चुनढुंगा उत्खनन पाँच वर्षदेखि बन्द
नरपानी अर्घाखाँचीः अर्घाखाँची सिमेन्टको चुनढंगा उत्खनन् पाँच बर्षदेखि बन्द रहेको छ । कम्पनिले स्थानीयसँग गरेको संझौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै स्थानीयबासीन्दा संघर्षमा उत्रिएपछि उत्खनन कार्य रोकिएको हो ।
चुनढुंगा उत्खनन गर्न सुरु गरेको छ वर्षमा पानीको मुहान सुकेपछि गाउँलेहरु आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले भने उत्खनन गरेको स्टक सामान लैजान पाउनु पर्ने दाबी गरेका छन् । चुनढुंगा उत्खननको विषयमा टुंगो लागेको छैन ।
चुन ढुङगा उत्खननका कारण खानेपानीका मुहान सुकेको र वातावरणिय क्षती भएको भन्दै स्थानीय बासिन्दाहरुले २०६८ कातिक २० गते देखि नरपानीमा संचालित चुन ढुङगा उत्खननको कामकाज पुर्ण रुपमा ठप्प पारेको थियो ।
अर्घाखाँची सिमेन्ट प्रालीले स्थानीय सडक निमार्ण ,सडकको स्तर वृद्घि ,पानीका मुहानको संरक्षण, वृक्षारोपण , दुर्घटना न्यूनिकरण योजना ,शैक्षिक चेतनाका कार्यक्रम संचालन गर्नुका साथै नयाँ उद्योग स्थापनामा स्थानीय बासीन्दालाई कामदारको रुपमा नियुक्ति गर्ने सम्झौता भएपनि हालसम्म कुनै कुरा कार्यान्वयन हुन नसकेको स्थानीयको आरोप छ ।
कम्पनीको भौतिक संरचना निर्माणको काम अवरुद्ध भएको छ । स्थानीय बासिन्दाहरुले नरपानीमा प्रर्दशन, विरोध सभा, रिले अनसन लगायतका कार्यक्रम थालेका छन् ।
स्थानीय प्रशासनको पहलमा चुनढुंगाको बिषयलाई लिएर पटक पटक बार्ता , छलफल र अन्तरकृया भए पनि सहमति हुन सकेको छैन । सरकारले ३० वर्षसम्म चुनढुंगा उत्खनन गर्न डाईनेष्टिक कम्पनी हालको अर्घाखाची सिमेन्ट प्रालीलाई अनुमति दिएको थियो । उत्खनन कार्यको ६ वर्षभित्रै एकाएक खानेपानीका मुहान सुकेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
प्राबिधिक रिपोर्ट अनुसार चुनढुंगा उत्खननले पानीको मुहान नसुकेको र पानीको व्यवस्था गर्न कम्पनी तयार रहेको अर्घाखाँची सिमेन्ट प्रालीका महा प्रबन्धक महेन्द्र रावलले बताए । कम्पनिले सहमति अनुसार काम गर्छौ भन्दा पनि स्थानीयले नमानेको रावलको भनाई छ ।
चुनढुंगा उत्खनन गरेर कम्पनीलाई मात्रै सिमित फाईदा भन्दा सिंगो गाउँ र जिल्लालाई जोगाउनुपर्ने स्थानीयको भनाई छ । पहाड मासिए केही वर्षमै मरुभुमी बन्ने र नरपानी लगायत आसपासका वासिन्दा विस्थापित हुने भएपछि उत्खनन कार्य सधैका लागि बन्द गर्नुपर्ने स्थानीयको माग छ ।
चुनढुंगा उत्खननले खानेपानीका मुहान सुकेको कारण सरकारले यसलाई रोकी सो कम्पनीको लाईसेन्स खारेज गर्नु पर्ने स्थानीय सुर्य भट्टराइले बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने राज्यले सबै क्षेत्रको सुरक्षा गर्नु पर्ने बताउँदै सर्व पक्षिय बैठक र स्थानीयको सहमति अनुसार काम गर्नका लागि पहल गर्ने बताएको छ ।