चरा पछ्याउँद चिनियाँ पर्यटक
पोखराः प्राकृतिक सुन्दरता, शाहासिक खेल र सांस्कृति विविधताको अध्ययनका लागि नेपाल घुम्न आउने चिनियाँ पर्यटक पछिल्लो समय यहाँका चराका तस्बिर खिच्न लिन पनि आउन थालेका छन् । चराका शौखिन चिनियाँ पर्यटक गएको दुई वर्षदेखि नेपालमा चराका तस्बिर खिच्नका लागि मात्र पनि आउन थालेको चरा गाईड बताउँछन् ।
पछिल्ला दुई वर्षदेखि चराको फोटो खिच्नकै लागि चिनियाँ चरा फोटोग्राफरले नेपाललाई गन्तव्य बनाउन थालेको विगत २६ वर्षदेखि पर्यटकलाई चरा चिनाउँदै आएका चितवन सौराहाका चरा गाईड बासु बिडारीले बताए । चराको तस्बिर खिच्न आउने पर्यटक अन्यत्र ध्यानै दिँदैनन् । ठूलाठूला लेन्ससहितका क्यामेरा बोक्ने चिनियाँ पर्यटक जेका लागि आएको हो त्यही विषयमा ध्यान दिएर फोटो खिच्ने बानी रहेको बिडारीले सुनाए ।
तस्बिर खिच्न र अवलोकनका लागि पर्यटकलाई चितवन, पोखरा, लुम्बिनी र कोसीटप्पु लग्ने गरेको उनले जानकारी दिए । चरा अवलोकनका लागि पर्यटकको प्रमुख गन्तव्य चितवन हो ।
विशेषगरी मांसाहारी जातका चरा अवलोकनका लागि पोखरा विश्व पर्यटन बजारका लागि आकर्षक गन्तव्य बन्दै गएको चरा गाइड बिडारीले बताए । यहाँको रानीवन, काँडे, अस्टे«लियन क्याम्प, विश्वशान्तिप स्तुप, जटायुर रेस्टुरेन्ट, अन्नपूर्ण संरक्षण क्षेत्र र पानी चरा अवलोकनका लागि फेवाताललगायत यहाँका ताल उत्कृष्ट गन्तव्य हुन् ।
चिल, महाचिल, गिद्धलगायतका प्रजातीका चराको अवलोकनका लागि पोखरा मुख्य आकर्षक थल बन्दै गएको छ । सेप्टेम्बर महिनाको पहिलो सातादेखि पोखराको काँडे, अस्टे«लियन क्याम्पका आकासमाथि हुँदै मांसहारी प्रजातीका चरा ठूलो संख्यामा बसाइसराइ गर्ने भएकोले चरा प्रेमी विभिन्न देशका पर्यटक ठूलो संख्यामा अवलोकन र चरा गणनाका लागि जाने गरेको पोखराका चरा गाईड मनशान्त घिमिरेले बताए ।
पछिल्लो समय पोखरा मांसाहारी चराको अवलोकनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय हुँदै गएको उनले सुनाए । चिनियाँ पर्यटकलाई चराका विभिन्न प्रजातीभन्दा पनि विभिन्न रंगका चराले आकर्षण गर्ने घिमिरेको अनुभव छ । नेपालमा आठ सय ७८ प्रजातीका चरा पाइन्छ ।
चराको फोटो खिच्न मन पराउने चिनियाँ पर्यटकको मुख्य गन्तव्य श्रीलंका, कोस्टारिका, अस्टेलिया, नर्वे, स्पेन, इथोपिया हुने गरे पनि पछिल्लो समय नेपाल आकर्षक गन्तव्यका रूपमा चिनियाँ पर्यटक माझ चिनिन थालेको चीनका पर्यटक सिक्यू हाङले बताए ।
चराको तस्बिर खिच्न मनपराउने चिनियाँको संख्या एक करोडभन्दा बढी रहेको उनले सुनाए । उनीहरू कुनै न कुनै बेला चराको तस्बिर खिच्न विदेश निस्कने गर्दछन् । पछिल्लो समय चिनियाँ फोटोग्राफरको रोजाई बन्दै गएको पोखरामा १६ जना चिनियाँ चरा प्रेमी फोटोग्राफरलाई घुमाउन पोखरा आइपुगेका टिम लिडर हाङले बताए ।
चिल, महाचिल, गिद्धलगायतका प्रजातीका चराको अवलोकनका लागि पोखरा मुख्य आकर्षक थल बन्दै गएको छ ।
नेपाल आउने कुल पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा अवलोकनका लागि आउने गरेको चरा गाईड बिडारीले जानकारी दिए । पछिल्लो समयमा चिनियाँ पर्यटक पनि यहाँ चराको तस्बिर खिच्न आकर्षित भएकोले यो संख्या बढ्दै जाने उनले सुनाए ।
लामो समय देखि बेलायती, अमेरिकी, नर्वेली पर्यटकलाई चरा अवलोकन गराउँदै आएका बिडारीले पछिल्लो समय चिनियाँ पर्यटकको आगमन बढेपछि काम भ्याईनभ्याई भएको बताए । नेपालमा चरा अवलोकन गराउने दक्ष चरा गाइडको संख्या १५ देखि २० जनाको हाराहारीमा मात्र रहेको उनले सुनाए ।
ठूलो संख्यामा चरा हेर्न आउने पर्यटकको तुलनामा यो संख्या निकै न्यून रहेको उनले बताए । पछिल्लो समय चरा गाइड व्यवसायप्रति युवायुवतीको आकर्षण बढ्दै गएको उनले सुनाए । कम्तीमा दुई दिनदेखि डेढ महिना लामो समयसम्म चरा हेर्न र तस्बिर खिच्ने पर्यटकले समय खर्चने उनले जानकारी दिए ।