रहेनन् मोतीकाजी
काठमाडौः २०४६ सालको जनआन्दोलनमार्फत स्थापित बहुदलीय व्यवस्थापछिका पहिलो महान्यायाधिवक्ता मोतीकाजी स्थापितको शुक्रबार निधन भएको छ । ८८ वर्षीय दिवंगत स्थापितको शुक्रबार नै दाहसंस्कार गरिएको छ । दाहसंस्कारअघि श्रद्धाञ्जलिका लागि स्थापितको पार्थिव शरीर नेपाल बार एसोसिएसन परिसरमा राखिएको थियो ।
स्थापितलाई श्रद्धाञ्जलि दिन न्यायाधीश, कानुनव्यवसायी एवं शुभेच्छुक बार तथा आर्यघाट पुगेका थिए । स्थापितका पत्नी र दुई छोरा छन् । न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका स्थापितको २०१७ सालको शाही कदमपछि पद खोसुवा भएको थियो ।
त्यसपछि स्थापितसँगै अग्रज कानुन व्यवसायी सुधानाथ पन्त, रामगोपाल श्रेष्ठ र कालिका झा मिलेर २०१८ सालतिर ‘नेपाल कानुन सेवा केन्द्र' नामको ल फर्म स्थापना गरेका थिए । २०४६ सालपछि मल्लिक आयोगको प्रतिवेदनका आधारमा कानुनबिना कसैलाई कारबाही गर्न नमिल्ने भनेर महान्यायाधिवक्ताका रूपमा लिखित राय दिने व्यक्ति स्थापित थिए । उनी न्याय परिषद्का सदस्यसमेत थिए ।
‘स्थापित निर्भीक र तटस्थ व्यक्ति हुनुहुन्थ्यो । मलाई मार्गदर्शन गर्ने आदरणीय गुरु पनि । निधनको खबरले आज म निकै दुःखी छु,' अमेरिका भ्रमणमा रहेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले टेलिफोनमा भने, ‘जटिल संवैधानिक मुद्दामा महान्यायाधिवक्ता हुँदा सधैं उत्कृष्ट बहस हुने गथ्र्यो । उहाँ सधैं टिममा विश्वास गर्नुहुन्थ्यो ।'
अर्का पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले धेरै कम कानुन व्यवसायीमध्येमा स्थापित एक रहेको बताए । ‘भलादमी, नरम मिजास, शालीन र निडरता उहाँका विशेषता थिए । उहाँको निधनले राष्ट्रलाई ठूलो क्षति भएको छ,' वरिष्ठ अधिवक्ता पन्तले सम्झिए, ‘दिवंगत आत्माप्रति श्रद्धाञ्जलि । शोकाकुल परिवारप्रति समवेदना ।'
नेपाल बार एसोसिएसनका तर्फबाट महासचिव खम्मबहादुर खातीले विज्ञप्ति जारी गरी गहिरो स्थापितको निधनप्रति दुःख एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।