प्लस टुपछि के पढ्ने ? कहाँ पढ्ने ?

प्लस टुपछि के पढ्ने ? कहाँ पढ्ने ?

एसएलसी परीक्षामा ८३ प्रतिशत अंक ल्याएकी ईश्वरी त्रिपाठी प्लस टुमा विज्ञान विषयमा भर्ना भइन् । कक्षा १२ को नतिजा आएर ट्रान्सक्रिप्ट तयार हुँदा उनको समग्र उत्तीर्ण प्रतिशत ५७ मात्र भयो । एसएलसीमा विशिष्ट श्रेणाीमा उत्तीर्ण भए पनि उनले प्लस टुमा के विषय पढ्ने भन्ने निर्णय गर्न सकेकी थिइनन् ।

आफन्त र परिवारको दबाबमा उनलाई चिकित्सक बनाउन विज्ञान विषयमा भर्ना गरियो । चिकित्सक बन्ने उनको परिवारको सपना पूरा हुने कुरा त परै जाओस ईश्वरीले एमबीबीएसको प्रवेशपरीक्षामा सहभागी हुने आँटै गरिनन् । कारण थियो, प्लस टुको कमजोर नतिजा अनि कुन विषय पढ्दा भविष्यमा के फाइदा हुन्छ ? भन्नेबारे राम्रो जानकारी नहुनु ।

एसएलसीपछि उच्च शिक्षाको बाटो कोर्ने पहिलो खुड्किलो प्लस टुलाई लिने गरिए पनि सही परामर्शको अभावमा ईश्वरीजस्ता थुप्रै विद्यार्थी पहिलेको बाटोबाट मोडिएर अर्को बाटो रोज्नुपर्ने बाध्यतामा छन् । धेरैले प्लस टुअनुसारकै विषय स्नातकमा पढे पनि प्लस टुमा भनेअनुसारको नतिजा नआएर वा नतिजा आएर पनि नयाँ विषय पढ्न चाहने विद्यार्थी अलमलमा परिरहेका छन् ।

यस्ता उदाहरणबाट जोकोहीले पनि सहजै अनुमान गर्न सक्छ, विद्यार्थीको भविष्यलाई प्लस टुको नतिजासँगै स्नातकमा रोजिने विषय र विद्यार्थीको मेहनतले मात्र सार्थकता प्रदान गर्छ । अर्थात् विद्यार्थीको भविष्य निर्धारण आधा एसएलसी र आधा प्लस टुको नतिजाका आधारमा मात्र हुन्छ ।

प्लस टुपछि सही सुझाव र परामर्शको अभावमा पनि विद्यार्थी गलत निर्णय लिन पुगेका उदाहरण प्रशस्त भेटिन्छन् । प्लस टुपछि स्वदेशमै पढ्ने वा अन्तर्राष्ट्रिय डिग्री लिन विदेश लाग्ने ? नर्सिङ पढ्ने वा बीएससीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ?

राष्ट्रिय तथा अन्तार्रष्ट्रिय बजारमा समेत सजिलै बिकाउ हुने होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ? सरकारी क्याम्पसमा पढ्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ? स्नातक तहमा भर्ना हुनुअघि आमविद्यार्थी र तिनका अभिभावकको मनमा खेलिरहने यी साझा प्रश्न हुन् ।

नेपालमा स्नातक तहमा चिकित्साविज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेद, संस्कृत र कानुन संकाय छन् । अन्य विषयमा स्नातक तह उत्तीर्ण गरेकाले मात्रै कानुनको स्नातक तहमा भर्ना हुन पाउने व्यवस्था छ । शिक्षाविद् विद्यानाथ कोइराला मुलुकमा शैक्षिक बेरोजगारीको संख्या बढिरहेको अवस्थामा विद्यार्थीले पूर्वविद्यार्थीको अनुभव, उनीहरूले अध्ययनपछि रोजगारीमा जाँदा भोग्नुपरेको समस्या तथा पाएको अवसरलाई अध्ययन गरेर विषय छनोट गर्नुपर्ने बताउँछन् ।

'विषय सबै विश्वविद्यालयका राम्रा छन् । तर तीमध्ये पनि विद्यार्थीले कुन विषयको पढाइबाट धेरै सन्तुष्टि लिएका छन् भन्ने कुरालाई विद्यार्थीले हेक्का राख्नुपर्छ', कोइरालाको सुझाव छ ।

केके विषय छन् ?

मुलुकभित्र हाल नौवटा विश्वविद्यालय सञ्चालनमा छन् । खुला विश्वविद्यालय पनि ऐन पारित भएर सञ्चालनको अन्तिम तयारीमा छ । त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तहमा विभिन्न संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्नातक तहमा तीनदेखि पाँच वर्षसम्मका कार्यक्रम छन् ।

