व्यावसायिक फेसन डिजाइनिङ र मोडलिङको प्रयास

व्यावसायिक फेसन डिजाइनिङ र मोडलिङको प्रयास

भक्तपुरः फेसन डिजाइनिङ तथा मोडलिङलाई व्यावसायिक एवं पेसाका रूपमा विकास गर्ने उद्देश्यले भक्तपुरमा चार वर्ष अघिदेखि निरन्तर रूपमा राफल स्नाफल फेसन सो हुँदै आएको छ । यस वर्ष राफल स्नाफलको सिजन फोर शुक्रबार भक्तपुरमा हुँदैछ ।

राफल इन्स्टिच्युट अफ फेसन एन्ड आर्ट (रिफा फेसन स्कुल)ले गर्ने यस फेसन सोको सम्पूर्ण तयारी पूरा भएको रिफाका संयोजक एलेक्स वासुकलाले जानकारी दिए । उनका अनुसार फेसन सोमा १९ जना फेसन डिजाइनरले तयार गरेका पोसाकहरू आठवटा सिक्वेन्समा प्रस्तुत गर्नेछन् ।

रिफाका कार्यकारी निर्देशक रमेश दुवालले उक्त फेसन सोमा काठमाडौं उपत्यकासँगै काभ्रे, चितवन र मोरङका २० जना मोडलहरूले र्‌याम्प नाप्ने जानकारी दिए ।

राफल स्नाफल फेसन सोको कोरियोग्राफरमा भुवनभक्त मुनंकर्मी र फेसन स्टाइलमा रोजन श्रेष्ठ छन् । त्यस्तै मोडलहरूको शृंगार तथा केस सज्जा भने कृष्णा त्यातले गर्नेछिन् ।

भक्तपुर नगरपालिका-१४, राममन्दिरस्थित टुरिजम मार्केटको तलेजु ब्यांक्वेटमा हुने फेसन सोको लागि कोरियोग्राफर र मोडलहरूले एक महिना अघिदेखि अभ्यास गर्दै आएका छन् । त्यस्तै १९ जना फेसन डिजाइनरले तीन महिना अघिदेखि आफ्नो डिजाइन, त्यसको थिम तथा तयारी, इन्स्पिरेसन लगायतबारे तयारी गर्दै आएका छन् । उनीहरूले आआफ्नो सिक्वेन्स अनुसारको दसदसवटा डिजाइनका लुगासमेत तयार गरिसकेका छन् । जुन डिजाइनका लुगामा मोडलहरूले फोटो सुटसमेत गराइसकेका छन् ।

फेसन सोमा प्रस्तुत हुने आठवटा सिक्वेन्सबारे यहाँ छोटो चर्चा गरिएको छ ।

पहिलोः प्रतिशोध अधिकारी र सुनीता बाटीले बर्ड थिममा एभान्गार्ड डिजाइनमा पोसाक तयार गरेका छन् । तर, उनीहरूले तयार गरेको पोसाक विशेष फोटो सुटका लागि मात्रै हो । यी लुगा दसदेखि २५ हजार रुपैयाँसम्म पर्ने प्रतिशोध र सुनीता बताउँछन् । 'सकेसम्म हाम्रो सिर्जनशीलता यसमा पोखेका छौं', उनीहरूले भने, 'बर्निङ फिनिक्स, चराको पखेटा तथा प्वाँखको प्याच वर्क गरेका छौं । हातले नै सबैजसो डिजाइनका काम गरेका छौं ।'

दोस्रोः प्रकृतिप्रधान र देवलक्ष्मी श्रेष्ठले पुतली थिममा इम्ब्रोइडरी तथा प्रिन्टस्को प्रयोग गरी क्याजुअल लुगा तयार गरेका छन् । उनीहरूको लुगा वनपिस छन् । विभिन्न रंगमा बनाइएका यी लुगा जाडोयामलाई लक्ष्य गरेर डिजाइन गरिएको उनीहरूले सुनाए । मध्यम वर्गलाई लक्षित गरी बनाइएका उनीहरूका लुगाको बजारमूल्य आठ सयदेखि चार हजार रुपैयाँसम्म रहेको छ ।

