गणतन्त्रका गणपति
नेपालका बहुसंख्यक जनता आफू र आफ्ना सन्तानलाई नेपाली भनेर चिरकालसम्म चिनाउन चाहन्छन् । जात वा थातथलोको 'पहिचान' भन्दा राष्ट्रियताको पहिचान उच्च हुन्छ भन्ने ठानेर नै 'राष्ट्र सर्वोच्च' हो भन्ने चिन्तन विकास हुँदै गएको छ । जात, क्षेत्र, धर्म र गोत्रका आधारमा राजनीति गर्नेहरूलाई दाताहरूले जे अह्राएका छन्, त्यही गर्छन् र गरिरहेकै छन् ।
'उचालेको कुकुरले मृग मार्दैन' भन्ने उखानै छ । त्यसैले जातवादी वा नाकवादी बनेर नाक वा जातका आधारमा राष्ट्रको अंशबन्डा गराउन चाहनेहरू अचेल 'मच्चियो-मच्चियो, थच्चियो' भन्ने अवस्थामा पुगेका छन् । तर उनीहरूले दाउ छोपेर कुनै पनि बेला आगो सल्काउन सक्छन् भन्ने कुरा टीकापुर घटनाले पुष्टि गरिसकेको छ ।
कठोपनिषद्मा चेतावनी दिइएको छ, 'जगत्मा असत्यभित्र सत्य र अनिश्चिततामा निश्चितता भेटिँदैन, खोज्नु नै बेकार छ ।' जसरी माटोले हजारौं स्वर्णमुद्रा (गाडधन) छोपेको हुन्छ, त्यो भनेको असत्यको आवरणले परम सत्य छोपिएको अवस्था हो । 'अनुहारमै धुलो रहेछ, मैले जीवनभर ऐना मात्र पुछिरहेँ' भन्ने गालिबको कविता जस्तो भ्रमले सत्य छोपेको हुन्छ । नेपाली राजनीतिमा आज पनि ग्रहणले सूर्य ढाकेको अवस्था छ, तर सूर्य अस्ताएको होइन । सूर्य सत्य हो, ग्रहण होइन ।
देवीभागवतमा नारद भगवान् रामलाई भन्छन्, 'सत्य सनातन हुन्छ ।' उनको अभिप्राय छ, वास्तविक सत्य मात्र शाश्वत हुन्छ । 'कर्तुम्, अकर्तुम् अन्यथा कर्तुम्' बीचमा भेद छुट्ट्याउन नसक्नेहरू दुई दिनको रमाइलो राज्यसत्ता (स्टेट पावर) लाई परम सत्य ठान्ने गर्छन् । त्यो भ्रम हो, जसलाई शास्त्रले माया भनेको छ । शास्त्र भन्छ, 'कुनै 'नयाँ' कुरा खोज्दा सनातन सत्य त्याग्नु वा बिर्सनु हुँदैन । सत्य स्थानान्तरण हुन्छ, नयाँ हुँदैन ।' (छान्दोग्य उपनिषद्)
ईश्वरको अस्तित्व स्वीकार गर्ने धेरै विद्वान्-विदुषीले भनेका छन्, 'ईश्वरवाद सर्वोच्च संविधान हो । सत्य, न्याय, अनुशासन, सदाचार वा मानवताप्रतिको समर्थन र विश्वास हो । कतिपय मानिस ईश्वरको अस्तित्व स्वीकार गर्दैन । भौतिकवादी हुँ भन्ने अभिमानका कारण उनीहरू जगत्का सबै कुरा भौतिक देख्छन् ।'
नेपालमा पनि ईश्वरको नाममा शपथ ग्रहण गर्न नमान्ने व्यक्तिहरू सत्तामा पुगे । आँखा चिम्लिँदा जगत् नै अँध्यारो लाग्छ । तर आँखा चिम्लिनेहरूले अँध्यारो छ भन्दैमा अरूले पत्याउँदैनन् । जहाँ ९९ प्रतिशतभन्दा बढी जनता ईश्वरको अस्तित्व स्वीकार गर्छन्, त्यो राष्ट्रलाई 'धर्म निरपेक्ष' घोषणा गर्ने÷गराउनेहरूले बुझ्नुपर्छ- गणतन्त्रका गणपति सडकमा नांगै हिँडे भनेर सबै जनता निर्वस्त्र हुँदैनन् । त्यसैले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता सबै मिथ्या हुन् भनेर विदेशबाट आयातीत विषादीको विरोध भएको हो । विरोध भइरहनेछ ।
