलाइन' बनाउनुपर्छ ।

नेतृत्व तह, व्यवस्थापन तह र उत्पादन तह गरी तीनै तह मानव समूहबाट बनेका समूह हुन् । मेसिनलाई 'मेथड' भए पुग्छ, तर मानवलाई 'मोटिभेसन' पनि चाहिन्छ । 'मेथड' र 'मोटिभेसन' लाई सँगै हिँडाउने विषय नेतृत्व तहबाट सम्पादन हुनुपर्छ । नेतृत्व तहले मेथड र मोटिभेसनलाई मानव संसाधनमा कुशल रूपमा प्रयोग गर्न नसक्ने हो भने इच्छा, ऊर्जा र समर्पण निष्क्रिय बन्छ । अहिले नेपालमा देखिएको समस्या भनेकै यहींनेर छ । नेतृत्वले व्यवस्थापन र उत्पादन तहका मानव समाधानको जाँगर, जोस र जीवन्तता जगाउन आवश्यक पर्ने सुरक्षा, सुविधा र मर्यादाका विषयमा गहिरिएर सोच्ने, उपाय, विधि र तरिका पहिल्याउने र राज्यसुहाउँदो वैज्ञानिक, व्यवस्थित र प्रशंसनीय प्रबन्ध गर्न सकेको छैन ।

नेतृत्व तहका व्यक्तिले व्यवस्थापन वा उत्पादन तहका व्यक्तिविशेषलाई चिन्ने, राम्रो ठान्ने र प्रोत्साहन गर्ने कार्य भएका छन् । तर टिम र टास्कलाई समयमा, सही तरिकाले समग्रतामा हाँक्न नसकेको अवस्था छ । यही कारणले जनताले अपेक्षा गरेको नतिजा हासिल हुन सकेको छैन । यही आरोपबाट जोगिन नेतृत्व तहबाट व्यवस्थापन तह र उत्पादन तहलाई दोष थुपार्ने कोसिस गरिन्छ । सत्य के हो भने पाउमा पानी खन्याएर शिरको मैलो पखालिँदैन ।

नेपालको व्यव्थापन तह योग्यको समूहबाट बनेको छ । उमेरको हिसाबले जवान बन्दै अघि बढेको छ । योग्यताका दृष्टिले पनि देश विदेशको डिग्री भएकाहरू धेरै छन् । विदेश नघुमेका र नदेखेका त बीउ चाहिए पनि भेट्न सकिँदैन । समावेशी हुँदै गएको छ । तर नेतृत्व तहको परिवर्तन वा गठबन्धनको हेराफेरीले विवाह हुँदा जन्ती भएर रमाउने र विच्छेद हुँदा साक्षी भएर ‌ओइलाउने मनोविज्ञानबाट ग्रसित छ । न यसले आफ्नो मापदण्ड निर्धारण गर्न सकेको छ न त सिर्जनशील भएर जनतालाई छुट्टै पहिचान दिएर प्रशंसा बटुल्न सकेको छ ।

नेतृत्व तहमा एउटा अर्को चरित्र पनि विकास हुँदै गएको छ । त्यो के भने नेतृत्व तहले सत्तामा रहँदा क्राफ्टेडभन्दा ग्राफ्टेडलाई बढी विश्वास गर्छन् । त्यसैले निजी सचिवालय सत्तामा शक्तिशाली भएर सक्रिय हुन्छ । न शपथ, न लोक सेवा पास न जवाफ दिनुपर्ने, तर जिम्मेवारीमा हालीमुहाली गर्न पाइने यो परिपाटीले सबैभन्दा पिरोलिएको तह भनेको व्यवस्थापन तह हो । 'अथोरिटी विदाउट एकाउन्टाबिलिटी' बाट निरन्तर प्रकट हुने चासो र पटकपटक हुने हस्तक्षेपले मुलुकको राज्य संयन्त्र तदर्थको बाटोबाट गुज्रिरहेको छ । यही अस्वाभाविक परिस्थितिले कर्मचारी प्रसन्नतापूर्वक काममा लाग्ने अवस्थाबाट अनिच्छापूर्वकको आज्ञाकारिता व्यहोर्न बाध्य छन् ।

निष्कर्षमा नेतृत्व तह स्वयंले रोल (रेस्पोन्सिबिलिटी र रिसोर्स) लाई रुटिन दिँदा मात्र रिजल्ट निकाल्न सकिन्छ भन्ने विश्वासलाई गहिरो बनाई सत्ता संरचनामा संलग्न हुने संस्कार विकास गर्दै लैजानुपर्छ । यसैगरी व्यवस्थापन र उत्पादन तहलाई पनि रुटिन र रिदम मिलाएर रिजल्ट निकाल्न निरन्तर उत्प्रेरक, निर्देशक र नियन्त्रक भएर नेतृत्व तह लागिरहनु उचित हुन्छ । यसरी अघि बढ्दा सम्भावनाले सजिएर सम्पन्नता पर्खिरहेको प्रत्येक नेपाली नागरिक राष्ट्रनिर्माणमा एकजुट हुनेछन् । लोकतन्त्र, सुशासन, विकास र समृद्धिको यात्रा अकण्टक भइरहनेछ । सम्पन्नता निरन्तर उकालो लागिरहनेछ ।

-अधिकारी पूर्व सहसचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.