तेस्रोः गीता मूलगठी र प्रमिना सुवालले इन्सेक्ट थिममा क्याजुअल वान पिस डिजाइनका लुगा तयार गरेका छन् । दस जोड दुई पढिरहेका तथा कामकाजी युवतीहरूलाई लक्षित गरेर लुगाको डिजाइन गरिएको उनीहरू बताउँछन् । उनीहरूको डिजाइनमा छाला र लाइक्रा प्रयोग गरी प्याच वर्क, इम्ब्रोइडरी गरिएको छ । उनीहरूका अनुसार सिंगो माहुरी, बिच्छी, फट्यांग्रा आकारको लुगासमेत उनीहरूको डिजाइनमा परेका छन् । त्यसैले यो डिजाइनका लुगा बजारमा आए महँगो पर्ने उनीहरूले बताए ।

चौथोः दामिनी लामा र सायरा राजथलाले नेपाली मौलिकतामा क्याजुअल वेयर डिजाइनमा लुगा तयार गरेका छन् । नेपाली ढाकाको कपडामा उनीहरूले अविवाहित युवतीहरूलाई लक्षित गरेर वन पिस लुगा तयार गरेका हुन् । उनीहरूले तयार गरेको लुगा बजारमा तीनदेखि पाँच हजार रुपैयाँसम्म पर्छ । नेपाली ढाका लुगा भए पनि आधुनिक डिजाइन भएकाले अहिलेका युवतीले उक्त लुगा मन पराउने उनीहरूको दाबी थियो ।

पाँचौं: पूजन श्रेष्ठ र विनीता श्रेष्ठले नेवारी थिममा परम्परागत पोसाकलाई आधुनिकीकरण गरिएको डिजाइनमा लुगा तयार गरेका छन् । उनीहरूले घरबुना कपडासँगै हाकुपटासी, नागबेली नु, जापानी सुती, लेसमा मन्दिर आकार आउने गरी प्यात्च वर्क गरेका छन्, जुन लुगा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म पर्ने उनीहरूले सुनाए । कुमारीको चित्रसँगै थ्रीडी इफेक्ट गरिएका यी लुगाहरू विशेष गरी पार्टीभोज, सेमिनारमा लगाउन सकिने उनीहरू बताउँछन् ।

छैटौं: अनु शिल्पकार, करुणा मानन्धर, ईश्वरी श्रेष्ठ र रीतु मानन्धरले ब्राइडल (दुलही) थिममा दुलहीलाई उपयुक्त डिजाइनका लुगा तयार गरेका छन् । उनीहरूले लेहेंगा, ब्लाउज र सललाई आफ्नो डिजाइनमा समावेश गरेका छन् । रातो, गुलाबी, सुन्तला, भ्यान्टा रङमा विभिन्न देशका बेहुलीले लाउने लुगाको डिजाइन आफूहरूले गरेको उनीहरू बताउँछन् । 'यी लुगामा प्यात्च, स्टोन, लेस, इम्ब्रोइडरी वर्क सबै हातैले गरेका छौं । त्यसैले यो अरूभन्दा आकर्षक र महँगो पनि छ', उनीहरूले एकै स्वरमा भने ।

सातौं: राधिका धोजू, रजनी प्रजापति र ज्योति निरौलाले एसिया थिममा एसियाली देशका महिलाले लाउने पोसाकको डिजाइन तयार गरेका छन् । उनीहरूका अनुसार एसियाका दस देशका महिलाले राति लगाउने फरकफरक डिजाइनका वन पिस लुगा तयार गरिएको हो । 'आफ्नो परम्परासँगै आधुनिकता मन पराउने महिलालाई लक्षित गरेर लुगाको डिजाइन तयार गरेका छौं', उनीहरूले भने ।

आठौं: अनिता तामाङ र एलिना चवालले डिज्ने प्रिन्सेस थिममा हाइक्लास पार्टी गाउन डिजाइनका लुगा तयार गरेका छन् । उनीहरूले आफूलाई राजकुमारीको रूपमा देखाउन चाहने युवतीहरूले आफूहरूको मोडलको लुगा लगाउनसक्ने बताउँछन् । 'आफूलाई साँच्चिकै राजकुमारी भनी देखाउन चाहनेले हाम्रो डिजाइनको लुगा लगाउन सक्छन्', अनीता र एलिनाले भने, 'हामीले तयार गरेको लुगा लगाउँदा राजकुमारी नै देखिएको अनुभूति हुन्छ ।' मध्यम वर्ग लक्षित यो डिजाइनको लुगा बजारमा सातआठ हजार रुपैयाँसम्म पर्ने उनीहरूले सुनाए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.