भ्रान्तिको मूल कारण अविद्या (अज्ञान) हो । यदाकदा डोरी पनि सर्पजस्तो देखिन्छ । नेपाली लोकगीत छ, 'साली भनी छोप्दै जाँदा चिलाउनेको ठुटो... ।' गणतन्त्रलाई पनि लिपस्टिक, क्रिम पाउडर दलेर संघीयताको दोसल्ला ओढाइएको छ । धर्म निरपेक्ष भन्ने गहनाले झपक्क ढाकिएको छ । तर यो चिलाउनेको ठुटो मात्र हो, साली होइन । 'आगो र त्यसबाट निस्केको अग्निज्वाला अलग होइनन् । त्यस्तै मानिस ईश्वरकै अंश हो ।' हजारौं वर्षअघि लेखिएका ग्रन्थहरूमा उल्लेख छ ।
(ब्रह्मसूत्रको शांकरभाष्य) यसको अर्थ हो, चराचर जगत्, सौरमण्डल, मानव, प्राणीजगत् ईश्वरबाट रचित र संरक्षित छन् । कतिपय व्यक्ति कार्लमाक्र्स, लेनिन, स्टालिन वा माओभन्दा पहिलेका कुरा स्विकारसम्म गर्दैनन् । उनीहरूको अन्तिम भित्तो नै माक्र्सवाद हो ।
पं. जवाहरलाल नेहरूले 'ग्लिमसेज अफ वल्र्ड हिस्ट्री' ग्रन्थमा नेपाल राष्ट्रको संस्कृति र सभ्यताको चर्चा गरेका छन् । नैनीतालको जेलमा बस्दा छोरी इन्दिरा (इन्दिरा गान्धी) लाई उनले धेरैवटा शिक्षाप्रद पत्र लेखे । तिनै पत्रहरूको संग्रह त्यो पुस्तकमा संसारका प्राचीन सभ्यताको वर्णन गरिएको छ । नेहरूले नेपाललाई वीरभूमि भनेका छन् । तर आज नेपाल राष्ट्रका धेरै राजनीतिक अगुवाहरू विदेशीका करिया र भरिया बनेका छन् ।
मतदाताले पनि काका, दाजु, पुसाजु, पाजु, निनी, मेमे, आस्याङ, गुर्बा, साहु-महाजन, फेदङ्वा, बिजुवा, झाङ्री (झाँक्री), प्यारी, दौंतरी, छिमेकी, वैद्य, डाक्टर आदि 'बोक्रो' मात्र हेर्ने गर्दा राजनीतिमा योग्यता-क्षमताभन्दा निकटताले काम गरेको पाइन्छ । कैयन् मतदाताले 'पुङ' खाएर मत दिने गरेका छन् । प्रजातन्त्रमा ४९ प्रतिशत सज्जनहरूले ५१ प्रतिशत मूर्खजनको निर्णय स्वीकार गर्नुपर्छ । किनभने त्यो मिथ्या भए पनि बहुमत हो ।
यही कारणले दलीय निरंकुशताको हतियार चलाएर धर्म, संस्कृति र परम्परा पोलेर, झूटो बोलेर, विष घोलेर, घरघरमा आगो झोसेर राष्ट्र जलाउने र गणतन्त्र चलाउने अभियानमा विदेशीले प्रत्येक वर्ष करोडौं डलर दिँदै आएको जगजाहेर छ । यस्तै चक्रव्युहमा परेर धेरै राष्ट्र गृहयुद्धमा फसेका छन् । हामीले त्यसबाट पाठ सिकेनौँ भने एक दिन अवश्य शरणार्थी बन्ने छौं ।
