साँस्कृतिक पहिचानसहित होमस्टे
इलामः इलामको पुवामझुवास्थित चैते गाउँमा सुनुवार समुदायले साँस्कृतिक पहिचान झल्काउने होमस्टे सञ्चालन गर्ने तयारी गरेका छन् । सुनुवार समुदायको कलासंस्कृति, गीत, संगीत, नृत्य प्रस्तुत गरेर पर्यटक आकर्षित गर्न यो गाउँलाई होमस्टे क्षेत्र बनाउन लागिएको नेपाल सुनुवार समाजले जनाएको छ ।
समाजका केन्द्रीय उपाध्यक्ष किरण सुनुवारले चैते गाउँलाई पर्यटकीय र नमुना सुनुवार बस्तिका रूपमा विकास गर्ने जानकारी दिए । नेपालका सुनकोसी, तामाकोसी, लिखुलगायतका आसपासमा बसोबास गर्दै आएका सुनुवार आफ्नो साँस्कृतिक परम्परा जोगाउन लागि परेको समाजले जनाएको छ ।
सरकारद्वारा सूचीकृत पाँच सय ९१ आदिवासी जनजाति भित्र पर्ने सुनुवार अहिले एकै ठाउँमा आफ्ना कला संस्कृति संरक्षण गरी पर्यटकलाई देखाउने तयारीमा लागेका छन् ।
अन्वेषक र विदेशीका लागि चैते गाउँलाई आकर्षक गन्तव्य बनाउने योजनासहित सुनुवार समाजको केन्द्रीय समितिले सुनुवार चिनाउने होमस्टे बनाउन लागेको उपाध्यक्ष सुनुवारले जानकारी दिए । यो गाउँमा ९३ घर सुनुवार छन् । यहाँ मिश्रित जाति नभएका कारण साँस्कृतिक विचलन नभएको स्थानीय वेदकुमारी सुनुवारले बताइन् । उनले भनिन्, 'यहाँ सुनुवार नाच, भाषा र भेषको आनन्द लिन पाइन्छ । यसले पर्यटक आगमन बढाउँछ ।'