तमलोपा अध्यक्ष ठाकुरको घरबाट ब्रिफकेस चोरी गर्ने दुर्इजना पक्राउ
काठमाडौं: तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाही, पिडाडी गाविस घर भई हाल पेप्सीकोला बस्दै आएका रञ्जितप्रसाद गुप्ता र महोत्तरी, मेघनाथ घोरन्ना गाविस घर भई पेप्सीकोलामै बस्दै आएका ‘प्रमानन्द’ भन्ने प्रचण्ड प्रताप सिंहलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो। उक्त समूहले गत भदौ २४ गते तमलोपाका अध्यक्ष ठाकुरको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गरेको थियो।
सो समूह जबर्जस्ती प्रवेश गरी घरको माथिल्लो तलाको कोठामा रहेको ठाकुरको ब्रिफकेस चोरी गरी फरार रहेको थियो। ब्रिफकेस चोरी फरार रहने क्रममा अध्यक्ष ठाकुरकी छोरी डा मिनाक्षी ठाकुर (झा)लाई खुकुरी देखाई आक्रमण गर्नुका साथै खुर्सानीको धुलोसमेत फ्याँकेको प्रहरीले जनाएको छ।
पक्राउ भएका दुवै जनाले योजनाबद्ध तवरबाट जबर्जस्ती घुसेर चोरी गरेको र आएको रकम बाँडेर खाने योजना बनाएको प्रहरीलाई बयान दिएका छन्। पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि आज महानगरीय प्रहरी वृत्त, सानोठिमी भक्तपुर पठाइएको महाशाखाले जनाएको छ। रासस