सेनाको ब्यारेकबाट हराएको एसएमजी राइफल गोलीसहित जंगल भेटियो
धनगढी: नेपाली सेनाको सुदूरपश्चिम पृतनाको कोतबाट हराएको हतियार शुक्रबार विहान फेला परेको छ । दिपायल सिलगढी नगरपालिकामा पर्ने बनमा गोली सहित प्लाष्टिकमा बेरेर राखेको अवस्थामा हतियार फेला परेको हो ।
नेपाली सेनाको गरुड दल गणको जिम्मामा रहेको सर्ट मेसिन गन (एसएमजी) र त्यसको २८८ थान गोली गत साउन २१ गते हराएको पत्ता लागेको थियो । शुक्रबार विहान, सेनाले यसअघि पनि चेक गरिसकेकै स्थानमा हतियार फेला परेको सैनिक स्रोतले जनाएको छ ।
नेपाली सेनाले तालिम गर्ने, राजपुर नजिकैको बन क्षेत्रमा सेतो पोलिथिनमा ढुंगामुनी लुकाईराखेको अवस्थामा हतियार फेला परेको स्रोतले जनाएको छ । तर नेपाली सेनाको सुदूरपश्चिम पृतनाले भने यसको पुष्टि गरेको छैन ।
हराएको हतियारको खोजबिन तथा अनुसन्धानका लागि असोज ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक टोली पनि दिपायल बोलाइएको थियो । नेपाली सेनाको आग्रहमा एकजना एसएसपी र दुई जना डिएसपी सहितको सिआइबीको टोलीले पनि हतियार हराएको बारे अनुसन्धान गरिरहेको थियो ।
हतियार हराए पछि नेपाली सेनाले, शैनिक जवानहरुलाई मानसिक र शारिरिक यातना दिएका चर्चाहरु पनि बाहिर आएका थिए । त्यसपछि भदौं २२ गते पृतना पुगेको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीलाई पनि हिरासतमा राखिएका शैनिक जवानहरुसँग भेटघाट गर्न नदिएपछि सेनाको आलोचना समेत भएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका मानवअधिकार अधिकृत पवनकुमार भट्ट नेतृत्वको टोली भदौ २२ गतेदेखि २४ गतेसम्म दिपायलमै बसेपनि उक्त टोलीलाई यातना दिईएका भनिएका जवानहरुसँग भेटघाट गर्न नदिईएपछि टोली फर्केको थियो ।नेपाली सेनाले हतियार र गोलीहरु हराएको घटना सत्य भएको बाहेक यस घटनामा अरु कुनै कुरा पनि सार्वजनिक गरेको छैन ।