पूर्वमन्त्री घिमिरे सबैका प्रिय

पूर्वमन्त्री घिमिरे सबैका प्रिय

काठमाडौं: बालाजु वनस्थलीस्थित नर्सरीचोकबाट थोरै अगाडि । बाटैमा राखिएका प्रहरीका गाडी । जोकोहीलाई पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेको घर पत्ता लगाउन गाह्रो पर्दैन । आँगनमा टाँगिएको पाल र पालमुनि शोकमग्न आफन्तहरू । सबैका अनुहार निन्याउरो र झोक्राएको । बोल्ने चाहना कसैमा छैन । वरिपरि छोरीबेटीलाई राखेर बसेका घिमिरेका ससुरा गहभरि आँसु लिएर भन्दै थिए, 'यस्तो हुन लेखेको रहेछ ।'

केही समयअघि आफूले लगाएको सप्ताहमा आउँदा ज्वाइँले ९/१० दिन बसेर नाचगान र रमाइलो गरेको उनले सम्झिए । उनीसँगै बसेका महिलाले थपिन्, 'यसपालि तीजमा पनि उहाँले निकै रमाइलो गर्नुभयो । भिडियो खिचेर आफू पनि नाचेर हामीलाई पनि नचाएर अचम्मै गर्नुभएको थियो ।'

घरभित्र छिर्नासाथ दायाँपट्टिको बैठककोठा शोक मनाउन पुगेका आफन्त र छिमेकीले भरिएको थियो । कोठामा लम्पसार परेर सुतेकी घिमिरेकी पत्नी कमलालाई सम्झाउने शब्द कसैसँग पनि थिएन । कसैका पनि आँखा ओभाना थिएनन् । घटना सम्झेर बेलाबेला कमला भक्कानिँदा आफन्त र छिमेकी महिलाले पनि आँसु थाम्न सकेका थिएनन् । कमलासँगै कोल्टे परेर सुतिरहेकी उनकी देउरानी मनुलाई को आए, को गए– पत्तो थिएन । एकोहोरो टोलाइरहेकी थिइन् ।

कमलाको पाठेघरमा समस्या भएकाले रगत बग्ने समस्याले सताएको छ । खोकी लागिरहेको र ज्वरो आएका बेला अझ केही नखाँदा कमजोरी बढेको छ । भर्‌याङबाट तल ओर्लंदा शरीर धान्ने शक्ति उनमा देखिँदैन । उनकी देवरानी मनुलाई पनि न्यून रक्तचापका कारण जीवनजल दिइएको थियो ।

कमलासँगै बसेकी उनकी छोरी सृष्टिले मुटुमाथि ढुंगा राखेको महसुस हुन्थ्यो । अस्ट्रेलियामा रहेका उनका दाजुभाउजू नआउन्जेल आमाको जिम्मा उनकै काँधमा भएकाले उनले हिम्मतसाथ छोरीको जिम्मेवारी निर्वाह गरिरहेकी थिइन् । आमा, काकी र आफन्तका अगाडि जति मन समाले पनि बुवाको पत्तो नलाग्दा भित्रभित्रै हराएकी सृष्टिले भनिन्, 'हामीले हिजो साँझ मात्रै थाहा पाएको, कति बजे के मलाई केही थाहा छैन ।'

होसहवासै गुमाएर पल्टिरहेका बुहारीहरूलाई देखेर घिमिरेकी भान्जीदिदी गंगा रेग्मीले पनि मन थाम्न सकिनन् । आँसुका भल बगाउँदै घर जान निस्किएकी गंगा सुर हराएर अन्तै लम्किसकेकी थिइन् । उनका आफन्तले उनलाई समालेर त्यता होइन, यता जाऊँ भन्दै अर्कोतर्फ मोडेका थिए । 'म त मावली नै बसेर पढेकाले भाइहरूले माया गर्ने त कति हो कति, अहिले तिनै भाइहरूको अत्तोपत्तो छैन, खै अब के गर्नु ? ' आँसु पुछ्दै गंगाले भनिन् ।

 

दुर्घटनाको समाचार सुनेदेखि नै छिमेकीहरू घिमिरेको घरमा आएका आयै छन् । 'हिजो बेलुकी हामी १२ बजेसम्म बसेर फर्केको, आज पनि बिहानै आएँ,' घरमा बस्नै मन नलागेर त्यहाँ आएकी छिमेकी गीता रेग्मीले बताइन् । भृकुटीचोकमा रहेको आदर्श भृकुटी सहकारी संस्थाकी अध्यक्ष गीताले घटस्थापनाका दिन सहकारीले गर्न लागेको कार्यक्रममा घिमिरेलाई बोलाउने सोच राखेकी थिइन् । 'तर इच्छा पूरै नभई यस्तो सुन्नुपर्‌यो,' उनले भनिन् ।

गत जनैपूर्णिमामा केही छिमेकीसँग मिलेर घिमिरे गोसाइँकुण्ड गएका थिए । उनीसँगको त्यही भेट नै अन्तिम बन्यो गीताका लागि । भ्रमणमा सहभागी सबैका लागि अभिभावकको भूमिका खेल्ने र सबैलाई माया गर्ने घिमिरेको बानी गीताले सम्झिइन् ।

'म बिरामी परेको थिएँ, हजुरहरू जाँदै गर्नुस्, म आउँछु भन्दा उहाँले मान्नुभएन । बिरामीलाई छाडेर हामी कसरी जानु भन्दै सबैलाई सँगै बटुलेर लैजानुभयो,' गीताले मलिन स्वरमा भनिन्, 'उहाँले अब हामी वर्षैपिच्छे यस्ता कार्यक्रम राखौं अनि एकपटक मानसरोवर जानुपर्छ भन्नुभएको थियो, त्यो चाहना अधुरै रह्यो ।'

निजामती सेवामा छँदा असल प्रशासकका रूपमा चिनिएका घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद्मा नौ महिना गृह तथा परराष्ट्रमन्त्री बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.