भक्तपुर योग जिल्ला घोषणा

भक्तपुर योग जिल्ला घोषणा

भक्तपुर: भक्तपुरलाई योग जिल्ला घोषणा गरिएको छ । जिल्लाको कुल जनसंख्याको ५५ प्रतिशतले प्रचलित योगाभ्यास एवं ध्यानका साधना गरेको आधारमा भक्तपुरलाई योग जिल्ला घोषणा गरिएको हो ।

वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले सोमबार भक्तपुरलाई योग जिल्ला घोषणा गर्दै पतञ्जली योग समिति मध्यपुर ठिमीका अध्यक्ष केदार खड्काको 'स्वस्थ जीवन सुखी जीवन' शीर्षकको पुस्तक विमोचन गरेका छन् । पत्रकार एवं बरिष्ठ राजनीतिज्ञ समेत रहेका खड्काले पुस्तकमा योग र स्वास्थ्यसम्बन्धी सामग्री समेटिएको जानकारी दिए ।

स्थानीय ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति भक्तपुर, ओशो यशोधरा ध्यान केन्द्र भक्तपुर, मनोक्रान्ति योग अभियान भक्तपुर, योग तथा प्राकृतिक चिकित्सालय भक्तपुर, शिव योग साधना केन्द्र भक्तपुर, चरित्र निर्माण संघ-२ भक्तपुर, यशोधरा योग साधना केन्द्र भक्तपुर र मंगल योग तथा प्राकृतिक उपचार केन्द्रको तीन महिनाको प्रयासपछि सोमबार भक्तपुरलाई योग जिल्ला घोषणा गरिएको हो ।

संस्थाहरूको सहभागितामा जिल्ला योग समन्वय समिति गठन गरिएको थियो । समितिले भक्तपुर देशकै पहिलो योग जिल्ला घोषणा भएको दाबी गरेको छ । समितिले भक्तपुरलाई योग जिल्ला घोषणा गर्न जिल्लामा रहेका नगरपालिकाका प्रत्येक वडामा कम्तीमा एउटा ध्यान साधना केन्द्र विस्तारित गरेको छ ।

समितिका अध्यक्ष बालमुकुन्द सुवालले योग जिल्ला घोषणापछि पनि योग साधनाको पहुँच बाहिर रहेका मानिसलाई पहुँचमा ल्याउन योग अभियन्ताहरूको परिचालनलाई अझ गतिशील बनाउने बताए । 'अस्तव्यस्त बन्दै गइरहेको आधुनिक जीवनशैलीलाई योग तथा ध्यानका माध्यमबाट व्यवस्थित बनाउने उद्देश्यले भक्तपुरलाई योग जिल्ला घोषणा गरिएको हो', समितिका सचिव विजेन्द्र ध्वजूले भने, 'योग जिल्ला घोषणासँगै सनातनदेखि चलिआएका हाम्रा मौलिक योग र ध्यान पद्धतिलाई थप विस्तार गरिनेछ ।'

समितिका अनुसार भक्तपुरमा एक सय ५७ वटा योग तथा ध्यान साधना केन्द्र छन् । भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदानमा आयोजित कार्यक्रममा भक्तपुरका हजारौं योगकर्मीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.