'अमृतं चैव मृत्युश्च द्वयं देहे प्रतिष्ठिनम् । मृत्युरापद्यते मोहात् सत्येनापद्यतेऽमृतम् ।। -प्रत्येक मानव शरीरमा अमरता र मृत्यु दुवै तत्व छ । भ्रम पालेर बस्दा मृत्यु प्राप्त हुन्छ, सत्य पालन गर्दा अमरता प्राप्त हुन्छ ।' (महाभारत) । तसर्थ सत्यको अन्वेषण गर्नैपर्छ । संसारमा राम्रा-नराम्रा सबै गुण वा वस्तु छन् । असल छुट्ट्याउने काम विवेकीले गर्छ । झन्डै दस वर्ष बित्दा पनि गणतन्त्रको अँध्यारो दहमा राष्ट्र फन्फनी घुमिरहेको छ ।
आफ्नो दलले गरेको निर्णय भन्दै कतिपय 'कार्यकर्ता' यसमै खुसी छन् । उनीहरू सत्य बोल्दैनन् । नेतासँगै चितामा जल्न पनि तयार छन् । ढडिया थापेर बसेका छन् । नेपाली भएर बाँच्न चाहने, राष्ट्र सृदृढ र स्वाधीन रहोस् भन्ने स्वाभिमानीहरू विदेशी एजेन्डा त्याग्नैपर्ने पक्षमा छन् । गणतन्त्र र परतन्त्र एकअर्काका परिपूरक देखियो नेपालमा । त्यसैले परतन्त्र नै भेष बदलेर आयो, गणतन्त्रको रूपमा । दिल्लीमा बाह्रबुँदेलाई लालीपाउडर दलेर 'प्रजातन्त्रलाई अबदेखि गणतन्त्र भन्नू' भनेर भारतीयले सिकाइदिए ।
तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले अलजजिरा टेलिभिजनमा त्यसको पोल खोलिसकेका छन् । माधव नेपाललगायतका केही नेताले बाह्रबुँदेबारे भारतलाई थाहा थिएन भनेर नेपाली जनतालाई मूर्ख बनाउन खोजेका छन् । सात दल, माओवादी र भारतीय गुप्तचरहरूले पश्चिमाहरूलाई समेत विश्वासमा पारेर बाह्य डिजाइनअनुसार गणतन्त्ररूपी दुलही नेपालमा भित्र्याए तर किचकन्नी (चुँडेल) रहेछ भनेर नेताहरूले हनिमुनमै थाहा पाए ।
बिहानै उठेर रानीपोखरीमा दिनहुँ नुहाउन जाने गरेका राजा प्रताप मल्ल पनि किचकन्नीको प्रेममा फसेका थिए । (रत्नपार्कमा गणेशमान सिंहको सालिकछेउमा हात्ती चढेका मल्लको सालिक छँदैछ ।) किचकन्नीको मायाजालमा परेर राजा दुब्लाउँदै गए । सपनामा बर्बराउन थाले । रानीले तान्त्रिकहरूलाई बोलाइन् । प्रसिद्ध तान्त्रिकहरूको सल्लाह मानेर राजाले चुँडेलको लुगामा धागो बाँधिदिए । धागो धेरै लामो थियो । भोलिपल्ट पहिल्याउँदै जाँदा त्यो हड्डीमा बाँधिएको भेटियो । तान्त्रिक विधिपूर्वक सो हड्डी जलाइयो । ठूलो हात्तीको मूर्ति बनाएर किचकन्नीको हड्डीको खरानीलाई मूर्तिमुनि थिचेर राखियो । बल्ल राजा निरोगी र सहज हुन थाले ।
नेपाली जनताले पनि राष्ट्र रक्षाका लागि 'किचकन्नीको हड्डी' खोज्नैपर्छ । धागो पहिल्याउँदै जाँदा त्यो पक्कै पनि दिल्लीको लोधी रोड (रअ्को प्रधान कार्यालय) तिरै भेटिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको परराष्ट्रनीति नै हाम्रो नीति हो भन्ने आशयको विज्ञप्तिमा हस्ताक्षर गरेर उनी विदेशी किचकन्नीबाट ग्रस्त र सन्त्रस्त भएको पछिल्लो प्रमाण दिइसकेका छन् । भारतीय अधिपतिलाई परमाधिपति मान्ने गणतन्त्र नेपालका गणपति र उनीजस्ता विदेशपरस्त सकल दर्जाबाट राष्ट्रको हित हुँदैन भन्ने कुरा धेरैले स्विकार्न थालेका छन् । त्यसैले समयले सत्यवादीहरू खोजेको छ ।
