कर्मचारीलाई बाहिर निकालेर एकाविहानै भत्काइयो ‘रेडियो धादिङ’को भवन
धादिङः धादिङमा सञ्चालनमा रहेको रेडियो धादिङको भवन भत्काइएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वन रक्षकहरुसहित शुक्रवबार बिहान ४ बजेतिर गएको जिल्ला वन कार्यलयको टोलीले डोजर प्रयोग गरी रेडियोको भवन भत्काएको हो।
टोलीले भवन भत्काउनुका साथै प्रशारणमा रहेको स्टुडियो समेत कामै नलाग्ने गरी ध्वस्त बनाइदिएका छन्। सामुदायिक वन अतिक्रमण गरी बनाइएको भनेर पटक–पटक भवन खाली गराउन गरिएको लिखित पत्राचारलाई अटेर गरिएपछि बाध्य भएर भवन भत्काउनु परेको जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले जानकारी दिए।
रेडियोभित्रै रहेका ४ जना रेडियोकर्मीहरुलाई हातपात गरी जवरजस्ती बाहिर निकालेर भवन भत्काइएको रेडियो धादिङका पत्रकार शंकर श्रेष्ठले जानकारी दिए। उनले भने,‘एक्कासी राति ४ बजेतिर प्रहरीहरु आएर सवैजना बाहिर निस्केर भवन खाली गर भनेर तथानाम गाली गर्न थाले, स्टेशन म्यानेजरलाई फोन गरेर जानकारी गराउन लाग्दा पनि फोन खोसियो, हामीलाई जवरजस्ती बाहिर निकालेर स्टुडियोमा रहेका कम्प्युटर, मिक्चर, लगायतका सवै सामानहरु तोडफोड गरियो।’
भवन भत्काउने विषयमा जिल्लामा लामो समय अघिलेखि पटक–पटक तनाव हुँदै आएको थियो। रेडियोले भवन भत्काउनु पर्ने कुनै आधार नभएको दावी गर्दे आएको थियो भने वन कार्यलयले जसरी पनि भवन खाली गर्न चेतावनी दिँदै आएको थियो।
यस्तै हिंसामा परेका महिलाहरुको संरक्षणको लागि भनेर सहयात्री समाज धादिङले संचालन गरेको सेफ हाउस पनि भत्काइएको छ। सेफ हाउसमा रहेका पाँच महिने सुत्केरी र अपाङ्ग बालबालिकासहित ५ जनालाई जवरजस्ती बाहिर निकालेर भवन भत्काइएको सहयात्री समाजकी कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिइन्।
करिव ७ वर्षअघि जिल्ला विकास समिति धादिङको ७ लाख रुपैयाँ र अन्तराष्ट्रिय गैरसरकारी संस्था युएमएनको तीन लाख रुपैयाँको सहयोगमा बनाइएको सेफ हाउसमा हिंसामा परेका महिलाहरुलाई उद्धार गरेर आपतकालिन सहयोग स्वरुप त्यहाँ राख्ने गरिएको थियो।
प्रहरीले भवन भत्काउँदै गर्दा पुगेका संचारकर्मीहरुलाई समेत हातपातको प्रयास गरी प्रवेश गर्न दिएको थिएन। रेडियो धादिङमा रहेका पत्रकारहरुमाथि भएको हातपात र संचारकर्मीहरुलाई तस्बिर खिच्न गरिएको निषेधप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले विज्ञप्ति निकालेर भत्सना गरेको छ।