विद्यार्थी संख्याका आधारमा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार त्रिविमा हाल चार लाखको हाराहारीमा विद्यार्थी स्नातक तहमा अध्ययनरत छन् । त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीफार्मेसी, बीफर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स­), बीटेक, बीएस्सी टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, बीएस्सी न्युट्रिसन एन्ड डाइटिटिक्स), बीएस्सी एजी, बीएस्सी फरेस्ट, बीबीए, बीए, बीएडलगायत विषय सञ्चालन गर्दै आएको छ । त्रिविमा सबैभन्दा बढी शिक्षाशास्त्रका विद्यार्थी छन् ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनिया अनुभव र गुणस्तरको हिसाबले त्रिविको मूल्यांकन अन्तर्राष्ट्रिय स्तरमै राम्रो भएको बताउँछन् । प्लस टु उत्तीर्ण विद्यार्थीले स्नातक तहका लागि नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना हुन पाउँदैन । उक्त विश्वविद्यालयमा स्नातकमा भर्ना हुन उत्तरमध्यमा तह उत्तीर्ण भएकै हुनुपर्छ । उत्तरमध्यमा पूरा गरेकाहरूले क वर्ग (धर्मशास्त्र, न्याय, ज्योतिषलगायत) र ख वर्ग (नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्रलगायत) विषय अध्ययन गर्न पाउँछन् । यहाँ अध्ययन गर्दा भर्ना र परीक्षाबाहेक शुल्क लाग्दैन । गत वर्ष यस विश्वविद्यालयमा शास्त्री (स्नातक) तहमा एक हजार चार सय विद्यार्थी भर्ना भएका थिए ।

 

गुणस्तरीय शिक्षामा कहलिएको काठमाडौं विश्वविद्यालयले बीएस्सी इन एप्लाइड फिजिक्स, बीएस्सी फार्मेसी, बीएस्सी इन इन्भाइरोमेन्टल साइन्स, बीएस्सी इन हुमन बाइलोजी, बीई, बीए बुद्धिस्ट इस्टडिज, बीए फाइन आट्स, एमबीबीएस, बीएस्सी नर्सिङ, बीडीएसलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विश्वविद्यालयअन्तर्गत एकसय २० भन्दा बढी क्याम्पस छन् । यस विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिज्म), बीएफडी (फेसन डिजाइन), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एन्ड मास कम्युनिकेसन), बीई (सिभिल, कम्प्युटर आर्किटेक्ट, बायोमेडिकल), बीएस्सी बायोटेक्नोलोजी, बीपीएच, बीएस्सी नर्सिङ, बीफार्मेसीलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोखरामा रहेको पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एन्ड रुरल, सफ्टवेय, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिजलगायत विषयमा पठनपाठन गर्दै आएको छ ।

कृषि तथा वन, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि तीन वर्षअघि नै स्नातक तहमा विभिन्न शैक्षिक कार्यक्रम सुरु गरिसकेका छन् । कृषि तथा वन विश्वविद्यालयले बीएस्सी एजी, बीएस्सी फरेस्ट्री तथा बीएस्सी भेटनरी साइन्स एन्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएस्सी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएस्सी कम्प्युटर साइन्स विषयमा पठनपाठन सुरु गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल कृषि तथा पशु स्वास्थ्यसँग सम्बन्धित विषय पढाइका लागि स्थापना भएका कारण कृषि विश्वविद्यालयले समयअनुसार नयाँ नयाँ विषय थप्दै जाने बताउँछन् ।

शुल्क र छात्रवृत्ति

विषय र विश्वविद्यालयअनुसार शुल्क पनि फरक फरक छ । आंगिक क्याम्पसमा तुलनात्मक रूपमा कम खर्चमै अध्ययन गर्न सकिन्छ । सम्बन्धन लिएका निजी कलेजहरू केही महँगा छन् । मुलुकभित्र एमबीबीएसलाई सबैभन्दा खर्चिलो शिक्षाका रूपमा लिइन्छ । एमबीबीएस तह अध्ययन गर्दा ४० देखि ४५ लाख रुपैयाँसम्म खर्च लाग्छ । इन्जिनियरिङ विषय पनि कलेज र विश्वविद्यालयअनुसार फरकफरक शुल्क छ ।

तर सरदर चार लाखदेखि छ/सात लाखसम्म शुल्क लाग्ने कलेज सञ्चालकहरूको भनाइ छ । इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा छ । सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो । विज्ञान, व्यवस्थापनलगायत संकायमा विषय र कलेज हेरी १० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको छ ।

पोखरा विश्वविद्यालयअन्तगतका इन्जिनियरिङ कलेजले बीईमा कुल विद्यार्थी भर्नाको पाँच प्रतिशतलाई र बाँकी विश्वविद्यालयका कलेजहरूले १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् । शिक्षा मन्त्रालयले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएन, बीएएमएस, बीफार्मेसी, बीपीएच र बीफरेस्ट्री विषयमा बर्सेनि सरदर साढे तीन सय विद्यार्थी छनोट गरी छात्रवृत्तिका लागि सिफारिस गर्ने गरेको छ ।

मन्त्रालयले नेपालका कलेजबाहेक पाकिस्तान, चीन र रुसमा पनि छात्रवृत्तिमा नेपाली विद्यार्थी पठाउने गरेको छ । भारत, जापानलगायत मुलुकले विद्यार्थी आफै छनोट गरी स्नातक तहमा विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् । मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार मुलुकभित्रका विश्वविद्यालय तथा बाहिरी मुलुकबाट समेत प्राप्त छात्रवृत्ति कोटालाई खुला प्रतिस्पर्धाको माध्यमबाट वितरण गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.