भैरवसँग खड्‌ग साट्दै पूवराजा ज्ञानेन्द्र

भैरवसँग खड्‌ग साट्दै पूवराजा ज्ञानेन्द्र

काठमाडौं: सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् । पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका हुन् ।

मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्सेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । २०५८ सालमा राजा भएपछि राष्ट्राध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन् ।

२०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो । नयाँ घ्याम्पो शनिबार थकुजुजु (नेवारी राजा) को घरमा भित्र्याएर पूजाआजा गरियो । हरेकपटक घ्याम्पो फेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ । घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रले २६ लाख रुपैयाँ सहयोग गरेको र सरकारी पक्षलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरिएपछि पूजाआजा र दर्शनका लागि पूर्वराजालाई बोलाइएको आयोजक बताउँछन् ।

घ्याम्पोमा पचली भैरवको ठूलो आकृतिको मूर्ति हुन्छ भने यसको माथि पाथीजस्तो आकारमा भैरवकै पत्नीको सानो मूर्ति रहन्छ । तामामा सुनको लेपन गरेर बनाइएको घ्याम्पो निर्माणमा २६ लाख रुपैयाँ खर्च लागेको छ । 'कुनै बेला पचली भैरव गुठीका नाममा छाउनीदेखि टेकुसम्म चार सय ७० रोपनी जग्गा थियो, सरकारले गुठीको नाममा ल्याएपछि अहिले एक आना पनि छैन', कूल परम्परा धान्न गोजीको खर्च गर्दै आएको जानकारी दिँदै थकुजुजु जयराम मल्लले अन्नपूर्णसँग भने ।

उनका अनुसार घ्याम्पो निर्माणलगायत जात्रा सञ्चालनका लागि संस्कृति मन्त्रालयलाई जानकारी गराउँदा कुनै प्रतिक्रियासम्म दिएन । उनले भने, 'त्यसपछि घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रलाई निवेदन गर्‌यौं । तत्कालै मौखिक आश्वासन दिनुभएको थियो । निर्माण भएर आएकाले आज शनिबार स्थापना गर्‌यौं ।'

कूलको परम्परा धान्दै आएकाले कतिपय काममा गोजीकै खर्च भइरहेको गुणकामदेवका सन्तान जयरामले बताए । उनले घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपतिको उपस्थिति उदाहरणीय हुने भए पनि सरकारी बेवास्ताका कारण आफू पछि सरेर पूर्वराजा ज्ञानेन्द्रलाई आग्रह गरेको बताए । एकपटक जात्रा सम्पन्न गर्न साढे तीन लाखजति खर्च लाग्छ भने गुठी संस्थानले ४० हजार रुपैयाँमात्र दिँदै आएको छ ।

 

'भाषण गर्ने बेलामा मन्त्री र नेताहरू सम्पदा नेपालको सम्पत्ति भन्छन् तर स्थानीयको पहलमा समेत कुनै प्रतिक्रियासम्म दिँदैनन्, योभन्दा विडम्बना के हुन्छ ? ' थकुजुजु मल्लले थपे, 'हामी संस्कृति मास्न चाहँदैनौं, जसले सहयोग गरे पनि संस्कृति जीवित हुनुपर्‌यो । २०५८ र अहिले पनि ज्ञानेन्द्रले नै गर्नुभयो । उहाँले संस्कार बचाइदिनुभयो, त्यसैले असोज १६ गतेको दर्शन र पूजाआजाका लागि उहाँलाई निम्ता गरेका हौं ।'

अलौकिक शक्ति मानिने पचली भैरवको प्रत्येक १२ वर्षमा खड्गसिद्धि जात्रा हुन्छ । उक्त अवसरमा राजाहरूले तरबार साट्ने गर्थे । 'जात्राका क्रममा पचली भैरव अर्थात् गठु प्याखसँग श्री ५ (राजा) सवारी भई पचली भैरवको खड्गसँग आफ्नो खड्ग साट्ने गर्छन्, अब हुने यो जात्रामा पनि ज्ञानेन्द्र शाहले खड्ग साट्नुहुनेछ', थकुजुजु जयराम मल्लले भने ।

नुवाकोटका ठकुरी राजा गुणकामदेवले आफ्ना पूर्वज ठकुरी राजा शिवदेव भैरवका रूपमा सिद्ध भएकाले भैरव आजु (पूर्वज) का रूपमा काठमाडौंमा पचली भैरव स्थापना गरेका हुन् ।

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक खड्गमान श्रेष्ठका अनुसार राष्ट्रिय अभिलेखालयमा सुरक्षित ग्रन्थ 'उल्लेखत' मा यो लेखिएको छ ।

पचली भैरवको देवस्थललाई पञ्चलिंगेश्वर अर्थात् पञ्चमुखी लिंगेश्वर भन्ने गरिन्छ । हिमाली क्षेत्रमध्ये काश्मीरमा चलेको लिंगायत मत, सिन्ध उपत्यकामा चलेको शिवलिंग र जलहरिको पूजा परम्परा, पाशुपत क्षेत्रमा चलेको पञ्चमुखी ज्योतिर्लिंग पूजाजस्तै पूजा यहाँ नभए पनि तान्त्रिक दृष्टिले शिवको संहारका रूपमा पचली भैरवको पूजा गर्ने परम्परा छ । उनी महादेव मसानमा बास गर्ने पिशाच आदि आसुरी शक्तिसँग बास गर्ने देवका रूपमा पनि पुजिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.