इन्जिनियरिङ सबै विषयको उस्तै माग
प्लस टु पढेर के गर्ने ? साइन्स फ्याकल्टीबाट गणित विषय लिएर प्लस टु गरेकाको आकर्षणको विषय इन्जिनियरिङ हो । हरेक वर्ष इन्जिनियरिङ पढ्नका लागि त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिने प्रवेशपरीक्षामा सहभागीहरूको संख्याले पनि यसलाई पुष्टि गर्छ ।
संस्थान सम्बद्ध स्रोतका अनुसार यस वर्ष १० हजार सात सय ४१ जना प्रवेशपरीक्षामा सहभागी थिए । त्यसमध्ये ६ हजार एक सय ७५ उत्तीर्ण भए । यसरी उत्तीर्ण विद्यार्थी देशका विभिन्न इन्जिनियरिङ क्याम्पसमा भर्ना हुन्छन् । इन्जिनियरिङ अध्यापन गर्ने चार सरकारी क्याम्पस छन्ः पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, पूर्वाञ्चल क्षेत्रीय क्याम्पस । यीबाहेक त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत र सम्बन्धमा इन्जिनियरिङ पढाउने क्याम्पसहरू प्रशस्त छन् ।
कस्तो छ इन्जिनियरिङको स्कोप ?
दैनिक जीवनका विभिन्न क्षेत्रमा इन्जिनियरिङ ज्ञानको आवश्यकता पर्छ । इन्जिनियरिङ प्राचीन इतिहास भएको ज्ञान हो । भवन निर्माणदेखि सहर निर्माणसम्म, कुलो निर्माणदेखि हाइड्रोपावरसम्म इन्जिनियरिङको आवश्यकता पर्छ । इन्जिनियरिङ आफैंमा एक संकाय हो । यसअन्तर्गत विभिन्न विषयहरू पढाइ हुन्छन् । हरेक विषयको आफ्नै कार्यक्षेत्र र स्कोप छन् । आधुनिक सभ्यतामा कुनै एक निर्माणका लागि एक क्षेत्रको इन्जिनियरिङ ज्ञानले मात्र पुग्दैन ।
कालिमाटीस्थित कान्तिपुर इन्जिनियरिङ कलेजका सल्लाहकार दिनेश शर्मा इन्जिनियरिङ विषय पढेका जनशक्ति कुनै पनि मुलुकमा बेरोजगार नरहेको दावी गर्छन । 'हरेक नागरिकले प्रयोग गर्ने हरेक सामग्रीमा कुनै न कुनै वैज्ञानिक सीप प्रयोग भएको छ । यसको देन इन्जिनियरिङ विधालाई नै जान्छ', शर्मा भन्छन्, ' पढाइ, सकिने वित्तिकै केही सयम बेराजगार बस्नुपर्ला वा रोजगारी खोज्न लाग्नुपर्ला । तर बेरोजगार कोही बस्नु पर्दैन ।'
विभिन्न क्षेत्रका विशेषज्ञ इन्जिनियरहरूको सहभागिताले मात्र कुनै निर्माणकार्य सम्पन्न हुन्छ । त्यसैले इन्जिनियरिङ ज्ञानको महत्त्व र स्कोप छ । नेपालमा पढाइ हुने इन्जिनियरिङ यस्ता छन्ः
सिभिल इन्जिनियरिङ
सिभिल इन्जिनियरिङ यस विधामा लोकप्रिय विषय हो । घर निर्माणदेखि सडक निर्माणसम्म यसको स्कोप छ । सगरमाथा इन्जिनियरिङ कलेजका प्राचार्य इन्जिनियर रमेश श्रेष्ठका अनुसार पुनर्निर्माणतर्फ गइरहेको नेपाली समाजलाई त यसको झनै आवश्यकता छ । त्यसबाहेक सिभिल इन्जिनियरिङबाट ब्याचलर गरेपछि मास्टर्समा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्न सकिन्छ । श्रेष्ठ भन्छन्, 'सिभिल इन्जिनियरिङमा ब्याचलर गरेका विद्यार्थी हाइड्रोपावर, वाटर रिसोर्स, स्ट्रक्चरल इन्जिनियरिङ, इन्भारमेन्टल इन्जिनियरिङ, जियो–टेक इन्जिनियरिङलगायत विषयमा दक्षता हासिल गर्न सक्छन् ।'
आर्किटेक्चर इन्जिनियरिङ
आर्किटेक्चर इन्जिनियरिङ मूलतः घर निर्माणसँग सम्बन्धित छ । तर यसको स्कोप यतिमा सीमित छैन । काठमान्डु इन्जिनियरिङ कलेजका सल्लाहकार प्राध्यापक दिनेश शर्माका अनुसार आर्किटेक्चर इन्जिनियरिङमा ब्याचलर गरेकाहरूले अर्बन प्लानिङ (सहरी योजना), कन्स्ट्रक्सनल म्यानेजमेन्टलगायत विषयमा विशेषज्ञता हासिल गर्न सक्छन् ।
कम्प्युटर इन्जिनियरिङ
कम्प्युटर इन्जिनियरिङ कम्प्युटरको सफ्टवेयरसँग सम्बन्धित छ । नयाँनयाँ सफ्टवेयर निर्माणका लागि यसको खाँचो पर्छ । यो कम्प्युटरको युग भएकाले पनि यसको स्कोप निकै बढी छ । प्राध्यापक शर्माको शब्दमा त यो 'बुम' विषय हो । संसारभर उत्तिकै आकर्षण छ ।
इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ
