भलिबलकी आसलाग्दी समीक्षा

भलिबलकी आसलाग्दी समीक्षा

काठमाडौं कलंकीकी समीक्षा घिमिरे भर्खर १५ वर्षकी भइन् । घरछेउकै न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा पढ्दै गरेकी समीक्षा बोल्न र सुन्न सक्दिनन् । बोल्न र सुन्न नसक्ने समीक्षाको प्रतिभा भने आफैंमा उदेकलाग्दो छ ।

बोल्न र सुन्न नसकेर के भो र । समीक्षा भलिबलकी आसलाग्दो खेलाडी हुन् । पढाइमा पनि उनी राम्रो छिन् । स्कुलमा उनलाई बोल्ने र सुन्ने साथीसँगै राखेर पढाइन्छ । सुन्न नसक्ने भएकोले उनलाई शिक्षकले लेखेर पढाउने गर्दछन् । लेखेर दिएको कुरा प्रतिभाले छिटै टिप्छिन् । 'तर अन्य साथीसँगै राखेर पढाउँदा बुझाउने प्रक्रियामा भने केही कठिन हुँदो रहेछ । लेखेर दियो भने प्रतिभाले एक सय शब्द एकैछिनमा कण्ठ गर्छिन्', न्यु डायमन्डका प्रिन्सिपल एवं भलिबलका प्रशिक्षक कुमार राई भन्छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल अघिल्लो साता समीक्षा समावेश न्यु डायमन्डको टोलीले एनभीए कप महिला भबिलको उपाधि जित्दा कभर्ड हलको माहोल उल्लासमय बन्यो । एक सातासम्म चलेको एनभीए कप पुरुष र महिला भलिबल प्रतियोगिताका कारण कभर्डहलको रौनक नै चुलिएको हो । महिला र पुरुषको फाइनल खेल हेर्न कभर्डहल पुगेका हजारौं दर्शकले ध्यान न्यु डायमन्डका किशोरी खेलाडीमा तानियो ।

न्यु डायमन्ड टोलीकी अलराउन्डर खेलाडी समीक्षा घिमिरेको प्रदर्शनले दर्शक र भलिबलप्रेमीको मन जित्न सफल भयो । कान नसुन्ने र बोल्न नसक्ने समीक्षा विपक्षीको जस्तोसुकै प्रहार थाप्न सक्छिन् । विपक्षीले कस्तो सट हान्छन् उनलाई भेउ हुन्न । तर डुङ्गडुङ्ग आएको आवाज सुन्दा जस्तो मै हुँ भन्नेलाई पनि थाप्न गाह्रो लाग्छ । यस्तो प्रहार छेक्ने समीक्षाको क्षमता अपारको छ ।

'भगवान्ले पनि साथ दिँदो रहेछन् क्यारे । समीक्षाले खेलेको देख्दा मलाई उदेक लाग्छ । कान नसुन्ने र बोल्न नसक्ने भए पनि उनी कोर्टमा ध्यान दिएर खेल्छिन् । विपक्षीको जस्तोसुकै पावर सट आओस् उनलाई मतलव छैन । पोजिसनमा बसेर नियन्त्रण गर्नु उनको विशेषता नै हो । रक्षापंक्तिमा समीक्षाको विशेष दक्खल छ । अलराउन्डर भए पनि उनलाई कोर्टका जोन नम्बर १ को जिम्मेवारी दिइएको छ । उनी आफ्नो जोनकी खम्बा नै हुन्', प्रशिक्षक राई भन्छन् ।

समीक्षालाई विशेष गाह्रो सर्भिस गर्ने बेलामा पर्छ । रेफ्रीले सिठ्ठी बजाएको नसुन्ने भएकोले उनी रेफ्रीलाई हेरेर बस्छिन् । सिठ्ठीको आवाज नसुन्दा उनी रेफ्रीले हातको इसारा गरेपछि मात्र सर्भिस गर्छिन् ।

हाउभाउ र कपीमा लेखेरमात्र संवाद गर्ने समीक्षाले तीन वर्षमात्र भयो भलिबल खेल्न थालेको । पढाइलाई अझै सुधार गर्न कक्षा ९ मा दोहोर्‌याउने निर्णयमा पुगेकी समीक्षाका बुबा नेपाल पुलिसका जागिरे हुन् । उनका बाबु शिवप्रसाद घिमिरे र आमा कल्पना घिमिरेले एक दिन न्यु डायमन्ड गएर उनै प्रिन्सिपल एवं प्रशिक्षक कुमार सरसँग सल्लाह गरे । कक्षा ६ मा पढ्दै गरेकी छोरीलाई के गर्न सकिएका भनेर ।

परिवारकी एक्ली छोरी समीक्षाको भविष्यका विषयमा चिन्तित अभिभावकलाई कुमारले भलिबल खेलाउन सल्लाह दिए । परिवारले मेरै सल्लाहमा भलिबल खेल्न अनुमति दियो । मैले नै सिकाएर उनलाई यहाँसम्म ल्याएँ, कुमार भन्छन् ।

समीक्षाको विषयमा कुरा गरिरहँदा कुमारको इसारामा खुसी देखिएकी समीक्षाले आफूलाई कुमार सरको प्रेरणा र सिकाइले सबै साथी सरह खेल्न र पढ्न सकेको लेखेरै बताइन् । 'भविष्यमा ठूलो खेलाडी बनेर देशलाई चिनाउने योजनामा छु ।

