एक खुट्टाले साइकल चलाएर सिटी टुर
पोखरा: कैलाली लम्कीचुवाका ३७ वर्षीय यमलाल रसाइली र अमेरिकाका ६७ वर्षीय फ्रेयन्क कोन्लीले पोखरामा शनिबार भएको टुर दि पोखरा साइकल र्यालीमा एउटै खुट्टाले साइकल कुदाए ।
साइकल सिटी पोखराको आयोजनामा भएको र्यालीमा चार वर्षको उमेरमा खुट्टा भाँचिएर उपचार नपाएर एक खुट्टा गुमाएका रसाइली र २१ वर्षअघि सडक दुर्घटनामा खुट्टा गुमाएका फ्रेयन्क एउटै खुट्टाले साइकल चलाएर र्यालीमा सहभागी भएका हुन् । १९ वर्षको उमेरदेखि साइकल चलाउँदै आएका रसाइलीले एउटै खुट्टाले साइकलको प्याडल ठेलेर ३७ जिल्लाको यात्रा गरेका नेपाली युवा हुन् । साइकल सिटी पोखराको निमन्त्रणमा सहभागी हुन आएका उनी अपांगता भए पनि सबलांगजत्तिकै सक्षम भएको सन्देश दिन साइकलमै देश दौडाहामा निस्केका हुन् ।
बसमा यात्रा गर्दा बसवालाले गरेको दुव्र्यवहारको कारण साइकल सिकेका रसाइलीले आत्मबल उच्च राख्न सके सबलांगले जस्तै दैनिकी चलाउन सकिने बताए । अपांगता भएकालाई हिम्मत नहारी आफ्नै खुट्टाले केही गर्नुपर्छ भन्ने सन्देश दिन साइकलबाटै देश घुम्ने यात्रामा लागेको उनले सुनाए । नेपाल अपांग चेतना समाज कैलालीका कोषाध्यक्ष रसाइलीले गाउँमै सिलाइ पसल चलाएका छन् ।
२०५९ सालमा साइकल यात्रा थालेका रसाइली पश्चिम कञ्चनपुरदेखि पूर्वी काँकडभिट्टासम्म पुगेका छन् । विभिन्न पहाडी जिल्ला हुँदै राजधानी, गोरखा, पोखरा, बेनी पुगेका रसाइलीले २०५९ सालमै साइकलबाटै ३३ जिल्ला भ्रमण गरे । अहिलेसम्म ३७ जिल्ला घुमिसकेको उनले सुनाए । उनको भावी योजना साइक्लिङ च्याम्पियनसिपमा भाग लिने छ । त्यसका लागि पारा ओलम्पिकमा जाने तयारी रहेको उनले बताए । एउटा खुट्टा नभएको एक नेपालीले पारा ओलम्पिक जित्यो भनेर यो देशको नाम राख्न चाहन्छु,' उनले सुनाए ।
अमेरिकाका कोन्ली पोखरामा दोस्रोपटक साइकल र्यालीमा सहभागी भएका हुन् । सुन्दर सहरमा साइकल र्यालीमा सहभागी जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए । सन् २०१२ मा पोखरादेखि दमौलीसम्म एक खुट्टाले साइकल यात्रा गरेका उनी शनिबार दोस्रोपटक साइकल र्यालीमा सहभागी भएका हुन् ।