धादिङमा बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो (अपडेट)

धादिङमा बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो (अपडेट)

धादिङबेसी: धादिङको मार्पाक–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा १७ जनाभन्दा बढि घाइतेको भएका छन्। घाइते मध्ये १३ जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्वरको बस मंगलबार मार्पाक–६ लपाङफेदीमा दुर्घटना भएको थियो। दुर्घटनामा पर्नेहरु अधिकांश सरकारले भूकम्पपीडितहरुलाई घर बनाउन दिएको ५० हजार रुपैयाँ अनुदान लिएर जाने उत्तरी धादिङका स्थानीयबासीहरु रहेको स्थानीय मरिचमान तामाङले जानकारी दिए।

धादिङवेशीको टिकट काउन्टरबाट ३० जनाको चलानी लिएर किन्ताङफेदी गएको गाडीमा बीच बाटोमा थप यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ।

marpak-bus-accident-2

मृतकमध्ये १३ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सत्येदेवी–२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनका पाँच वर्षीय बालकको मृत्यु भएको छ।

यसैगरी सत्येदेवी–३ का तिलबहादुर तामाङ, री गाउँ विकास समिति–८ का चन्द्रमान तामाङ, वडा नम्बर ८ कै मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दीलकुमारी पौडेल र उनकी छोरी कमला पौडेलको पहिचान खुलेको छ।

त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ। घटनालगत्तै काठमाडौंमै रहेका कांग्रेस धादिङका सभापति रमेश धमला हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए।

marpak-bus-accident-3

उनी गएको हेलिकप्टरबाट ६ गम्भीर घाइतेलाई तत्कालै काठमाडौं पठाइएको र थप ७ जनालाई नेपाली सेनाको हेलिकप्टर झिकाएर उपचारका लागि शिक्षण अस्पताल महाराज पठाइएको धमलाले जानकारी दिए।

 

दुर्घटनाका चार कारण
-साँघुरो र कच्ची सडक
-भर्खरै खसेको पहिरो सफा नगरी सवारी सञ्चालन,
-क्षमताभन्दा बढी यात्रु
-भौगोलिक बनावट नहेरी जथाभाबी सडक निर्माण

सडक दुरवस्था मुख्य कारण

दुर्घटनाको चार घन्टापछि घटनास्थल पुगेका डीएसपी दीपेन्द्र पन्जियारले साँघुरो बाटोमा अलिकति छेउ च्यापेर बस अघि बढाउँदा सडक भासिन गई दुर्घटनामा परेको बताए । उनले भने, 'पहिले पनि बस खसेको ठाउँमा सुक्खा पहिरो झरिरहने रहेछ, यसपालि बर्खामा पनि पहिरो खसेको कच्चा सडक रहेछ । आज पनि सडकको कुनापट्टि अलिकति माटो थुप्रिएकाले चालकले छेउ च्यापेर बस अघि बढाउँदा पांग्रा धस्सिन पुगेर बस सडकबाट खसेको देखिएको छ ।'

बस सडकबाट खसेपछि करिब डेढ सय मिटर तल आँखुनदीको बगरमा पुगेर तीन टुक्रा भएको थियो । धादिङबेसीबाट उत्तरी धादिङ जाने एकमात्रै सडकको दुरावस्थाका कारण यसअघि पनि सामान्य खालका दुर्घटना भइरन्थे ।

स्थानीय शिक्षक युवराज पन्तले भने, 'सडक एकातिर कच्ची छ । बर्खायाममा पानीले बनाएको खाल्डाखुल्डी पुरिएको छैन । फोर ह्विल ट्रकलाई मोडिफाई गरेर बनाइएको अग्लो बस जुन अलिकति कोल्टिँदा पनि धेरै जोखिम हुन्छ, त्यस्ता बसहरू यो क्षेत्रमा सञ्चालन भइरहेका छन् । कुन दिन दुर्घटनामा परिन्छ भनेर डर मानीमानी यात्रा गर्नुपर्ने हुन्थ्यो, आज यस्तो दुःखद घटना बेहोर्नुपर्‌यो ।'

विभिन्न जिल्लामा रुट परमिट नभएका सवारीसाधन रोकिएको भए पनि धादिङमा भने निरन्तर रूपमा उक्त सडकमा सवारीसाधन चलिरहन्थे । स्थानीय सीताराम सापकोटाले भने, 'रुटपरमिट नभए पनि अरू विकल्प केही छैन । एउटा संयुक्त यातायात सेवाबाहेक अरू कुनै पनि समितिले यो सडकमा सवारी चलाएका छैनन् । जुन समितिले सेवा दिएको छ हामी त्यसैमा मात्र चढ्न बाध्य छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.