अप्रत्यक्ष युद्ध बन्द गरः ओबामा
संयुक्त राष्ट्रसंघः अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार अपत्यक्ष युद्धमा संलग्न राष्ट्रहरूलाई युद्ध बन्द गर्न आग्रह गरेका छन् । सहअस्तित्वको सिद्धान्त स्वीकार नगरेर कट्टरपन्थीलाई सहयोग जारी राखे असंख्य व्यक्ति पीडित हुने र आतंकवाद अरू मुलुकमा पनि फैलने उनले चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राष्ट्रसंघकको महासभामा उनको यो अन्तिम सम्बोधन हो । उनले कट्टरपन्थी र साम्प्रदायिक हिंसाका कारण पश्चिम एसिया अशान्त भएको बताउँदै यसलाई रोक्न नसकिने धारण व्यक्त गरे । ओबामाले अप्रत्यक्ष रूपमा युद्धमा सहभागी राष्ट्रहरूलाई यस्तो काम बन्द गर्न आग्रह गरे । सहअस्तित्व स्विकार्न नसक्ने मुलुकहरू एक दिन आतंकवादीबाट ध्वस्त हुने उनको भनाइ थियो ।
त्यस बेला आतंकवाद त्यस्ता मुलुकको हातबाट बाहिर गइसकेको हुने र थुप्रै व्यक्ति पीडित हुने उनको कथन छ । अर्काको अस्तित्व स्विकार्न नसक्दा आतंकवादको ज्वालामा अँगार हुनु कसैका लागि हित नहुने उनको दाबी थियो
सिरियाको द्वन्द्व अन्त्य गर्न मुनको आह्वान
संयुक्त राष्ट्रसंघका महासचवि वान की मुनले सिरियाको द्वन्द्व अन्त्य गर्न र पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गरेका छन् ।
राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै महासचिव मुनले मंगलबार यी दुई विषयलाई यस वर्षभरी महत्व दिन आग्रह गरेका हुन् । विश्वभर हिंसा रोक्न आह्वान गर्दै उनले भने, ‘सबैका लागि मेरो स्पष्ट सन्देश यो छ कि, तपाईंका जनतालाई बचाउनुस्, लोकतन्त्रलाई खतरामा नपार्नुस्, स्रोतसाधनको अत्यधिक दोहन नगर्नुस्, आलोचकलाई थुन्ने तथा पीडा दिने नगर्नुस् ।’
मुनले सिरियाली सरकारले आफ्नै नागरिकको हत्या गरिरहेको जिकिर गर्दै तत्काल युद्ध रोक्न अपिल गरे । उनले जलवायु परिवर्तनका बारेमा हेलचक्र्याइँ गर्न अब समय बाँकी नभएको भन्दै यस वर्ष पेरिस सम्झौतालाई कडाइका साथ व्यवहारमा उतार्न पनि आग्रह गरे । महासचिव मुनले २६ ओटा देशले मात्रै जलवायुका बारेमा सम्झौताअनुसारको काम गर्ने प्रयास गरेको जानकारी दिएका छन् ।
उत्तर कोरियाले शृंखलाबद्ध तरिकाले परमाणु बम परीक्षण गरिरहेको कार्यप्रति लक्षित गर्दै उनले आफ्नो बाटो परिवर्तन गर्न उत्तर कोरियालाई आग्रह गरे ।
त्यस अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका साझा मुद्दाहरूमा सबै राष्ट्रलाई एकजुट हुन अपिल गर्दै संरक्षणवाद र अलगवादलाई त्यागी समान साझेदारीको भूमिका निर्वाह गर्न पनि आह्वान गरे । उनले शरणार्थी समस्या पनि विश्वका धेरै राष्ट्रको चुनौतीका रूपमा रहेकाले शरणार्थीका लागि सहयोगी हातअघि बढ्नुपर्नेमा जोड दिए ।
बेलायतकी प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट छुट्टिँदैमा बेलायतलाई अर्कैतिर फर्केको रूपमा नबुझ्न पनि आग्रह गरिन् । उनले अहिले विश्वव्यापी रूपमा बेलायत अझ आत्मविश्वासी, दह्रो र स्वतन्त्र भएको बताइन् । महासभामा अन्य देशका नेताले पनि सम्बोधन गरेका थिए । अमेरिकाको न्युयोर्कमा महासभा भइरहेको छ । हरेक वर्ष हुने महासभामा विश्वभरका सरकारका प्रतिनिधि सहभागी हुने गर्दछन् । रासस/एएफपी/सिन्ह्वा