गोरखाको केरौजामा पहिरोमा पुरिएर चार जनाको मृत्यु
गोरखाः गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ ।
केरौँजा ९ दोभाने भन्ने ठाउँमा बुढीगण्डकीको माथिबाट खसेका पहिरोमा पुरिएर एक विदेशीसहित चार जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर गाइड काठमाडौँ गोकर्ण बस्ने ३५ वर्षका दोर्जे लामा र सोही स्थानका ३० वर्षका छिरी शेर्षा र क्यान नेपालकी प्रतिनिधि ओखलढुंगाकी रञ्जना बस्नेतको मृत्यु भएको एसपी जनकराज पाण्डेले जानकारी दिए ।
पहिरोमा पुरिएर मृत्यु हुने एक स्पेनिश नागरिक भएको बताइएको भए पनि उनको सनाखत हुन सकेको छैन ।
पहिरोमा पुरिएर गम्भीर घाइते ६ जनालाई फिस्टेल एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।
चार विदेशी र दुई नेपाली गम्भीर घाइते भएका छन् । पहिरो अहिले पनि चलिराखेको छ । जगत् र माछाखोला प्रहरी चौकीका प्रहरी र स्थानीयवासिन्दाले पहिरोमा पुरिएका पैदलयात्रीको उद्धार कार्य जारी राखेका छन् ।