बक्राहा खोला फेरि गाउँ पस्यो

बक्राहा खोला फेरि गाउँ पस्यो

विराटनगर: मोरङको मावा खोला र बक्राहा खोलामा आएको बाढी गाउँ पस्दा एकजनाको मृत्यु भएको छ भने ३० परिवार विस्थापित भएका छन् ।

मधुमल्ला गाविस ३ स्थित तोरीबारीमा मावा खोलाले बगाउँदा परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । शव खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताए ।

पहाडी क्षेत्रसहित आसपासमा भीषण वर्षासँगै खोलामा पानीको बहाव उच्च भएपछि बक्राहा पुरानै स्थानबाट गाउँ पसेको हो । मोरङको इटहरा गाविस ३ स्थित धरमभकारीबाट पुनः खोलो गाउँ पस्दा जयनगर बस्तीका ३० परिवार विस्थापित भएका छन् ।

यही स्थानबाट ७० मिटर लामो बाँध फुटाएर बक्राहा खोलो गत बुधबार गाउँ पसेको थियो । त्यतिबेला बाढीले २५ परिवार विस्थापित भएका थिए । खोला गाउँ पसेपछि तीन सयभन्दा बढी घर डुबानमा परेका थिए । इटहरा ३ मा पाँच घर बगाएको थियो । बुधबार विस्थापित भएकाहरू अहिलेसम्म घर फर्कन नसकिरहेका बेला फेरि बक्राहाले थप ३० परिवारलाई विस्थापित गराएको प्रहरीले जनाएको छ ।

पाँच दिनअघि खोलाले भत्काएको बाँध निर्माण गरेर खोला नियन्त्रणको प्रयास नगरिँदा त्यही ठाउँबाट दोस्रोपटक खोलो गाउँ पसेको स्थानीयको भनाइ छ । खोला गाउँ पसेपछि आपत्कालीन उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

शनिबार साँझबाट अविरल वर्षा नरोकिएसँगै बक्राहामा बाढी आएको र त्यही बाढी गाउँ पसेको प्रहरी चौकी इटहराका सहायक निरीक्षक सीताराम भण्डारीले बताए । बाढीका कारण विस्थापित बनेकाहरू आफन्त र छिमेकीको शरणमा छन् ।

खोलामा आएको बाढीका कारण इटहराका ३, ४ र ५ नम्बर वडा डुबानमा परेका छन् । यी वडा यसअघि पनि डुबानमा परेका थिए । प्रसनि भण्डारीले तत्काल खोलो नियन्त्रणको प्रयास नगरिए थप क्षति हुने खतरा बढेर गएको छ । 'पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएको छैन', उनले भने, ‘खोलामा पानीको बहाव नघटेका कारण स्थानीय बासिन्दा त्रासमा छन् ।'

इटहरा ३ का चन्द्रकान्त रिजालले बाढीपीडितका पक्षमा सरकारी निकायले कुनै सहयोग नगरेको बताए । उनको परिवार गत बुधबार बाढी गाउँ पसेपछि विस्थापित भएको थियो । रिजालले भने, 'हामी विस्थापित भएको लामो समय भइसक्यो तर अहिलेसम्म राहत र उद्धारको कुनै पनि काम भएको छैन ।' बाढीले धेरै खेतीयोग्य जमिन कटान गर्नुका साथै लगाएको धानबालीसमेत बगाएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.