'क'बाट कर्णाली किन भनिन्न ?
काठमाडौं: कर्णाली नेपालको एउटा अंशमात्र होइन, यो विषय हो, साहित्य लेख्नेका लागि, नाटक र चलचित्र बनाउनेका लागि अनि भाषण गर्ने नेताका लागि । यो मागिखाने भाँडो पनि हो, यसैलाई देखाएर डलर भित्र्याउनेका लागि ।
कर्णालीकै विषयमा फेरि एउटा नाटक बनेको छ । कर्णालीको विषयमा बनेका नाटकको संख्या थपिएको छ, तर त्यो ठाउँलाई कुनै असर पुगेको छैन । नरेश भण्डारको पुस्तक चाँदीको घेराको प्रभावबाट जन्मिएको नाटक 'चाँदीको घेरा' यतिबेला नेपाल पर्यटन बोर्डमा मञ्चन भइरहेको छ ।
कर्णालीमा जति कष्ट छ, यसले त्यति नै सम्भावना बोकेको छ । यी विषय नाटकमा नयाँ लाग्दैनन् । तर नाटकले औंला ठड्याएर सिंहदरबारलाई प्रश्न गरेको छ, 'कर्णालीको ३६ वर्ष आयु खोइ ?' यो विषय चित्तबुझ्दो छ ।
काठमाडौंमा बस्ने मानिसको औसत आयु ८२ वर्ष छ, जुन कर्णालीको हकमा ४६ वर्ष मात्र । काठमाडौंवासीभन्दा कर्णालीवासी ३६ वर्ष कम बाँच्छन् । उनीहरूको बाँच्न पाउने अधिकार राज्यले हनन् गरेको छ ।
लेखक नरेशले कलेज पढ्न काठमाडौं आएका बेला आफ्नी आमा गुमाएका थिए । त्यही कुरा उनको पुस्तकमा हुँदै नाटकसम्म समेटिएको छ । एक युवाले थुप्रै सपना देख्छ, सपनामा सम्भावनै सम्भावना देख्छ, तर राजधानी प्रवेश भएसँगै उसका सम्भावनायुक्त सपना हराउँदै जान्छन् । सुन्दरताको मूल्य चिनेर सुनौला सपना दिएर हुर्काएको सन्तानले कर्णालीलाई भुल्दै जान्छ ।
त्यसैले त कर्णालीको नियति सधैं सरकारी चामल र नुनको लाइन भएको छ । कर्णालीकै दुःखमा हुर्किएकाले त राजधानी आउनासाथ चटक्कै माया मार्छन् भने अरूले कर्णालीलाई के गर्न सक्लान् ? थुप्रै नेता जन्माएको कर्णालीलाई आफ्नै सन्तानले चिन्न नसकेको कुरा नाटकमा छ ।
नाटकले कर्णालीका धेरै समस्यालाई गुजुमुज्ज प्रस्तुत गरेको छ । कुनै एउटा कथालाई मात्र खुलेर प्रस्तुत गर्न सकेको भए नाटक अझ प्रभावकारी हुने थियो । कर्णालीको लवजलाई टपक्कै टिप्न सक्नु कलाकारको सबलता हो । नाटक एउटा लेखकको कर्णाली अध्ययनमा केन्द्रित छ ।
उसले कर्णालीलाई आफ्नै हिसाबले पढिरहेको छ र उतारिरहेको छ । लेखकको सपनामा पटकपटक एउटा बालक आउँछ । लेखकले उसलाई 'क'बाट कलम, 'क'बाट कमल लेखेर दिँदा दुवै पटक बालकले त्यो कागज च्यातिदिन्छ । त्यो सपनाले पिरोलिइरहेको लेखकले अन्त्यमा मात्र बालकको चाहना बुझ्छ, जब बालकले सोध्छ, 'कबाट कर्णाली किन भन्नैनौ ?' यो 'कन्सेप्ट' नाटकको सबैभन्दा बलियो पक्ष हो ।
बालक देशको भविष्य हो । उसले कर्णालीलाई चिनाउन खोजेको छ । कर्णालीलाई पहिलो स्थानमा ल्याउन खोजेको छ । लेखकको भूमिकामा राम केएसी देखिएका छन् । नाटकमा टेलिभिजन कार्यक्रमको दृश्यमा पत्रकारको भूमिकामा देखिएका महावीर विश्वकर्मा आफैं पनि सञ्चारकर्मी भएकाले यो चरित्र निकै सुहाएको छ ।
सम्भावना देखाउन नाटकका संवादमा बोलिएका विषयहरू भने केही भारी लाग्छन् । टीकाभक्त जिरेलको परिकल्पना तथा निर्देशनमा बनेको नाटकमा शिवप्रसाद अधिकारी, हेमन्त अर्याल, नीतु पोखरेल, ध्रुवसागर थापा, अमृता खनाललगायतका कलाकारको अभिनय रहेको छ । सद्भावः 'अ ग्लोरी आफ थिएटर'ले प्रस्तुत गरेको नाटक बुधबारसम्म मञ्चन हुनेछ ।