कलाकारलाई उपराष्ट्रपतिको सुझावः भिडियो पनि समाजलाई सम्बोधन गर्ने बनाउनु
काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारलाई समाजलाई सम्बोधन गर्ने भिडियो बनाउन सुझाव दिएका छन् ।
शनिबार राष्ट्रिय लोक तथा दोहोेरी गीत प्रतिष्ठान नेपालको छैटौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आधुनिकताको नाममा लोक संस्कृतिको मर्ममाथि आँच आउन दिनु नहुनेमा जोड दिए ।
‘लोक गीतमा समयसापेक्ष आधुनिकता आउनुपर्छ’, उपराष्ट्रपति पुनले भने, ‘हाम्रा लोक गीतका भिडियो पनि समाजलाई सम्बोधन गर्नेखालका हुनुपर्छ ।’
उपराष्ट्रपति पुनले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनमा कलाकारको ठूलो योगदान समेत बताए । राज्यले कलाकारको उचित व्यवस्थापन र सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
गायिका कोमल वलीले लोक संस्कृति भनेको नेपालीको लोक जीवन भएको विचार व्यक्त गर्दै आफूले यस क्षेत्रको विकासका लागि लागिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बद्री पङ्गेनी, प्रजापति पराजुली, दुर्गा रायमाझीलगायतले कलाकारको एकताबाट मात्र उनीहरुको अधिकार तथा हकहित सुरक्षित हुने विश्वास व्यक्त गरे ।