बागमतीको बाढीले सुकुम्बासी बस्ती डुबायो
काठमाडौंः काठमाडौँ महानगरपालिका–३४ सुकुम्बासी बस्तीमा बाग्मतीको पानी पस्दा एक सय परिवार समस्यामा परेका छन् । बागमतीमा पानीको बहाब बढेर सिनामंगल देखी बानेश्वरसम्मका नदी किनारका एक सय घरटहरा भित्र पानी पस्दा सुकुम्बासी बस्ती समस्यामा परेका हुन् ।
बुधबार बिहान १५ वर्ष अघिदेखि शान्तिनगर नजिक बागमती किनारमा बस्दै आएका मुकुन्दबहादुर तामाङ बाढीले महत्वपूर्ण कागजात भिजाएको भन्दै दुःखी भए ।
अन्नपूर्ण पोस्टको सुरक्षा गार्डको रुपमा कार्यरत तामाङले भने, ‘अरु सामानमा क्षति पुगेको भन्दा मलाई कागजात भिजेकोमा साह्रै दुःख लागेको छ ।’
२२ वर्ष भारतीय सैनिकमा काम गरेर अवकास पाएका तामाङले पेन्सनपट्टा र नागरिकता भिजेको सुनाए । ‘यी कागज अब कसरी बनाउने ?’, दुःखी हुँदै तामाङले भने, ‘मध्यरातको बाढीले बिचल्ली बनायो ।’
पवी परियारले समस्या सुनाउदै भने, ‘साना–साना बच्चालाई स्याहार गर्नसमेत हैरान भएको छ ।’ पवीको परिवार घरमा बस्न नमिल्ने भएपछि छिमेकमा बसेको छ ।
बाढीले रामचन्द्र परियारको सिलिन्डर ग्याससमेत बगाएको छ । ‘दाल, चामल भिजेर खान नमिल्ने भयो, अब के खाने ?,’ परियारले भने ।
हरि सुनुवारले बुधबार राति २ बजेदेखि ६ बजेसम्म बाग्मतीले दुःख दिएको बताए । ‘बाढीले सबै सामान काम नलाग्ने भए, को सँग दुःख पोख्ने ?’
सुकुम्बासी बस्तीमा करिब ९ सय भन्दा बढी परिवार बस्छन् । बुधबार बिहान करिब एक सय घरमा बाढी पसेको छ ।