गाउँले र प्रहरीबीच झडप

गाउँले र प्रहरीबीच झडप

गोरखाः गोरखाका एक प्रहरी निरीक्षक गौतम बोहोराले मदिरा पिएर स्थानीय बासिन्दालाई निर्घात कुटपिट गरेका छन् ।

सोमबार राति सवा ११ बजे गोरखाको अँबुवा पुलमा टेलिफोन गरेर बसिरहेका २३ वर्षीय विश्वास बस्नेतलाई कुटपिट गरेपछि पुगेका उनका बुबा ७१ वर्षीय थमनसिंह बस्नेतलाई पनि उनले कुटेका हुन् । घाइते वृद्धको गोरखा अस्पतालमा उपचार भएको छ ।

आफूलाई बक्सिङले नाकमा हानेको र बुटले ढाडमा हानेपछि ढलेर बेहोस भएको बस्नेतले बताए । ‘मेरो छोरालाई किन कुट्नुभएको ? भन्दै घरभित्रबाट आँगनसम्म के पुगेको थिएँ, गाडीबाट झरेर इन्स्पेक्टरसाबले बक्सिङले नाकमा बजाइहाल्नुभयो-, गोरखा अस्पतालको शय्यामा रहेका उनले भने, ‘अनि ढाडमा पनि हान्नुभयो । ढलिहालें ।

रगतको ताल पर्‍यो । म त बेहोस भैहालें । पछि केकेले हाने कुन्नि ? गोली हान् भनेको पनि सुनेको थिएँ ।- आफूलाई कुट्न आउँदा इन्स्पेक्टर रक्सीले मात्तिएर ढलपल भएको र ह्वास्स रक्सी गनाएको उनले बताए । ‘छिःछिःछिः रक्सी ह्वास्सै गनाएको थियो । ज्यान पनि कन्ट्रोलमा थिएन-, उनले भने ।

आफ्नो छोरा र पतिलाई प्रहरीले कुटेको देखेकी मीरा बस्नेतले गुहारगुहार भनेर चिच्याएपछि स्थानीय बासिन्दा धुरिएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरूले प्रहरी इन्स्पेक्टर बोहोरालगायत प्रहरीमाथि हातपातसमेत गरे । थानीयले प्रहरी सवार ना १ झ १३७० नम्बरको भ्यानको सिसासमेत फुटाइदिएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट गस्ती गर्न गएको प्रहरी इन्स्पेक्टर बोहोरा नेतृत्वको टोलीले स्थानीयमाथि कुटपिट गरेको हो । ‘फोन आएपछि मेरो छोरा फोन उठाउँदै बाहिर गएको थियो-, थमनसिंह बस्नेतले भने, ‘यतिबेलासम्म किन फोन गरेर बसेको ? भनेर गाडीबाट झरेर प्रहरीले छोरालाई कुटेछ । छोरो आत्तिँदै, भाग्दै आयो । म ओछ्यानमा पल्टिसकेको थिएँ । अनि म बाहिर निस्कनेबित्तिकै मलाई कुट्यो ।- घटनास्थलमा घर ढलानमा काम गर्ने मजदुर र छिमेकी आइपुगेको उनले बताए ।

दिनभर छिमेकीको घर ढलानमा लखतरान भएका आफ्ना निर्दोष साथीहरूलाई पनि प्रहरीले कुटेको रौतहट बगाहीका मजदुर प्रेमलाल चौरासियाले बताए । छसातजना मजदुरमाथि प्रहरीले हातपात गरेको उनले बताए ।

त्यहाँ धुरिएका स्थानीयले प्रहरी र गाडीमाथि ढुंगामुढा गर्दा इन्स्पेक्टर बोहोरा र प्रहरी जवान टोपबहादुर अधिकारी घाइते भएको र ना १ झ १३७० नम्बरको प्रहरी भ्यानको सिसा फुटेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

आक्रमणमा उत्रिएका छजनालाई पक्राउ गरी जिप्रका ल्याइएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक थापाले छानबिन गर्दा दोषी देखिए प्रहरी निरीक्षक बोहोरामाथि कारबाही हुने बताए । घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै स्थानीयले दिनभर जिप्रकामा धर्ना दिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले इन्स्पेक्टर बोहोरामाथि विभागीय कारबाही गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.