चिनियाँ नयाँ राजदूत प्रस्तावित
काठमाडौं: चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङको नाम प्रस्ताव गरेको छ ।बेइजिङस्थित नेपाली दूतावास स्रोतले चीनले प्रस्ताव गरेका नयाँ राजदूतका सम्बन्धमा सरकारलाई पत्राचार गरी जानकारी गराइसकिएको जानकारी अन्नपूर्णलाई दियो ।
परराष्ट्र मन्त्रालयले नयाँ चिनियाँ राजदूतका नाममा सहमति दिन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । एक महिनाभित्रै प्रस्तावित राजदूतका नाममा 'एग्रिमो' स्वीकृत गरिने सरकारी अधिकारीहरूले बताए । नयाँ राजदूत नोभेम्बर महिनाभित्र नेपालमा कार्यभार समाल्न आउने बताइएको छ ।
एसिया मामिलामा दक्खल राख्ने ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ यू नेपालमा राजदूतका रूपमा आउन लागेकी हुन् । प्रस्तावित राजदूत यू हाल इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत छिन् । उनी सन् १९८८ मा सहचारीका रूपमा चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला विभागमा प्रवेश गरेकी थिइन् ।
प्रस्तावित राजदूत यूले विगतमा चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स विभागको महानिर्देशक, एसिया मामिला विभागको तृतीय सचिव र सहचारीका रूपमा काम गरिसकेकी छन् । यूले हालका चिनियाँ राजदूत उ चुन्ताईलाई प्रतिस्थापन गर्नेछिन् ।
राजदूत उ नोभेम्बर महिनामा स्वदेश फर्किने बताइएको छ । उनी सन् २०१३ मार्च ७ मा नेपालका लागि राजदूत बनेर आएका थिए । नेपालको अस्थिर राजनीतिबीच चीन र नेपालको सम्बन्ध निकट बनाउन राजदूत उले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा सम्पन्न चीन भ्रमणमा नेपाल र चीनबीच हस्ताक्षरित ऐतिहासिक पारवहन यातायात सम्झौता टुंगोमा पुर्याउन राजदूत उले विशेष भूमिका निर्वाह गरेको बताइन्छ ।