अमेरिकाको सार्लोटमा संकटकाल
वासिङटनः संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाट महानगरमा जातीय रंगभेद भड्एिपछि संकटकाल घोषणा गरिएको छ । रंगभेदले उत्पन्न भएको व्यापक हुलदंगा र अनियन्त्रित हिंसाका कारण संकटकाल घोषणा गरिएको हो ।
गत मंगलबार अश्वेत एक व्यक्ति प्रहरीको कारबाहीमा मरणासन्न हुने गरी सख्त घाइते भएका थिए । त्यसलगत्तै उनको मृत्यु भएको थियो । हजारौंको संख्यामा अश्वेत वर्णका स्थानीय बासिन्दा भेला भई गोरा वर्णका जनसमुदायविरुद्ध दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेका थिए । व्यापक हिंसा भड्किएका कारण संकटकाल घोषणा गर्नुपरेको नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्रोरीले स्पष्ट पारेका छन् ।
संकटकाल लागू भएपछि अराजक स्थिति उत्पन्न हुन नदिन स्थानीय कानुनबमोजिम सुरक्षा व्यवस्था कडा पारिएको छ । सार्कोटमा अहिले ठूलो संख्यामा नेसनल गार्ड र हाइवे प्याट्रोल फोर्सका सुरक्षाकर्मी तैनाथ गरिएका छन् । प्रहरीले हिंसा फैलाएको आरोपमा ४४ जनालाई पक्राउ गरेको छ ।
नर्थ क्यारोलिना प्रहरीले शंकास्पद आतंकवादीको खोजी गर्ने क्रममा सार्लोटको एउटा स्थानीय अपार्टमेन्टको गाडी पार्किङ स्थलमा मंगलबार ४३ वर्षीय अश्वेत किथ लामोन्ट स्कट र प्रहरीबीच भिडन्त भएको थियो । त्यसको केही समयपछि स्कटको मृत्यु भएको थियो ।त्यसकै विरोधमा आयोजन गरिएको शोकसभाले प्रदर्शनीको रूप लिएको हो ।
अफ्रिकी मूलका अमेरिकी स्कट मारिएको खबर फैलिएपछि घटनाले उग्र रूप लिएको थियो । हजारौंंको संख्यामा स्थानीय बासिन्दा र अन्य राज्यबाट समेत अश्वेत वर्णका जनता सार्लोटमा भेला भएका थिए । उनीहरूले गोरा वर्णका जनसमुदाय र प्रहरीविरुद्ध जथाभावी ढुंगामुढा र गोलीसमेत प्रहार गरेका थिए । दुई दिनसम्म लगातार विरोध प्रदर्शन भएको थियो ।
यस घटनाले क्यारोलिनामा शान्ति सुरक्षा र विधिका शासन कायम राख्न संकटकाल घोषणा गरिएको बताइएको छ । गोली प्रहार गर्ने प्रहरी अधिकारी पनि अश्वेत वर्णका भएको भन्दै प्रहरीले यो घटनामा गोराको कुनै भूमिका नभएको दाबी गरेको छ ।
संकटकाल लागू गरिएपछि स्थिति केही नियन्त्रणमा आएको छ । तर हिंसा भड्किएमा कफ्र्यु समेत लगाइन सकिने गभर्नर प्याट म्याक्रोरीले जानकारी दिएका छन् । यसैगरी सार्लोट महानगरकी मेयर जेनिफर रोबर्टस्ले स्थानीय बासिन्दालाई घरमै बसिरहन आग्रह गरेकी छन् । मानिसलाई बाहिर निस्कने अत्यावश्यक काम परेपनि दंगाग्रस्त क्षेत्रमा प्रवेश नगर्न टेलिभिजनमार्फत आह्वान गरेकी छन् ।
प्रदर्शनका क्रममा सार्लोटका अधिकारीले उनी प्रहरीको गोलीबाट घाइते नभएको दाबी गरेका थिए । अधिकारीहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए । त्यसलगत्तै त्यहाँका अधिकारीले स्कट घाइते भएको र तिनलाई आइसियुमा राखिएको जानकारी दिएका थिए । यस्ता विवादास्पद भनाइ आएपछि प्रदर्शनकारी थप आक्रोशित भएका थिए । उनीहरूले मंगलबार भएको गोली काण्डको भिडियो फुटेज समेत देखाउन माग गरेका थिए ।
उक्त घटनाको भिडियो फुटेज देखाउन गर्न सम्बद्ध अधिकारीले अस्वीकार गरेका थिए । घटनामा परस्पर विरोधाभासी बयान आएको र भिडियो फुटेज सार्वजनिक गर्न नमानेपछि प्रदर्शन उग्र भएको थियो ।
प्रहरीले आफूले पटक पटक चेतावनी दिएपछि पनि स्कटले बन्दुक ताकिरहेको दाबी गर्दै आएको छ । प्रहरीले अरू व्यक्तिलाई पक्राउ पुर्जी लिएर गएका बेला स्कट हाते बन्दुक लिएर कारबाट बाहिर निस्केको दाबी गर्दै आएको छ । मृतकका छिमेकीले भने स्कटको हातमा बन्दुक नभएको बताएका छन् ।
उनीसँग किताब हातमा रहेको र उनी छोरालाई लिन स्कुल बस पर्खेर बसेका बेला प्रहरीको गोलीबाट मारिएको आरोप छिमेकीको छ । यो सातामा मात्रै स्कटसमेत तीनजना अश्वेत व्यक्तिको मृत्यु भएको छ ।