एक पोका रगत नपाउँदा अस्पतालमै गर्भवतीको ज्यान गयो

एक पोका रगत नपाउँदा अस्पतालमै गर्भवतीको ज्यान गयो

सुर्खेत : समयमै रगत नपाउँदा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक गर्भवती महिलाको मृत्यु भएको छ । दैलेख बाँसीकी २२ वर्षिया शोभा शाहीको मृत्यु भएको हो ।

६ महिनाकी गर्भवती शोभालाई अत्याधिक रक्तश्राव भएपछि आफन्तले मंगलवार विहान अस्पतालमा भर्ना गरेका थिए । उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको हो ।एक पोका रगत उपलब्ध नहुँदा शोभाले गर्भसहित ज्यान गुमाउनुपरेको छ। 

एकाएक रक्तश्राव भएपछि आफन्तले शोभालाई मंगलवार विहान ५ बजे नै अस्पताल पुर्‍याएका थिए । रक्तश्राव भए पनि शोभा आफन्तसँग बोल्ने र खाने गरिरहेकी थिइन् । उपचारमा समस्या हुने भन्दै स्वास्थ्यकर्मीले शोभाका सबै आफन्तलाई बाहिर निकाले ।

भर्ना भएको पाँच घण्टापछि अस्पतालले शोभालाई बचाउन नसकिएको खबर आफन्तलाई सुनायो । शोभालाई कुनै पनि हालतमा बचाउने बाचा दिएर रातारात अस्पताल पु¥याएका उनका आफन्तहरु जब मृत्युको खबर सुने तब छाँगाबाट खसेजस्तै भए ।

मृतक शोभाका श्रीमान् टेकबहादुर शाहीले भने,‘घरमा खतरा हुन्छ भनेर रातारात अस्पताल ल्याएका थियौं, धेरै रगत बगेको थियो । यहाँ निको नहुने भए बाहिर लैजान्छौं भनेका थियौं, तर नर्सहरुले वास्ता नै गरेनन् ।’अस्पतालमा भर्ना गरेको पाँच घण्टासम्म पनि डाक्टर नआएको र नर्सहरुले पनि उपचारमा ध्यान नदिएपछि श्रीमतीको मृत्यु भएको उनको आरोप छ ।

मृतकका आफन्तहरुले अस्पतालले उपचारमा लापरबाही गरेकै कारण शोभाको ज्यान गएको भन्दै डाक्टरहरुको राजीनामा मागेका छन् । मृतक शोभाका दाजु ऐनबहादुर शाहीले भने,‘ज्यान बच्ला भनेर अस्पताल ल्यायौं, यो त ज्यानमारा अस्पताल रहेछ । डाक्टरले वास्तै गरेनन्, उपचार गर भन्दा उल्टै हामीलाई बाहिर निकाले ।’ आफुहरुलाई बाहिर निकालेर पाँच घण्टासम्म बहिनीलाई कोठाभित्र उपचारविना राखिएकै कारण मृत्यु भएको उनको आरोप छ ।

यसअघि जेठ ३१ गते सुत्केरी व्यथाले च्पापेपछि आफै हिँडेर अस्पताल पुगेकी वीरेन्द्रनगर–२२ गुप्तीपुरकी २६ वर्षिया तीला गन्धर्माको पनि अस्पतालमै मृत्यु भएको थियो । उनका आफन्तहरुले पनि अस्पतालको लापरबाहीका कारण तीलाको ज्यान गएको भन्दै अस्पतालमा नानाबाजी गर्दै दोषीमाथि कारबाहीको माग गरेका थिए । घरमा सुत्केरी गराउँदा जोखिम हुने भन्दै आफन्तले अस्पतालमा भर्ना गराएका थिए ।

तिला र उनको गर्भमा रहेको बच्चाको अस्पतालमै मृत्यु भएको थियो । त्यतिबेला पनि अस्पतालमा भर्ना भएपछि डाक्टरहरुले कुनै चासो नदिएको र वेवास्ता गरेकै कारण मृत्यु भएको आफन्तको भनाइ थियो । आफन्तले शल्यक्रिया गरेर बच्चा निकाल्न बारम्बार आग्रह गर्दा समेत अस्पतालले वेवास्ता गर्दा बच्चा जन्माउन नसकेर तीलाको मृत्यु भएको थियो ।

क्षेत्रीय अस्पतालमा भर्ना भएर वेडमै ज्यान गुमाउने शोभा र तीला केवल उदारण मात्र हुन् । ज्यान जोगाउने आशमा रातारात अस्पतालमा पुर्‍याइएका सुत्केरी र गर्भवतीको उपचारमा लापरबाही हुँदा धेरै महिलाहरुले अस्पतालमै ज्यान गुमाउनु परेको छ । नाम अनुसारको सेवा नहुँदा क्षेत्रीय अस्पतालप्रति विरामी र तिनका आफन्तहरुले बारम्बार अस्पतालको सेवाप्रति गुनासो गर्दै आएका छन् ।

तर अस्पतालको सेवा प्रवाहमा भने सुधार आउन सकेको छैन । पछिल्लो समय यो अस्पतालमा सुत्केरी र गर्भवती महिलालाई बचाउँनै मुश्किल हुने गरेको भन्दै स्थानीयले अस्पतालप्रति नै अविश्वास गर्न थालेका छन् । अर्कोतर्फ अस्पतालले हिजोआज सुत्केरी हुन आएका महिलाहरुलाई नेपालगंज रिफर गर्न थालेको छ । अस्पतालमा गर्भवती र सुत्केरीको मृत्यु हुँदा आफन्तले तनाव दिने गरेको भन्दै अस्पतालले जिल्ला बाहिर रिफर गर्न थालेको हो ।

यता अस्पताल प्रशासनले भने लापरबाही नभई उपचार गर्दागर्दै शोभाको मृत्यु भएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर डम्बर खड्काले सामान्य अवस्थामै शोभाको मृत्यु भएको बताए । उनले भने,‘उनको अवस्था सामान्य थियो, हामीले उपचार गरिरहेका थियौं । तर एक्कासी रगत वान्ता भयो, हामीले बचाउन सकेनौं ।’ उनका अनुसार शरिरमा रगतको मात्रा कम हुँदै गएपछि शोभालाई रगत चढाउने निर्णय गरिएको थियो । तर चार घण्टासम्म पनि अस्पतालमा रगत नपाइएपछि उनको मृत्यु भएको डाक्टर खड्काले जानकारी दिए । उपचारमा लापरबाही भएको भन्ने आरोप गलत भएको उनको जिकिर छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.