इलेक्ट्रोनिक्स इन्जिनियरिङ सञ्चार प्रविधिका ससाना सामग्रीसँग सम्बन्धित छ । कम्प्युटर इन्जिनियरिङसँग मिल्दोजुल्दो भए पनि यो हार्डवेयरसँग सम्बन्धित छ । तर नेपालमा भने कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको कोर्स ७० प्रतिशतभन्दा बढी मिल्ने प्राध्यापक शर्माले बताए । अन्तिम वर्षमा पुगेपछि मात्रै कोर्स छुट्टिने जानकारी उनले दिए ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ पनि राम्रो स्कोप भएको विषय हो । इन्जिनियर श्रेष्ठका शब्दमा यो सूचनाप्रविधिको मेरुदण्ड हो । यसमा ब्याचलर गरेकाहरूले डाटा कम्युनिकेसन, डिजिटल सेटेलाइट कम्युनिकेसन आदिमा दक्षता हासिल गर्न सक्छन् । आईटी क्षेत्र र दूरसञ्चारमा जागिर खान सक्छन् ।
बायोमेडिकल इन्जिनियरिङ
औषधिउपचारमा आवश्यक उपकरणको निर्माण तथा मर्मत एवं मेडिकल क्षेत्रमा आवश्यक अन्य सामग्रीको इन्जिनियरिङबारे अध्ययन हुने क्षेत्र हो यो । अस्पतालमा प्रयोग गरिने ईसीजी, एक्सरेजस्ता उपकरणहरूको निर्माण पनि यही इन्जिनियरिङले गर्छ । शरीरको एक भागको टिस्यु (तन्तु) विकास गरेर अर्को भागमा जोड्ने कामका लागि यही इन्जिनियरिङको आवश्यकता पर्छ ।
नेपालमा बायोमेडिकल इन्जिनियरिङ पढाउने एकमात्र कलेज 'कलेज अफ बायोमेडिकल इन्जिनियरिङ' हो । कलेजका प्रिन्सिपल प्राध्यापक विश्वप्रकाश श्रीवास्तवका अनुसार बायोमेडिकल इन्जिनियरिङ पढेका विद्यार्थी बेरोजगार बस्नुपरेको उदाहरण छैन । उनले आठौं सेमेस्टर पढ्दापढ्दै विद्यार्थीले जागिर पाइहाल्ने बताए । कलेजबाट पास आउट भएकामध्ये ४५ प्रतिशत विद्यार्थी उच्च शिक्षाका लागि छात्रवृत्तिमा विदेश गएको जानकारी उनले दिए ।
मेकानिकल इन्जिनियरिङ
मेकानिकल इन्जिनियरिङ औद्योगिकीकरणको मेरुदण्ड मानिन्छ । उद्योग, कलकारखानामा आवश्यक पर्ने ठूलाठूला मेसिनहरूको निर्माणदेखि सवारीसाधनको निर्माणमा पनि यो इन्जिनियरिङ आवश्यक पर्छ । थापाथली क्याम्पसमा मेकानिकल तथा अटोमोबाइल इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर लक्ष्मण पलिखेल देशको विकासमा मेकानिकल इन्जिनियरिङको ठूलो भूमिका हुने बताउँछन् ।
पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, काठमाडौं विश्वविद्यालय, धरान क्याम्पस, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसमा मेकानिकल इन्जिनियरिङ पढाइ हुन्छ । नेपाल अझै औद्योगिकीकरणमा नगइसकेकाले यो विषय पढेका धेरै इन्जिनियर अन्य देश जाने गरे पनि औद्योगिकीकरणसँगै यसको उत्पादन खपत हुने पलिखेलको विश्वास छ ।
इन्ड्रस्टियल इन्जिनियरिङ
इन्ड्रस्टियल इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङको एक अंग हो । यसमा विशेषतः उद्योग, कलकारखानाका लागि आवश्यक मेसिनहरूको निर्माण र मर्मतबारे पढाइन्छ । पलिखेलका अनुसार नेपालमा यसको ठूलो सम्भावना छ । बिस्तारै देश औद्योगिकीकरणतर्फ गइरहेकाले यसको सम्भावना छ ।
अटोमोबाइल इन्जिनियरिङ
अटोमोबाइल इन्जिनियरिङ नेपालमा नयाँ विषय हो । थापाथली क्याम्पसमा मात्र यसको पढाइ हुन्छ । यो विषयको अध्यापन सुरु भएको यो दोस्रो वर्ष हो । नेपालमा अटोमोबाइलको संख्या बढिरहेको तर यसमा काम गर्ने दक्ष जनशक्तिको अभाव भएकाले यसको अध्यापन सुरु गरिएको पलिखेलले बताए । पलिखेलका अनुसार थापाथली क्याम्पसमा इन्ड्रस्टियल र अटोमोबाइल इन्जिनियरिङमा ४८÷४८ जना विद्यार्थीलाई पढाइन्छ ।
इलेक्ट्रिकल इन्जिनियरिङ
इलेक्ट्रिकल इन्जिनियरिङले विद्युत्को काममा दक्ष बनाउँछ । यो विषयको अध्ययनले विद्युत् सामग्रीको निर्माणदेखि विद्युत् जडान र प्रवाहमा योग्य बनाउँछ । नेपालजस्तो जलविद्युत्को उच्च सम्भावना रहेको देशमा यसको महत्त्व बढ्दो छ ।
यीबाहेक सर्भे इन्जिनियरिङ र एग्री इन्जिनियरिङ पनि आकर्षणका विषय बन्दैछन् । सर्भे इन्जिनियरिङ भूमिको नापजाँचसँग सम्बन्धित छ भने एग्री इन्जिनियरिङले कृषि उपकरणको निर्माण र मर्मतबारे ज्ञान दिन्छ ।