कांग्रेसलाई ओलीको प्रश्नः किन बाघ झैँ खुट्टा पसारेर बसेको ?
काठमाडौँः एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस परराष्ट्र नीतिको विषयमा चुपचाप बसेको भन्दै प्रश्न गरेका छन् । आइतबार राजधानीमा पत्रकार गोपाल खनालको ‘भूराजनीति’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले के सिकार गरेर बाघ झैँ खुट्टा पसारेर बसेको ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणतर्फ लक्षित गर्दै ओलीले राष्ट्रियता संकटमा परेको बताए । पछिल्ला दिनमा राष्ट्रिय स्वाभीमानमाथि संकट आइपर्दा कांग्रेस सिकार खाएर सुतेको बाघ जस्तो भएको ओलीको आरोप छ । ओलीले कांग्रेसले के सिकार पाएर सुत्यो भन्दै प्रश्न गरे । ‘कांग्रेसले के शिकार पायो, राष्ट्रको स्वाधीनता र स्वाभीमानमा यत्रो संकट आउदा केही बोल्दैन, खुट्टा पसारेर सुतेको छ,’ ओलीले भने ।
ओलीले कांग्रेसको मौनतातर्फ प्रश्न गर्ने क्रममा २०१६ सालमा नेपालको संसदमार्फत् बिपी कोइरालाले नेपालको स्वाधीनताको ख्याल गर्न भारतलाई सचेत गराएको सम्झदै अहिलेको कांग्रेसमा बिपी प्रवृत्ति नभएको टिप्पणी गरे । ‘अहिलेको कांग्रेससँग बिपीको नाम मात्रै छ कि नीति पनि छ ?’, ओलीले प्रश्न गरे ।
ओलीले कांग्रेसले बिपीको नीति पनि बोकेको भए व्यवहारबाट जनतालाई जवाफ दिनुपर्ने उल्लेख गरे । जनताले कांग्रेसको व्यवहारबाट जवाफ खोजेको भन्दै ओलीले भने, ‘राष्ट्रको स्वाधीनतामाथि आएको संकटमा कांग्रेसले बिपीको नीति पनि बोकेको भए व्यवहारबाट जवाफ दिनु पर्यो ।’
पूर्वप्रधानमन्त्री ओलीले आफूले चीनसँग गरेका व्यापार र पारवहन सम्झौता विवेक पुर्याएर गरिएको तर वर्तमान सरकारले त्यसको मर्म बुझ्न नसकेको आरोप लगाए । चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्ने नीतिमा वर्तमान सरकार रहेकोप्रति समेत ओलीले आक्रोश व्यक्त गरे ।
ओलीले यस्ता गम्भीर विषयमासमेत सरकारको प्रमुख घटक नेपाली कांग्रेस किन चुपचाप रहेको भनेर पटक–पटक प्रश्न गरे । ‘प्रमुख पार्टी कांग्रेसको परराष्ट्र नीति के हो ? आर्थिक नीति के हो ?’, ओलीले भने ।
‘भूराजनीति’ पुस्तकका लेखक खनाल ओली प्रधानमन्त्री हुँदा उनको परराष्ट्र मामिला विज्ञ थिए । खनालको पुस्तकलाई फोनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।