प्रधानमन्त्री प्रचण्ड-चिनियाँ राष्ट्रपति सीको भेट गोवामा

प्रधानमन्त्री प्रचण्ड-चिनियाँ राष्ट्रपति सीको भेट गोवामा

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तत्काल नहुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यही महिनाको अन्तिम साता चिनियाँ राष्ट्रपतिसँग भारतमा भेटवार्ताका लागि तयारी अघि बढेको छ ।

भारतको गोवामा असोज २९ र ३० गते भारतले आयोजना गर्ने 'ब्रिक्स' सदस्य राष्ट्रहरूको आठौं शिखर सम्मेलनमा सहभागी हुने क्रममा दाहालले चिनियाँ राष्ट्रपतिसँग भेट्ने लगभग निश्चित भएको हो ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. ऋषि अधिकारीले चिनियाँ राष्ट्रपतिसँग गोवामा भेटवार्ता लगभग निश्चित रहेको बताए ।

'कूटनीतिक च्यानलबाट चिनियाँ राष्ट्रपतिसँग भेटवार्ताका लागि पहल भइरहेको छ । भेट हुने लगभग निश्चित छ', अधिकारीले भने ।

प्रधानमन्त्री असोज २८ गते गोवा जाने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए । 'प्रधानमन्त्री गोवा जानु हुन्छ । यस सम्बन्धमा औपचारिक निर्णय हुन बाँकी छ', उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी केन्द्रीय सचिवालय बैठकमा सोमबार बोल्दै चिनियाँ राष्ट्रपतिसँग ब्रिक्स सम्मेलनमा भारतमा भेट हुने तय भएको जानकारी दिएका छन् ।

'ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिसँग मेरो भेट हुनेछ र उहाँको नेपाल भ्रमणको मितिबारे कुराकानी हुनेछ', उनले भने ।

प्रधानमन्त्रीका विशेष दूतका रूपमा अघिल्लो महिना चीन गएका अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ पक्षसँग राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा जाँदा या त्यहाँबाट स्वदेश फर्कंदा नेपाल भ्रमणका लागि समय मिलाउन अनुरोध गरेका थिए ।

'चिनियाँ पक्षले राष्ट्रपति सीको तत्काल भ्रमण हुन नसक्ने संकेत महरालाई गरेको रहेछ । उनीहरूले गोवामा हुने ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालसँग भेट हुनसक्ने बताएका रहेछन्', माओवादी केन्द्रका एक शीर्ष नेताले अन्नपूर्णसँग भने ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र सचिव शंकरदास बैरागी न्युयोर्कबाट फर्केपछि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्रताका साथ अघि बढ्ने बताए ।

 

ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन् । ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनमा क्षेत्रीय संगठन बे अफ बंगाल इनिसियटिभ फर मल्टिसेक्टरल टेक्निक एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) लाई निमन्त्रणा गरिएको छ ।

नेपाल अहिले बिमस्टेकको अध्यक्ष देश हो । बिमस्टेक अध्यक्ष देशको प्रधानमन्त्रीका हैसियतमा दाहाल भारत जान लागेका हुन् । दाहालले नयाँदिल्लीमा समेत राजनीतिक भेटघाट गर्नेबारे कूटनीतिक च्यानलबाट कुराकानी भए पनि निश्चित नरहेको अधिकारीहरूले बताए ।

डेढ महिनाअघि नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिल मातहतको प्रभावशाली थिंकट्यांक अध्यक्ष जी चेईले प्रधानमन्त्री दाहाललगायत शीर्ष नेतासँग भएको भेटमा असोज अन्तिम साता राष्ट्रपति सी नेपाल आउने जानकारी गराउँदै त्यसका लागि नेपालले पर्याप्त गृहकार्य गर्नुपर्ने बताएका थिए ।

सीको भ्रमणका लागि नेपालले गरेको तयारी अर्याप्त रहेको बताउँदै चिनियाँ पक्षले आन्तरिक तयारी तत्कालका लागि स्थगित गरेको छ ।

'चिनियाँ राष्ट्रपति सीको भ्रमण रद्द भएको भनिएको छैन । असोज अन्तिममा भ्रमण हुन सक्ने भनी तयारी भए पनि हाललाई तयारी स्थगित भएको हो । सन् २०१६ भित्र सीको भ्रमण हुनसक्छ । यसका लागि नेपालले पूर्ण तयारी गर्नुपर्छ', कूटनीतिक स्रोतले भन्यो ।

चिनियाँ विदेश मन्त्रालयले चिनियाँ उच्च नेतृत्वको भ्रमण तत्काललाई स्थगित भएको भन्नेतर्फ संकेत गर्दै उक्त भ्रमणका लागि दुवै देशका विदेश मन्त्रालयले गृहकार्य गरिरहेको बताएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.