फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा बहस सुरु

फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा बहस सुरु

चितवन: गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा अाइतबारदेखि बहस सुरु भएको छ।

वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट ११ जना अधिवक्ताले बहसका लागि नाम टिपाएका छन्। वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र उदयचन्द्र न्यौपानेले बहस गरिसकेका छन्। जाहेरवालाका तर्फबाट अधिवक्ता गोपालकृष्ण घिमिरे, इन्द्र अर्याल, ओमप्रकाश अर्याल, आशिकराम कार्की, बाबुराम गिरी, दिनेश त्रिपाठी र पुण्यराज पौडेलले बहस गर्दै छन्।

त्यसैगरी, प्रतिवादीका तर्फबाट अधिवक्ता धर्मराज आचार्य, केशवप्रसाद गौतम, गोपीलाल देवकोटा, प्रकाश महर्जन, ज्ञानेन्द्र नेपाल, बद्री पौडेल, रमेश मैनाली, भोजराज सुवेदी, खगराज कँडेल, लक्ष्मण अधिकारी र चूडामणि सापकोटाले बहस गर्दै छन्। जिल्ला अदालत चितवनका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार बहस समाप्त भएपछि थप प्रमाण बुझ्न आवश्यक भए इजलासले थप प्रमाणका लागि आदेश दिने र नभए फैसला गर्ने बताए।

यसअघि, असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसँगै पेस गरिसकेका छन्।

सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २०६१ साल जेठ २४ गते हत्या गरिएको थियो। कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा यस सम्बन्धमा जाहेरी दिएका थिए। त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो।

जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटी र तीनजनालाई साधारण तारेखमा छाडेको थियो। दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ र अर्का विष्णु तिवारी फरार छन्। सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेलसमेत फरार छन्।

अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र शुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र परशुराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटीमा तारेखमा छोडेको छ।

त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटीमा तारेखमा छाडिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.