मोबाइल बजारमा मिड सेग्मेन्ट लोकप्रिय
काठमाडौः नेपालमा कुल मोबाइल बजारको ५० प्रतिशत मिड सेग्मेन्टको स्मार्टफोनले ओगटेको छ । ३० हजार रुपैयाँभन्दा तल, १५ हजार रुपैयाँभन्दा माथिको स्मार्टफोनले अहिले नेपालमा ठूलो बजार लिएको छ । यो बढ्दो क्रममा छ ।
नेपालमा मात्र नभएर विश्व स्मार्टफोनको बजारमा पनि यसले ठूलो स्थान ओगट्दै गएको हुवावे मोबाइलका बजार व्यवस्थापक सुमित प्रधानांगले बताए । उनका अनुसार नेपालको बजार नै मिड सेग्मेन्टका स्मार्टफोनको रहेको छ, यहाँ बिक्री हुने स्मार्टफोन भनेकै मिड सेग्मेन्टका हुन् ।
उनका अनुसार अबको एकदेखि दुई वर्षको अन्तरालमा नेपालमा बारफोन छोडेर स्मार्टफोन बोक्नेमात्र हुनेछन् । त्यसमा पनि मिड सेग्मेन्टका स्मार्टफोनमा बढी मानिस तानिनेछन् । उनका अनुसार हुवावेले नेपालमा छोटो समयमा पाएको सफलता पनि मिडसेग्मेन्टका स्मार्टफोनकै कारण हो ।
हाई रेन्जका स्मार्टफोनको बजार नेपालमा झिनो छ भने इन्ट्री लेबल सेग्मेन्टका स्मार्टफोनले पनि खासै बजार लिन नसकेको उनको भनाइ छ । सामसुङको कुल बजारको दुइतिहाइ बजार मिड सेग्मेन्टको स्मार्टफोनले ओगटेको सामसुङ नेपाल ह्यान्ड ह्यान्डलिङ प्रोडक्ट विभागका विभागीय प्रमुख प्रणयरत्न स्थापित बताउँछन् ।
उनका अनुसार पछिल्लो समय नेपालमा चिनियाँ ब्रान्डका स्मार्टफोन भित्रिनुले पनि मिड रेन्जका स्मार्टफोनको बजारलाई मद्दत पुगको हो । चिनियाँ ब्रान्डले नेपालमा विशेष गरी मिड रेन्जलाई प्राथमिकता दिएर स्मार्टफोन भित्र्याएका स्थापितको भनाइ छ ।
नेपालमा हरेका वर्ष मोबाइलको व्यापार अघिल्लो वर्षको तुलनामा दोब्बर बढ्ने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १८ अर्ब १९ करोड ७६ लाख रुपैयाँबराबरका ४९ लाख ९० हजार नौ सय ४२ वटा मोबाइल सेट भित्रिएका थिए, जुन २०७१/७२ को तुलनामा झन्डै दोब्बर हो । आर्थिक वर्ष २०७१/७२ मा १३ अर्ब चार करोड मूल्यका ३८ लाख ९१ हजार ६ सय २० मोबाइल आयात भएका थिए ।
मोबाइल व्यापारमा देखिएको यो फड्को मिड सेग्मेन्टका स्मार्टफोनकै कारण भएको प्रिज्म टेक्नोलोजी प्रालिका निर्देशक विकास शाह बताउँछन् । उनका अनुसार मिड सेग्मेन्टको स्मार्टफोनले नेपाली मोबाइल बजारको आधा हिसा ओगटेको छ ।
मिड सेग्मेन्टका स्मार्टफोन नल्याउने कम्पनीलाई बजारमा आफ्नो स्थान बनाउन समेत गाह्रो परेको छ । नेपालमा हाइरेन्जका स्मार्टफोनमात्र भित्र्याउने कम्पनीमा आइफोन र वान प्लसमात्र छन् । सामसुङ, हुवावे, जियोनीलगायतका कम्पनीले मिड सेग्मेन्टका स्मार्टफोन बजारमा ल्याएका छन् ।