फुयाललाई एसिया खेलकुद पत्रकार सम्मान
काठमाडौँः खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष पत्रकार अजय फुयाल सम्मानित भएका छन्।
फुयाल स्वर्ण पदक सहित ‘एआईपीएस एसिया खेलकुद पत्रकार सम्मान’बाट सम्मानित भएका हुन् । नेपाली खेलकुद पत्रकारिता पहिलो र ठूलो अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुने फुयाल पहिलो नेपाली पत्रकार बनेका छन् ।
एसियाली खेलकुद पत्रकार महासंघ (एआईपिएस एसिया) ले बिहिबार तुरकिमिस्तानको अस्गबातमा आयोजना गरेको पहिलो एसियाली खेलकुद पत्रकारिता दिवसको अवसरमा फुयाललाई स्वर्ण पदकबाट सम्मान गरिएको हो ।
सम्मानित भएपछि अन्नपूर्णसँग कुरा गर्दै फुयालले भने, ‘एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसियाली) बाट एसियाकै उत्कृष्ठ पत्रकारको अवार्ड पाउँदा ठूलो भावनात्मक अर्थ रहेको ठानेको छु ।’
उनले यो सम्मान व्यक्तिगत रुपमा भन्दा पनि नेपाली खेल पत्रकारिताले पाएको बताए ।
२०५७ मा नेपाल समाचारपत्र दैनिकबाट खेलकुद पत्रकारिता सुरु गरेका फुयाल हाल नागरिक दैनिकमा खेलकुद सम्पादकका रुपमा अवद्ध छन् ।