त्रिदेशीय जीवनको सूत्र
राजन कोत्रु, ५८ जम्मु काश्मीरमा जन्मिए । लामो समय जर्मनीमा बिताए । अहिले नेपालका डाँडापाखा र हिमाल चहारिरहेका छन् । काश्मिरी परिवारमा जन्मिएका राजनले जर्मनी र नेपाली संस्कार एवं भाषा आफ्नो बनाइसके । नेपाली पहाड र हिमाल यात्रा अहिले उनको नशा नै भइसकेको छ । नेपालको सुन्दर प्राकृतिक सम्पत्ति संरक्षणका माध्यमबाट आर्थिक तथा सामाजिक उन्नति गर्ने उनको सपना र योजना सुन्दा लाग्छ, त्यो लक्ष्य धेरै टाढा छैन ।
उनको जीवनमा काश्मीरको जन्म, जर्मनीको हुर्काइ र नेपालको कामले जीवन र जगत् हेर्ने दृष्टिकोण नै बदलिएको छ । ठीक त्यसरी नै, त्रिदेशीय संस्कार र भाषामा निपूण राजनको काम पनि अहिले पनि त्रिदेशीय नै छ । उनले इसिमोडमा संयोजन गर्ने सबै कार्यक्रम अन्तरदेशीय छन् । उनी नेपाल, भारत, चीन, म्यानमारसँग काम गर्छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का क्षेत्रीय कार्यक्रम व्यवस्थापक राजन जहाँ गयो त्यहीँको भाषा र संस्कृति र संस्कारमा रमाउँछन् । उनी काश्मीरी, जर्मनी र नेपाली भाषा फरर बोल्छन् । यसबाहेक हिन्दी, काश्मीरी, फ्रेन्च, पन्जाबी, उर्दु र पहारी पनि बोल्छन् ।
इसिमोडले हाल सञ्चालन गरिरहेको बहुउद्देश्यीय संरक्षणका कार्यक्रमको नेतृत्व उनले गर्छन् । उनकै नेतृत्वमा अहिले हिन्दकुश हिमालय क्षेत्रको संरक्षण विशेष अभियान जारी छ । मुख्य कार्यालय काठमाडौंमा रहेको इसिमोडले अहिले काराकोरम, कैलाश क्षेत्रको संरक्षण मा विशेष संयोजन गरिरहेको छ ।
कैलाश नेपाल भारत र तीनको सिमानामा रहेको पर्यटकीय र धार्मिक स्थल पनि हो । जैविक विविधता र प्रकृतिको अत्यन्तै सुन्दर यो ठाउँमा संयुक्त रूपमा संरक्षण अभियान सञ्चालन भइरहेको छ । यसैगरी कञ्चनजंघा भूपरिधि कार्यक्रम, भारत, नेपाल र भुटानबीचमा पर्छ ।
हाइलाइफ चीन, म्यानमार र भारतबीचको कार्यक्रम हो । त्यस्ता धेरै कार्यक्रम अहिले उनको नेतृत्वमा सञ्चालन भइरहेका छन् । प्रकृतिसँग रमाउने राजनले आफ्नो कामसँगै स्थानीय बासिन्दाको जीवन र दर्शनसमेत नजिकबाट अध्ययन गरिरहेका छन् ।
उनी अहिले कैलाश भूपरिधि कार्यक्रमलाई विशेष महत्त्वका साथ अघि बढाइरहेका छन् । भारत, नेपाल र चीनका अधिकारी जम्मा पार्ने र संरक्षणका योजना तथा रणनीति सुनाउने र छलफल गर्ने अहिले उनको दैनिकी बनेको छ । कैलाशजस्तो महत्त्वपूर्ण ठाउँको संरक्षण तीन देश मिलेरमात्रै गर्न सकिने वास्तविकतालाई ध्यानमा राख्दै यस्तो योजना बनेको कोत्रु बताउँछन् ।
खासगरी कैलाशमा वन्यजन्तुको दोहोरो आवातजावत, चोरी सिकार तथा जैविक विविधता र वन्यजन्तु उत्पादनको चोरी निकासी नियन्त्रण गर्नुपर्ने चुनौती पनि छ । कैलाशलाई विशेष पर्यटकीय र वातावरणीय गन्तव्य बनाउने अभियानको नेतृत्व कोत्रुले गरिरहेका छन् । भन्छन्, 'यसलाई विश्वभरिका पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिन्छ ।'
