झाडापखालाले गाउँ नै प्रभावित

झाडापखालाले गाउँ नै प्रभावित

राजविराजः  सप्तरीको कोइलाडी गाविस २ मा झाडापखाला फैलिँदा गाउँ नै प्रभावित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार तीन दिनदेखि फैलिएको झाडापखालाले ५० जनाभन्दा बढी बिरामी भएका छन् ।

तीन दिनअघि सामान्य रूपमा देखापरेको झाडापखाला अहिले सिंगो मण्डलबस्तीमा फैलिएको स्थानीयको भनाइ छ । झाडापखालाबाट बिरामी हुनेमा अधिकांश बालबालिका र महिला छन् । सुरुमा बान्ता हुने र पखाला लाग्ने लक्षण देखिएको सर्वसाधारणमा अहिले पेट दुख्ने समस्या थपिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

झाडापखाला अनियन्त्रित भएपछि सर्वसाधारणमा त्रास फैलिएको छ । बिरामीको संख्या बढ्नुका साथै रोकथाम नभएपछि बिरामी सदरमुकाम राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना हुन थालेका छन् ।

अस्पतालमा सत्तोदेवी मण्डल र उनकी छोरी कविता, रासखियादेवी मण्डल, उनकी बुहारी फूलकुमारी र नातिनी मान्सी मण्डल, सोनीदेवी मण्डल, उनकी जेठानी रुबीदेवी र रुबीका छोरा दिलखुस मण्डल, बिनादेवी मण्डल, उनकी दुई वर्षीया छोरी सपना, नन्द दीपाकुमारी र देवर मना मण्डल भर्ना भएका छन् । अन्य चारजना बिरामी उपचारपछि डिस्चार्ज भएको डा. डिकनाथ यादवले बताए ।

सदरमुकाम राजविराज आएका गाउँलेले मंगलबार झाडापखाला अनियन्त्रित भएकाले औषधिसहित चिकित्सकको टोली पठाउन माग गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली औषधिसहित गाउँ पुगेको जनस्वास्थ्य निरीक्षक राजनारायण ठाकुरले बताए । स्लाइन पानीसहित आवश्यक औषधि उपलब्ध गराएको र चारजना स्वास्थ्यकर्मीलाई गाउँमै खटाइएको जनस्वास्थ्य निरीक्षक ठाकुरले बताए ।

गाउँका प्रत्येक परिवारका दुईतीनजना सदस्यमा झाडापखाला देखापरेको पीडितलाई गाउँमै स्लाइनसहित उपचार सुरु गरिएको ठाकुरले बताए । दूषित पानीका कारण झाडापखालाको प्रकोप फैलिएको आशंकामा जनस्वास्थ्यको टोलीले पानीका १२ वटा नमुना परीक्षणका लागि राजविराज ल्याएको छ ।

औषधिसहितको टोली गाउँ पुगे पनि त्यो पर्याप्त हुन नसकेको कोइलाडी २ की रामसखियादेवी मण्डलले बताइन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.