उद्योग बेच्न हतार

उद्योग बेच्न हतार

प्रजातन्त्र एउटा खुला र सहभागीमूलक शासन व्यवस्था हो, जहाँ शासन पारदर्शी र जवाफदेही हुने अपेक्षा गरिन्छ । पछिल्ला यी दुई 'फ्याक्टर' ले अनियमितता र भ्रष्टाचारलाई हतोत्साहित गर्छन् । तर नेता बढी महत्त्वाकांक्षी अनि बहुमतको संसद् नेताप्रति बढी र नियमप्रति कम बफादार हुने गरेमा बहुमतको बलमा भ्रष्टाचार सहज हुन जान्छ । त्यति मात्र हैन, त्यसले थप अनुमोदन पनि पाउँछ ।

२०४७ सालको संविधानअन्तर्गत निर्वाचित पहिलो प्रतिनिधिसभामा नेपाली कांग्रेसको स्पष्ट बहुमत र गिरिजाप्रसाद कोइरालाको दरिलो नेतृत्व भएको बेला संसद्ले लाचारी प्रदर्शन गर्‌यो । सरकारका अनियमित काममा हस्तक्षेप गरेन । त्यही मौनताबाट फाइदा उठाएर कोइराला सरकारले मुलुकको अर्थतन्त्र र स्वरोजगारमा महत्त्वपूर्ण योगदान पुर्‌याएका केही उद्योगहरू अपारदर्शी तरिकाले निजी व्यवसायीहरूलाई बेच्यो । तीमध्ये बाँसबारी छाला जुत्ता कारखाना एकजना भारतीयले हात पारे ।
त्यसको असर मुलुकले अहिलेसम्म भोग्दैछ, तर त्यसलाई सरकारको उच्चतम् तहबाट भएको नीतिगत र अन्य भ्रष्टाचारका रूप लिइन्छ, अहिलेसम्म पनि । तर दुर्भाग्य, अहिलेसम्म पनि सरकार र खासगरी उद्योगमन्त्रीहरू 'व्यापारी' शैलीमा एकपछि अर्को सरकारी स्वामित्वमा रहेका उद्योगहरू बेच्न हतारिएका छन् । यसको पछिल्लो उदाहरण वर्तमान उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रस्तुत गरेका छन्, असोज २ को मन्त्रिपरिषद्मा केही उद्योगहरू बेच्न स्वीकृति खोजेर ।

प्राप्त सूचनाअनुसार यो विषयमा नीति र साझा धारणा बनाउन अर्थ तथा कानुन मन्त्रालयको समेत राय आवश्यक भएकाले थप गृहकार्यको लागि मुख्य सचिवले त्यो प्रस्तावमा रोक लगाए, तत्कालको लागि । तर मन्त्री या उनको दलमा राष्ट्रहितबाहेक अरू कुनै स्वार्थ जोडिएको छ भने ०४७ को उद्योग व्यापार बेचबिखनको पुनरावृत्ति रोक्न कठिन हुनेछ । बेचबिखनको यो प्रयास नवीन्द्रराज जोशीपूर्व एमालेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पनि गरेका थिए, पूर्ववर्ती केपी ओली सरकारमा ।

चीनद्वारा निर्मित (अनुदानमा) भृकुटी कागज उद्योग, सरकारको अनुदानमा निर्मित बाँसबारी छाला उद्योग र क्रमशः ०४७ यता राजनीतिक हस्तक्षेपबाट धराशयी बन्न गएको जनकपुर चुरोट कारखाना, उदयपुर सिमेन्ट आदि सबै राजनीतिज्ञ र मन्त्रीहरूको वक्रदृष्टिमा परेका छन् । राजनीतिक हस्तक्षेपकै कारण कुनै समय दक्ष र उच्चस्तरीय सेवा दिन सफल नेपाल वायु सेवा निगम उँधो लाग्दैछ प्रतिदिन । के यी सबै राजनीतिक हस्तक्षेप उद्योगहरू निजी घरानालाई बेच्न रिहर्सल त हैनन् ?

यस्ता 'डिल' र नीतिगत निर्णय अपारदर्शी शैलीमा पक्कै पनि लिइनु हुन्न । अझ सम्बन्धित मन्त्रालयहरूबाट र अशुभ लाभको नियतबाट निर्देशित राजनीतिज्ञहरूको छायाबाट टाढा, नीतिगत स्पष्टता परिभाषित हुनु आवश्यक छ यस्ता बेचबिखनबारे । नाफामा पल्केका मन्त्रीहरू भोलि बढी नाफा पाइने उद्योग र सार्वजनिक प्रतिष्ठान, निगम बेच्न उद्यत् हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.