नेपाल–कोरिया साहित्य सम्मेलन हुने
काठमाडौंः नेपाल कोरिया साहित्य–संस्कृति सम्मेलन हुने भएको छ । नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवम् सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ ।
शुक्रबार काठमाडौँमा संघका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार फ्रेबु्रअरीको दोस्रो साता काठमाडौँमा दुई देशीय बृहत् साहित्यिक एवम् सांस्कृतिक सम्मेलनको आयोजना गरिने छ । उक्त सम्मेलनमा कोरियाबाट सांसद्, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यावसायी गरी करिब दुई सय सहभागी हुनेछन् ।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत गरिने छ भने नेपाल र कोरियाका चुनिएका विशिष्ट कविहरुले कविता प्रस्तुत गर्नेछन् ।
संघका अध्यक्ष मुकारुङका अनुसार उक्त सम्मेलनमा दुवै देशका सय चित्रकारका कलाकृति प्रदर्शन गरिनुका साथै लोकसंस्कृतिको प्रस्तुति रहनेछ ।
सम्मेलनमा नेपाल र कोरियाका चुनिएका साठी कविका एक सय बीस कविता, सात–सात कथा तथा पाँच–पाँच उपन्यासको अनुवाद पनि प्रकाशन गरिने छ ।
सङ्कलनमा नेपालतर्फका विशिष्ट साहित्यकार बीपी कोइराला, पारिजातदेखि अहिलेको पुस्ताका प्रतिनिधि स्रष्टासम्मलाई समेटिने छ । सम्झौताअनुसार आगामी जुलाईमा सो सम्मेलनको दोस्रो संस्करण कोरियामा आयोजना गरिने छ ।