राष्ट्रनायकमा रहेको संवैधानिक अधिकार प्रधानमन्त्रीको सिफारिसमा संसद्बाट अनुमोदन गराउनुपर्ने ब्रिटिस मोडेलको संसदीय पद्धति २०४७ सालपछि पुनस्र्थापना भए पनि दलहरूकै अहंकारका कारण राम्रोसँग चल्न सकेन । गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएर पटकपटक सरकार बनाउने र ढाल्ने खेल भइरहे ।
तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्र आफैंले प्रत्यक्ष शासन गरे पनि दलहरूले सहयोग गरेनन् । सबैलाई थाहा भएकै हो, गणतन्त्रसमेत जोड्दा २५ वर्षमा २४ पल्ट सरकार परिवर्तन भए पनि प्रगति, खुसी र राजनीतिक स्थिरता देखिँदैन । नेपाल विदेशीको क्रीडास्थल बन्यो भनिरहेका कैयन् दल आफैं विदेशीको चंगुलमा परेका छन् । २०४७ सालको संविधान क्रियाशील छँदा झन्डै ७० प्रतिशत कार्यकाल कांग्रेस पार्टीले भोग गर्यो । त्यसैले राजनीतिक अस्थिरताको रोग निम्त्याउन नेपाली कांग्रेस प्रमुख दोषी देखिन्छ ।
दलविहीन पञ्चायती व्यवस्थाका शक्तिशाली प्रधानमन्त्री कीर्तिनिधि बिष्टले स्पष्ट भनेका छन्, 'नेपालले कूटनीतिक र राजनीतिक रूपमा झुक्ने र चुक्ने काम गर्नु हुँदैन ।' उनले द राइजिङ नेपाल अंग्रेजी दैनिक (सन् १९६९ जून २५) मा दिएको अन्तर्वार्तामा भनेका छन्, 'अमेरिका, सोभियत संघ, चीन र पाकिस्तानजस्ता राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर नेपालले भारतको छत्रछायामा नबस्ने स्पष्ट सन्देश दिइसकेको छ ।'
तर नेपालका केही भारतपरस्त नेताहरू भारतसँग आज 'हम तुम एक कमरे मे बन्द है' भन्ने गीत गाइरहेका छन् । दस वर्षसम्म कथित मुक्तियुद्ध लडेको माओवादी र प्रजातन्त्रको लागि सत्तरी वर्ष अघिदेखि संघर्ष गरेको नेपाली कांग्रेसले दिल्लीसामु घुँडा टेकेर राष्ट्रघातको उदाहरण देखाइरहेका छन् । यस्तो अवस्थामा पनि मौन बस्नु राष्ट्रघातको समर्थन मात्र हो ।
दुर्भाग्यको कुरा, गणतन्त्रको घोषणापछि राष्ट्रिय सुरक्षामा धेरै चुनौती र अस्थिरता बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ती संगठनका तालुकवाला मन्त्रालयहरूले भविष्यमा आउन सक्ने संकट र त्यसको समाधानबारे गम्भीरतापूर्वक वस्तुनिष्ठ गृहकार्य गरी राष्ट्र बचाउने साहस गरेनन् भने दुर्दिन मात्र भोग्नुपर्नेछ । किनभने गणतन्त्रका सारथि नै मीर जाफर ठहरिएका छन् ।