मेलम्ची छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
मेलम्ची सिन्धुपाल्चोकः प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजना समयमै सक्न निर्देशन दिएका छन् ।
शुक्रबार आयोजनाको मुहान निरीक्षणमा आएका दाहालले आयोजनाका कर्मचारीलाई निर्देशन दिँदै सकेसम्म निर्धारित समयभन्दा अघि नै सम्पन्न गरेर राजधानीको खानेपानी समस्या समाधान गर्न आग्रह गरे । उनले मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएकाले विभिन्न बहानामा यसलाई ढिला गर्न नहुने धारणा राखेका थिए ।
‘सधैं समय थपेर आयोजना सम्पन्न गर्न ढिला गर्नु हुँदैन', प्रधानमन्त्री दाहालले आयोजना निरीक्षणपछि मेलम्चीमा आयोजित कार्यक्रममा भने, ‘लक्ष्य राखिएभन्दा छिटै काम सम्पन्न गर्न सके सकारात्मक सन्देश जान्छ ।' मेलम्चीजस्तै राष्ट्रिय गौरवका सबै आयोजना छिट्टै सम्पन्न गर्न सरकार लागिपर्ने उनले बताए ।
यस क्षेत्रबाट निर्वाचित सांसद शेरबहादुर तामाङले आयोजना सम्पन्न भएपछि यस क्षेत्रका प्रभावित बासिन्दाले पाउने लेबी निर्धारण हुन नसकेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । उनले आयोजना सम्पन्न भएपछि कम्तीमा पाँच रुपैयाँ प्रतियुनिट लेबी तोक्न प्रधानमन्त्रीसमक्ष माग राखे ।
तामाङको मागपछि दाहालले लेबीको विषयमा आफूले नबुझेको प्रतिक्रिया दिँदै यस सम्बन्धमा अध्ययन गरेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले कानुनी प्रक्रिया बुझेर सम्भव हुन्छ भने पाँच रुपैयाँभन्दा बढी नै लेबी दिन प्रयास गर्ने पनि उनले बताए ।
भ्रमणमा सहभागी पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले राजधानीबाट मेलम्ची आयोजनाको मुहान जोड्ने लामीडाँडा-मेलम्ची सडकको दुरवस्थाको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहालले सडकको अवस्था आफूले देखेकाले तत्काल यसको स्तरोन्नतिका लागि सडक विभाग र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने बताए ।
मेलम्ची आयोजनाका बोर्ड सदस्य चन्द्रबहादुर थापा, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका पदाधिकारीलगायतले पानी काठमाडौं पुर्याएपछि यहाँका बासिन्दाले पाउने लेबीका बारेमा तत्काल निर्णय गर्न सरकारको ध्यानाकर्षण गराए ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आयोजनाको प्रगति विवरण जानकारी गराउँदै २०७४ असोजसम्ममा आयोजना सम्पन्न गरी मेलम्चीको पानी काठमाडौं पु¥याउने लक्ष्य लिइएको जानकारी गराए । उनले आयोजनाको साढे २६ किमिमध्ये १९ किलोमिटर सुरुङ निर्माण भइसकेको बताएका थिए ।
चिनियाँ कम्पनीले एकतर्फी ठेक्का रद्द गरी फर्किएपछि सुरुङ निर्माणमा सीएमसी नामको इटालियन कम्पनीले ठेक्का पाएको छ । भूकम्पअघि २०१६ को डिसेम्बरभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । भूकम्पले केही संरचनामा क्षति पुगेकाले आयोजना झन्डै चार महिना ढिला सम्पन्न हुन लागेको हो ।