बुवा पुलिसको सई हुनुहुन्छ । तर म आर्मी बन्न चाहन्छु', समीक्षाले भविष्यको योजना सुनाइन् । समीक्षाजस्तै उनका दाजु सविन पनि जन्मजात बोल्न र सुन्न सक्दैनन् । सविन पनि न्यु डायमन्डमै कक्षा १० मा पढ्छन । चिकित्सकले कानमा राखिदिएको उपकरणका आधारका दुवैजनाको सुन्ने क्षमतामा थोरै बढ्दै गएको छ ।

देशभर आयोजना हुने भलिबलमा न्यु डायमन्ड दर्शकको सर्वाधिक समर्थन पाउने टोली पनि हो । नेपालमा महिला भलिबल खेलको नाम लिँदा न्यु डायमन्ड एकेडेमी छुट्यो भने अपुरो नै हुन्छ । उमेर र अनुभवले कलिला देखिने न्यु डायमन्डका खेलाडीको भलिबल खेल कुनै अन्तर्राष्ट्रिय टोलीको भन्दा कम छैन ।

न्यु डायमन्डले २०७३ सालमा नेपालमा भएको तीनवटा राष्ट्रिय महिला भलिबल प्रतियोगितामध्ये दुई वटामा उपाधि नै जितेको छ । भर्खर मात्र एनभीए कप भलिबलमा नेपालको सशक्त टोली नेपाल पुलिस क्लबलाई हराएर न्यु डायमन्ड च्याम्पियन बन्यो । एक महिनाअघि पोखरामा सम्पन्न लामाचौर राष्ट्रिय महिला भलिबलको उपाधि जितेको न्यु डायमन्डले अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० सोझो सेटमा हराएको थियो ।

 

लगातार चाथो पटक लामाचौर राष्ट्रिय महिला भलिबलको उपाधि जितेको न्यु डायमन्डले सबै संस्करणको फाइनलमा बलियो विभागीय टोलीलाई नै हराएको थियो । यसै वर्ष भएको शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगितामा भने न्यु डायमन्ड तेस्रो भएको थियो ।

पाँच फिट अग्ली समीक्षा न्यु डायमन्डकै चर्चित खेलाडी प्रतिभा मालीकी मनपर्ने साथी पनि हुन् । कुमार सरले जस्तै प्रतिभाले पनि समीक्षालाई राम्रो हेरचाह गर्छिन् । एउटै कक्षाका उनीहरू यो वर्ष नराम्रोसँग रोए । समीक्षाले पढाइलाई थप सुधार गर्न ९ कक्षामा दोहोर्‌याउने निर्णय गर्दा १० कक्षामा उक्लिएकी प्रतिभालाई नरमाइलो लागेको थियो । न्यु डायमन्डकी प्रतिभा राष्ट्रिय टोलीको भरपर्दी स्पाइकर पनि हुन् ।

न्यु डायमन्ड टोलीकी अलराउन्डर खेलाडी समीक्षा घिमिरेको प्रदर्शनले दर्शक र भलिबल प्रेमीको मन जित्न सफल भयो । कान नसुन्ने र बोल्न नसक्ने समीक्षा विपक्षीको जस्तोसुकै प्रहार थाप्न सक्छिन् । विपक्षीले कस्तो सट हान्छन् उनलाई भेउ हुन्न ।

२०६२ सालमा संखुवासभाबाट काठमाडौं आएर न्यु डायमन्ड एकेडेमी सञ्चालन गरेका प्रशिक्षक कुमार स्कुलका आफैं प्रिन्सिपल भएकोले खेलाडीलाई पढाउन र खेलमा लगाउन सक्षम देखिएका छन् । 'पहिला भलिबलको खेलाडी म । क्षेत्रीय स्तरसम्म राम्रो खेल्दै आएँ । तर राईको छोरो हाइटले साथ दिएन ।

बेलायती सेनाका जागिरे मेरो बुबाले पनि भलिबल नखेल भन्नुभयो । तर लागेको बानीलाई छाड्न गाह्रो हुँदो रहेछ । भलिबलको भोक भेट्न न्यु डायमन्डमा २०६४ सालदेखि साना नानीलाई भलिबल खेल सिकाउन पनि थाले', कुमारले भने ।

प्रतिमा र समीक्षाजस्तै दर्जनौं खेलाडी उत्पादनमा लागेका ४६ वर्षीय कुमारले खेलमा लाग्नु भनेको मनैदेखि भिज्नु रहेको बताए । मन भिजाउन लगानी, मेहनत, अनुशासन र धैर्य पनि चाहिने । सबै चिज मिल्यो भने असम्भवभित्र पनि सम्भव हुँदो रहेछ ।

राम्रो खेलाडी बनाउन आर्थिक लगानी र मेहनत पहिलो सर्त हो । म साना नानीलाई राम्रो विद्यार्थी र खेलाडी दुवै बनाउने अभियानमा लागेको छु । तर आर्थिक हिसाबले गाह्रो हुँदो रहेछ । कुराकानीका क्रममा धेरै खुसी देखिएका कुमारले सफलताका लागि पाएको दुःखको पाटो खोल्दै अन्तिममा कुराकानीलाई बिट मार्दै भने–हेरौं कहाँसम्म पुगिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.