उनको संरक्षण यात्रा भारतको हिमाञ्चल प्रदेशमा काम गरिरहेको जर्मन परियोजनाबाट सुरु भयो । हिमाली क्षेत्रको वातावरण र जैविक विविधता संरक्षणको त्यो परियोजनाअन्तर्गत उनले काश्मीर, अफगानिस्तान र भुटानमा काम गरे । लामो समय काम गरिसकेपछि उनी सन् २००८ मा उनी नेपाल आए र वन तथा भूसंरक्षण मन्त्रालयको जैविक विविधता कार्यक्रममा काम गरे । सन् २०१० देखि इसिमोडसँग जोडिएका राजन अहिले हिन्दुकुश हिमालय क्षेत्रमा वातावरण र जैविक विविधताको संरक्षणमार्फत आर्थिक र सामाजिक उन्नतिको सपना पूरा गर्ने दौडमा छन् ।
उनी आफ्नो दैनिक जिम्मेवारीबाहेक युवा र विद्यार्थीलाई तालिम दिने तथा स्वयंसेवी बनाउन धेरै गोष्ठीमा पनि सहभागी भइरहेका छन् । सामाजिक क्रियाकलापसँगै उनको रुचि क्रिकेटमा पनि बढी नै छ । जम्मु काश्मीरमा रहँदा जम्मु काश्मीर (जेएमके) को राष्ट्रिय क्रिकेट टिमका थिए । सन् १९७६ तिर उनले त्यहाँको राष्ट्रिय टिमबाट धेरै खेल खेलेका थिए । 'अहिले पनि म क्रिकेटको फ्यान हुँ ।'
उनको खेल यात्रा यतिमा मात्रै टुंगिएनन्, जर्मनी पुगेपछि त्यहाँको मिनी क्रिकेट टिममा सहभागी थिए । अहिले काठमाडौंमा पनि उनी सपरिवार विभिन्न खेलमा सहभागी भई नै रहेका छन् । उनी टेनिसका राम्रा खेलाडी पनि हुन् । बिहानबिहान उनी भ्याएसम्म नियमित टेनिस खेल्छन् ।
विकास, खेलसँगै अध्यात्मलाई एकसाथ अघि बढाइरहेका राजनको जीवन जिउने सूत्रसमेत विशेष छ । फारसीको एउटा भनाइ उद्धृत गर्दै उनले सूत्र सुनाए, 'अल नियत् बाल मुरात् ।' अर्थात् आफनो नियत सफा राख्नुहोस् सबै राम्रै हुन्छ ।
मानिस नै भगवान् भएको उनको दृष्टिकोण नै जीवन उत्कृष्ट बनाउने सूत्र हो । राजन भन्छन्, 'जीव आत्मा मुख्य हो । यो आत्माको सम्मान नै सबैभन्दा ठूलो उपलब्धि हो । आत्मालाई दुख नदेऊ ।' दुई छोरी र श्रीमतीका साथ काठमाडौंमा बसोबास गरिरहेका राजनको रुचि संगीतमा पनि त्यत्तिकै छ ।
सन् १९५० तिर डी (डिन) मार्टिनका गीत युरोप तथा अमेरिकामा चर्चित थिए । उनलाई साथीहरूले भने, 'तिम्रो स्वर डी मार्टिनसँग मिल्छ । गीत गाऊ न ।' उनले पनि सोचे— ठीकै छ नि त, साथीहरूका लागि गीत गाइदिऊँ । त्यही भएर 'फ्रेन्डस् हेल्प यु' भन्दै डी मार्टिनका गीत आफ्नो स्वरमा रेकर्ड गराए । पहिलेदेखि नै डी मार्टिनका गीत गाउने राजनले नेपाल आएरमात्रै गीत रेडर्क गर्ने मौका पाए । उनले डी मार्टिनका गीतमा बाँसुरी, हार्मोनियम र तबला मिसाएका छन् ।
स्लो मोसनका गीत मन छुने प्रकारका छन् । राजनका शब्दमा यी क्लासिकल म्युजिक भएकाले सुन्दा मनलाई आनन्द हुन्छ । जुगल डंगोलको स्टुडियोमा रेकर्ड गरिएका यी गीतमा छोराले उनलाई तबलामा साथ दिएका छन् । कामको व्यस्तताबीच बिहानबिहान समय गरेर रेकर्ड गरेको उनका यी गीत गत महिनामात्रै युट्युबमार्फत सार्वजनिक गरिएको हो । उनका गीतको समग्र सन्देश एउटै छ, 'म्यासेज फर लभ' जीवनसँग जोडिएको गीत ।
राजनले थपे, 'गीत नै साथीहरूका लागि मात्रै हो ।' उनले अब चाँडै नेपाली गीत गाउने योजना पनि बनाएका छन् । 'म नेपाली गीत गाउँछु, अलिकति काश्मिरी अलिकति जर्मनी मिसिएको टोनमा', राजनले भने ।